काठमाडौं । अफगानिस्तानका राष्ट्रपति अशरफ गनीले आफ्नो देशमा शरण लिएको संयुक्त अरब एमिरेट्स (यूएई) ले बताएको छ । यूएईको विदेश मन्त्रालयले ‘मानवीयताका आधारमा’ गनी र उनको परिवारलाई स्वागत गरिएको जनाएको छ।
गत आइतवार तालिबान राजधानी काबुलतर्फ अघि बढेपछि गनीले देश छाडेका थिए । बुधवार अबेर जारी गरेको एउटा भिडिओमा गनीले आफू देशबाट नभागेको दाबी गर्दै देशलाई ‘ठूलो दुर्घटना’ बाट बचाउन देश छाडेको बताए ।
‘रक्तपात र अराजकतालाई रोक्न सकियोस् भनेर अहिलेका लागि म एमिरेट्समा छु’ उनले भने, ‘हाल म अफगानिस्तान फर्कनेबारे छलफलमा रहेको छु ।’
फेसबुकबाट प्रत्यक्ष सम्बोधन गरेका उनले देश छाड्ने क्रममा ठूलो मात्रामा रकम लिएर गएको भन्ने हल्लालाई त्यो ‘पूर्ण रूपमा आधारहीन झुट’ भएको भन्दै अस्वीकार गरे ।
भिडिओ सन्देशमा गनीले ‘आफूले जुत्ता पनि लगाउन नसक्ने अवस्थामा’ आफूलाई राष्ट्रपति भवनबाट आफ्नो सुरक्षा टोलीले सुरक्षित रूपमा बाहिर निकालेको बताए ।
‘घटनाक्रम तीव्र रूपमा विकास भयो । म तालिबानसँग मिलेर एउटा समावेशी सरकार बनाउन चाहन्थेँ’ उनले भने।
गनीले आफूले तालिबान र आफ्नो प्रशासनका अधिकारीबीच भएको वार्तालाई समर्थन गरेको जनाउँदै त्यस्तो भनेका हुन् ।
सन् १९९० ताका पाकिस्तानी प्रधानमन्त्री बेनजिर भुट्टोले पनि यूएईमा शरण लिएकी थिइन्। पछि उनी फेरि शक्तिमा फर्किइन् ।
अशरफ गनी दुई पटक अफगानिस्तानका राष्ट्रपति निर्वाचित भएका थिए । उनी पहिलो पटक सन् २०१४ मा र दोस्रो पटक २०१९ मा राष्ट्रपति बनेका हुन्।
सुरुमा राष्ट्रपति गनी भागेर ताजिकिस्तान गएको बताइएको थियो । तर पछि उनी उज्बेकिस्तानको राजधानी तासकन्द पुगेको समाचार आयो । त्यहाँबाट उनी यूएई पुगेका हुन्।
देश छाडेपछि ७२ वर्षीय गनीले अफगानिस्तानका अन्य राजनीतिज्ञले उनको कडा आलोचना गरिरहेका थिए।