काठमाडौँ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले कमलकिशोर मालपानीलाई किन छोएन भनेर आश्चर्य प्रकट गर्न थालिएको छ ।
पूर्व उपप्रधान तथा अर्थमन्त्री विष्ण्ॉ पौडेललाई उनकै बयानमा गिरफ्तार गर्ने तर सेयर खरिदविक्री गर्ने एउटा पक्ष मालपानीलाई नै किन छानबिनमा ल्याइएन भनेर आशङ्का गरिएको हो ।
रोचक तथ्य त यो छ, पूर्वमन्त्री पौडेलले जुन सेयर खरिदविक्रीमा सहजीकरण गरेको बयान मालपानीले दिएका थिए, त्यस कारोबारका मुख्य दुई पक्षमध्ये एक मालपानी नै हुन् । मालपानी र चुन्नुप्रसाद शर्मा श्रीराम टोबाको कम्पनीका सञ्चालक हुन् । यही कम्पनीले व्यवसायी दीपक भट्टसित सेयर कारोबार गरेको थियो ।
मालपानीको बयानकै आधारमा पूर्वमन्त्री पौडेल विरुद्ध २० करोड ९० लाख रुपैयाँ बिगोदाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको थियो ।
सम्पत्ति शुद्धीकरण विभागले मालपानीको बयानका आधारमा २०८३ असार ८ गते पौडेललाई सुर्खेतबाट पक्राउ गरेको थियो । यद्यपि मुख्य व्यक्तिलाई मुद्दा नचलाएर सहजीकरण गरेको भन्ने आधारमा अर्को व्यक्तिमाथि विभागले मुद्दा चलाएको भन्दै विशेष अदालत काठमाडौँले पौडेललाई साधारण तारेखमा छाडिसकेको छ ।
साउन १ गते विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले पौडेललाई साधारण तारेखमा छाड्ने आदेश दिँदै भनेको थियो– ‘यदि सेयर कारोबारमा अनियमितता भएको हो र पौडेलले त्यसलाई सहजीकरण गरेका हुन् भने सो कारोबारबाट प्रत्यक्ष फाइदा लिने पक्षलाई किन प्रतिवादी बनाइएन ?’
प्रश्न उठेको छ, यदि त्यो सेयर खरिदविक्री अवैध थियो, कालो धनको कारोबार थियो वा सम्पत्ति शुद्धीकरणको अपराध थियो भने आफ्नो उद्योगको सेयर बेचेर करोडौँ रुपैयाँ आर्जन गर्ने श्रीराम टोबाको र त्यसका प्रमुख सञ्चालक मालपानी कसरी शुद्ध भए ?
वास्तविक कसुरदार वा लाभग्राहीलाई प्रतिवादी नै नबनाई केवल तेस्रो पक्षलाई मात्र तारो बनाइनुले विभागको अनुसन्धान निष्पक्ष नरहेको सन्देश अदालतले दिएको थियो ।
मालपानीमाथि अन्त:शुल्क स्टिकर छली, अन्त:शुल्क र भ्याटछली तथा गुट्खाको तौलमा बदनियत देखाएर राज्यको ढुकुटीमा अर्बौंको क्षति पुर्याएको आरोप लाग्दै आएको छ ।
उनी मुख्य सञ्चालक रहेको श्रीराम टोबाको उद्योग प्रालि विरुद्ध राजस्व अनुसन्धान विभागले २०७६ सालमै रुपन्देही जिल्ला अदालतमा १० करोड ३२ लाख २६ हजार तनि सय ७६ रुपैयाँ बिगो र कैदसजाय माग गर्दै राजस्व चुहावटको मुद्दा दायर गरेको थियो ।
मालपानी ती व्यक्ति पनि हुन्, जसले गत वर्ष फागुन २१ गतेको चुनाव प्रचारप्रसारमा हालका प्रधानमन्त्री बालेन्द्र शाहलाई महङ्गो गाडी प्रयोग गर्न दिएका थिए ।





