काबुल । संयुक्त राष्ट्र सङ्घले पछिल्ला केही हप्तायता अफगानिस्तानमा जारी रहेको हिंसाका कारण दशौँ हजार नागरिक विस्थापित भएको दाबी गरेको छ ।
संयुक्त राष्ट्र सङ्घले हालै प्रकाशन गरेको एक प्रतिवेदनमा पछिल्ला केही हप्तामा अफगानिस्तानमा त्यहाँका तालिबानीले हिंसा सुरु गरेको उल्लेख छ ।
अफगानिस्तानबाट अमेरिकी र नेटो सेना फर्किने समाचार आएसँगै तालिबानीले यहाँका विभिन्न सहरमा कब्जा जमाउन थालेको भन्ने समाचार बाहिर आइरहेका छन्, जसका कारण यहाँ दिन–प्रतिदिन हिंसा जारी छ । यहाँका नागरिक अफगान र तालिबान सेनाको चेपुवामा परेकाले उनीहरू भाग्न बाध्य भएका छन् ।
यो वर्ष मात्र हिंसामा परेर करिब चार लाख नागरिक विस्थापित भई उनीहरू देशभित्रै आन्तरिक शरणार्थी रूपमा बस्न बाध्य भएका छन् । अहिले यहाँका विस्थापित नागरिक आफ्ना बालबालिकासहित राजधानी काबुलमा शरण लिन थालेका छन् ।
यहाँ कतिपय सहायता एजेन्सीले उनीहरूलाई आवश्यक खाने र बस्ने प्रबन्ध मिलाइरहेको समाचार आएसँगै दिनहुँ ठुलो सङ्ख्यामा विस्थापित भएर विभिन्न सहरमा पुगेको हुँदा व्यवस्थापन गर्न पनि गाह्रो भइरहेको बताइएको छ ।
हाल अफगानिस्तानबाट अमेरिकी र नेटो सेना फर्किन थालेपछि यहाँको सरकारी सेना र तालिबानबिचमा भीषण सङ्घर्ष जारी रहेको बताइएको छ, जसका कारण सयौँ नागरिकको ज्यान पनि गएको छ भने कैयौँ घाइते भएका छन् । (रासस÷सिन्हवा)





