काठमाडौँ । थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटलले आफ्ना नर्सिङ कर्मचारीको तलब बढाएको छ । अस्पतालले स्नातक तह अध्ययन गरेका नर्सिङ कर्मचारीको न्यूनतम तलब ३७ हजार काम गरिएको हो ।
अस्पतालका अनुसार यो निर्णय कात्तिक १ गतेदेखि लागु हुनेछ । अस्पतालले चालु आर्थिक वर्षमा दोस्रोपटक पारिश्रमिक पुनर्मूल्याङ्कन गर्दै नर्सिङ कर्मचारीको तलब बढाएको हो ।
अस्पतालले प्रेसविज्ञप्ति जारी गर्दै बिरामीको सेवामा अहोरात्र खटिने नर्सिङ कर्मचारीको भूमिकालाई उच्च कदर गर्दै पारिश्रमिक वृद्धि गरिएको जनाएको छ ।
नर्भिकले गत महिना भएको जेनजी आन्दोलनका घाइतेको नि: शुल्क उपचार गर्ने क्रममा नर्सिङ तथा मेडिकल कर्मचारीले देखाएको सदासयता र उच्च सेवाभावको पनि प्रशंसा गरेको छ ।
अस्पतालले स्वास्थ्यकर्मीको मनोबल उच्च राख्न तथा उनीहरूको हित संरक्षणका लागि निरन्तर प्रयास जारी राख्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ ।