काठमाडौँ । प्रगतिशील पत्रकार सङ्घले फागुनभित्र जिल्ला भेला तथा मङ्सिर २२ गते उन्नाइसौँ स्थापना दिवस मनाउने भएको छ ।
अध्यक्ष श्यामलाल पोखरेलको हस्ताक्षरमा २०८२ कात्तिक १५ गते शनिबार जारी प्रेसविज्ञप्तिमा सो जानकारी दिइएको हो ।
कात्तिक १२ र १३ गते दाङको भालुबाङमा बसेको केन्द्रीयस्तरको बैठकले सो निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिका अनुसार स्थापना दिवसको केन्द्रीयस्तरको कार्यक्रम काठमाडौँमा सम्पन्न गरिने भएको छ ।
त्यस्तै, केन्द्रीय सदस्यमा धनवीर पुनमगरलाई मनोनित गरिएको, संस्था दर्तालाई गति प्रदान गरिनेसहितको निर्णय केन्द्रीय समिति बैठकले गरेको विज्ञप्तिमा उल्लेख छ ।

यस्तो छ, विज्ञप्तिको पूर्ण पाठ :
“प्रगतिशील पत्रकार सङ्घ, नेपाल केन्द्रीय सचिवालयको बैठक उपलब्ध केन्द्रीय सदस्यको उपस्थितिमा २०८२ कात्तिक १२ र १३ गते दाङको भालुबाङमा सम्पन्न भएको छ । बैठकका निर्णय सार्वजनिक गर्न यो प्रेसविज्ञप्ति जारी गरिएको छ ।
१. केन्द्रीय समितिका एक जना सदस्य हाम्रो सङ्गठन छोडेर अन्यत्र जानुभएकाले उहाँलाई केन्द्रीय सदस्यको जिम्मेवारीबाट हटाई सो स्थानका धनवीर पुनमगर (काठमाडौँ) लाई केन्द्रीय सदस्यमा मनोनित गरिएको छ ।
२. आगामी फागुन मसान्तभन्दा पहिले जिल्ला समितिका भेला वा बैठक सम्पन्न गर्ने निर्णय गरिएको छ । सो कार्य सम्पन्न गर्न गत बैठकको कार्यविभाजनअनुसार केन्द्रीय समितिका साथीहरू लाग्नुहुनेछ ।
३. सङ्घको उन्नाइसौँ स्थापना दिवस मङ्सिर २२ गते केन्द्रीयस्तरमा काठमाडौँमा सम्पन्न गर्ने निर्णय गरिएको छ । त्यस्तै जिल्लास्तरमा विभिन्न मौलिक वा रचनात्मक प्रकारले स्थापना दिवस मनाइनेछ । काठमाडौँको कार्यक्रम व्यवस्थापन केन्द्रीय कार्यालयले गर्नेछ ।
४. सङ्घको संस्था दर्तालाई गति प्रदान गर्नका लागि जिम्मेवारी किटान भएका छन् ।
५. बैठकले सङ्घको आन्तरिक सङ्गठन परिचालनसम्बन्धी अन्य कैयौँ निर्णयसमेत गरेको छ ।”






