बेइजिङ । चीनमा मातृमृत्यु दर उल्लेखनीय रूपमा घटेको छ । चीन सरकारले बिहिबार सार्वजनिक गरेको ह्वाइट पेपरमा सो कुरा उल्लेख गरिएको हो ।
उक्त सरकारी तथ्याङ्कका अनुसार यहाँ सन् २००२ मा प्रतिएक लाख जीवित जन्ममा ४३.२ प्रतिशत मातृमृत्यु दर रहेकोमा २०२० मा आएर १६.९ प्रतिशत मात्र देखिएको छ ।
मातृमृत्यु प्रतिएक लाखमा मापन गरिन्छ । यहाँ २००२ मा एक लाख आमाले बच्चा जन्माउँदा ४३.२ जना आमाको ज्यान जाने गरेको थियो ।
सो सङ्ख्यामा कमी आएर अहिले अर्थात् २०२० मा बच्चा जन्माउने क्रममा अर्थात् प्रसुतिजन्य जटिलताका कारण हाल प्रतिएक लाख आमामा १६.९ जनाको मात्र ज्यान जाने गरेको छ ।
यस तथ्याङ्कलाई चीन सरकारले यहाँका आमाको स्वास्थ्यमा आएको एक उल्लेखनीय प्रगति भनी टिप्पणी गरेको छ ।
चीनको यो तथ्याङ्क सार्वजनिक भएलगत्तै विश्व स्वास्थ्य सङ्गठनले पनि चीनलाई आमा स्वास्थ्यका क्षेत्रमा उल्लेखनीय प्रगति गर्ने एक उदाहरणीय राष्ट्रको रूपमा चित्रण पनि गरेको छ ।
यसअघि पनि विश्व स्वास्थ्य सङ्गठनले पनि चीनलाई आमा स्वास्थ्यका क्षेत्रमा धेरै सुधार गरिरहेको राष्ट्रको रूपमा परिचित रहेको भनेको थियो । (रासस÷सिन्हवा)