टोकियो । जापानको पूर्वी तटनजिकै आइरहेको मिरिना आँधीका कारण टोकियोनजिकैको चिबाबाट हजारौँ मानिसलाई सुरक्षित स्थलमा जान आग्रह गरिएको छ ।
चिबाको सामुद्रिक क्षेत्रबाट झन्डै २९ हजार मानिस सुरक्षित स्थलतर्फ गइसकेका आइतबार जापानको राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
जापानको मौसम विज्ञान विभागलाई उद्धृत गर्दै एनएचके प्रसारकले भनेको छ– “आइतबारको सुरुसम्ममा उष्ण कटिबन्धीय आँधी प्रान्तको दक्षिणपूर्वी भागमा सक्रिय रहने छ भने यो क्रमशः लगभग २५ किलोमिटर प्रतिघण्टाका दरले उत्तरपूर्वमा सर्ने छ ।”
यस आँधीको मध्य वायुमण्डलीय चाप ९८० हेक्टोपास्कल रहेको बताइएको छ । आँधी प्रभावित क्षेत्रमा प्रतिघण्टा ८३ किलोमिटर र आँधीको केन्द्रनजिकै १२६ किलोमिटर प्रतिघण्टाको अधिकतम चापले हुरी चल्ने पूर्वानुमान मौसमविद्ले गरेका छन् ।
उनीहरूले आँधीपछि जापानको तटीय क्षेत्रमा मेघगर्जनसहित बर्षा हुने र यसका कारण पहिरो र बाढी आउन सक्ने चेतावनी दिएका एनएचकेले बताएको छ । (रासस/सिन्ह्वा)