काबुल । तालिबानले अफगानिस्तानको दोस्रो ठुलो सहर कान्दाहार पनि कब्जा गरेको जनाएको छ । शुक्रबार बिहान उनीहरूले सो कुरा सार्वजनिक गरेका हुन् ।
२०७८ साउन २९ गते उनीहरूले अफगानिस्तानको कान्दाहार र लस्कार गाह सहर पनि आफूले नियन्त्रणमा लिएको दाबी गरेका छन् ।
यस सहर नियन्त्रणमा लिएर आफूहरूले ठुलो सफलता हासिल गरेको पनि उनीहरूको दाबी छ । दक्षिण अफगानिस्तानका यी दुई सहर तालिबानका लागि निकै महत्वपूर्ण विजय भएको लडाकुले दाबी गरेका छन् ।
त्यस सहरलाई तालिबानको बलियो पकड भएको क्षेत्रका रूपमा लिइएको थियो । त्यसैले पनि विगतमा यहाँ नेटो र अफगान सेनाको ठुलो सुरक्षा दिइएको थियो । कान्दाहार सहर अफगानिस्तानको प्रमुख व्यापारिक केन्द्र पनि हो । त्यसैले उनीहरूले यसलाई ठुलो उपलब्धि भनेका हुन् ।
अफगानिस्तानमा जारी सङ्घर्षका बीचमा तालिबानले बिहिबार मुख्य सहर घाज्नी र हेरात पनि आफ्नो नियन्त्रणमा लिइएको बताएको थियो ।
पछिल्ला दिनमा तालिबानले देशैभरि आफ्नो विस्तारलाई कायम राख्ने जनाएको छ । यसै क्रममा उसले विभिन्न सहरमा कब्जा जनाउँदै आएको हो । उनीहरूको कब्जा बढ्दै गएपछि पश्चिमा देशले आफ्ना दूतावासका कर्मचारी र नागरिकलाई सुरक्षित रूपमा स्वदेश फर्काउन थालेका छन् । (रासस/सिन्ह्वा)