काठमाडौँ । वल्र्ड फिल्म फेस्टिभल इन क्यान्समा नेपाली कथानक चलचित्र ‘गौैँथली’ ले ‘वेस्ट फरेन सिनेमा’ अवार्ड जितेको छ । फ्रान्समा मासिक र वार्षिक रूपमा हुने यो अवार्डमा ‘गौँथली’ ले सो अवार्ड जित्न सफल भएको हो ।
फ्रान्सको क्यान्समा आयोजना हुने यस फिल्म फेस्टिभललाई वल्र्ड फिल्म फेस्टिभल इन क्यान्स रिभेम्बर द फ्युचर पनि भन्ने गरिन्छ ।
अवार्ड प्राप्त गरेपछि ‘गौँथली’ का निर्देशक डा कपिल रिजालले ‘गौँथली’ केवल एउटा चलचित्र मात्र नभएर यो भावना, सपना र नेपाली चलचित्रप्रतिको प्रेमसँग जोडिएको एउटा सुन्दर यात्रा भएको बताए । २५ वर्षअघि आफ्ना बुबा डा भोला रिजालले निर्माण गर्नुभएको गीतिचलचित्र ‘गौँथली’ को भाव, माया र विरासतलाई आत्मसात् गर्दै आफूले नयाँ पुस्तासम्म नयाँ ढङ्गले पुर्याउने एउटा सानो प्रयास मात्र गरेको उनको भनाइ छ ।
चलचित्रका निर्माता सुमन गिरीले नेपाली फिल्मको गौरवमय इतिहास बनाएको बताउँदै यो नेपाली चलचित्रको जित हो, नेपाली माटोको जित हो भने ।
प्रदर्शनको सय दिन मनाइसकेको यस सिनेमाले २६ करोडमाथिको व्यापार गरी यो नेपाली सिनेमा उद्योगको सबैभन्दा धेरै कमाउने दोस्रो सिनेमा बनिसकेको दाबी गरिएको छ । ‘गौँथली’ मा अरुण क्षेत्री र सिम्रन खड्का मुख्य भूमिकामा छन् ।





