ज्ञामुराम न्यौपाने, अध्यक्ष, राष्ट्रिय जनमोर्चा प्युठान ##
स्रोता तथा दर्शकवृन्द । युगदर्शन मिडियाको तर्फबाट गोविन्दकुमार शर्मा म प्रकाश थापामगरको नमस्कार । गत भदौ २४ गते जेएनजी आन्दोलनको नाममा राष्ट्रिय जनमोर्चाका सुर्खेत, अर्घाखाँची, प्युठान बुटवलका कार्यालयमा तोडफोड तथा आगजनी भएको छ । २०८२ असोज ४ गतेका दिन उक्त घटनाका प्रत्यक्षदर्शीसित कुराकानी गरेर हामीले एउटा सामग्री तयार पारेका छौँ । प्रस्तुत छ सो सामग्री ।
० युगदर्शन मिडियाको तर्फबाट राष्ट्रिय जनमोर्चा प्युठानका अध्यक्ष ग्यामुराम न्यौपानेजीलाई स्वागत गर्न चाहन्छौँ ।
:: हजुर, धन्यवाद ।
० जेएनजी आन्दोलनको क्रममा २०८२ भदौ २४ गते राजमो प्युठानको कार्यालयमा तोडफोड भयो, त्यससम्बन्धी हामी तपाईंसँग जानकारी माग्न गइरहेका छौँ । सर्वप्रथम त हामीलाई बताइदिनुस् कि त्यहाँ त्यो तोडफोड कसरी भयो ?
:: राष्ट्रिय जनमोर्चा जिल्ला समिति प्युठानको कार्यालय सदरमुकाम खलङ्गामै रहेको थियो । त्यो हामीले १५ वर्ष पहिला कार्यकर्ताले चन्दा उठाएर, जग्गा किनेर लामो समय लगाएर भवन बनाएका थियौँ । त्यो आवासीय कार्यालय थियो । त्यहाँ सामुदायिक रेडियो प्युठान, मित्रमणि टङ्क स्मृति प्रतिष्ठान र राष्ट्रिय जनमोर्चा जिल्ला समितिको तीनओटा संस्थाको कार्यालय थियो । जेएनजी आन्दोलनको दोस्रो दिन भदौ २४ गते त्यहाँ अराजक उदण्ड तत्त्वले त्यहाँ आएर तोडफोड गरे । कार्यालयका सम्पूर्ण फर्निचर र अन्य सामग्रीमा आगजनी गरे । कार्यालयभित्र दुईओटा कोठामा आगो लगाएर अरू सम्पूर्ण सामान बाहिर लगेर आगजनी गरे । त्यो धेरै निन्दनीय र भत्र्सनायोग्य घटना थियो ।
० त्यो तोडफोड हुँदाखेरि तपाईंहरूले आफ्नो सामान बचाउन पहलकदमी गर्नुभयो कि गर्नुभएन ?
:: हामीले कार्यालयको केही डकुमेन्ट मात्रै बचायौँ, झोलामा अट्ने सामान मात्रै । अरू त उनीहरूले सबै आगो लगाए । यतिसम्म गरे कि उनीहरूले हाम्रो १५० थान पुस्तक जलाए । पुस्तक जलाउने भनेपछि ती कस्तो चेतनास्तर बोकेका मान्छे थिए होलान् ? हामीले कल्पना गर्न सक्छौँ । सहिद प्रतिष्ठान, जहाँ सहिदको विषयमा अध्ययन–अनुसन्धान गर्ने, उहाँहरूका कैयौँ फोटा, सहिदसँग सम्बन्धित अरू कागजात थिए । सहिदलाई पनि उनीहरूले अपमान गर्ने, पुस्तक जलाउने, त्यतिसम्मको अराजक र उद्दण्ड समूहले त्यो क्षति गरेको थियो ।
० राष्ट्रिय जनमोर्चासँग सम्बन्धित कुनै सामग्री त्यहाँ बाँकी रहेनन् ?
:: हाम्रो सम्पूर्ण सामान नष्ट भयो । भवनमा पनि क्षति भयो आगजनीले गर्दाखेरि । हामीले प्रहरी–प्रशासनलाई बोलाएर आगजनीको एउटा मुचुल्का पनि बनायौँ ।
० जुन त्यहाँ आगजनी भयो, त्योभन्दा पहिला त्यस्तो कुनै पूर्व सूचना अथवा तपाईंहरूलाई आशङ्का लागेको यस्तो हुन सक्छ भन्ने त्यस्तो अनुमान गर्नुभएको थियो कि थिएन ?
:: राष्ट्रिय जनमोर्चा सुरुदेखि नै राष्ट्रियता, गणतन्त्र र सुशासनको पक्षमा लगातार सङ्घर्षरत थियो । राजमो जनताको पार्टी हो, त्यसमा आक्रमण गर्नुपर्ने कुनै कारणै छैन । भ्रष्टाचार विरोधी पार्टी थियो । कैयौँ जनताको पक्षमा आन्दोलन गरिरहेको छ । त्यसैले आक्रमणबारे हामीलाई कुनै शङ्का थिएन । त्यहाँ आक्रमण हुन्छ भन्ने हामीले अनुमानसम्म गरेका थिएनौँ किनभने हामी जनविरोधी काममा संलग्नै थिएनौँ । कुनै पनि मान्छे राजनीतिक क्षेत्रमा काम गर्ने, नेपालको निम्ति काम गर्ने मान्छेले एउटा जनपक्षीय सङ्गठनमाथि, कार्यालयमाथि आक्रमण गर्छ भन्ने हाम्रो अनुमान थिएन । आक्रमण हुनुभन्दा केही मिनेट पहिला उनीहरू आउँदैछन्, तोडफोड, आगजनीका लागि भन्ने हामीले सूचना प्राप्त गरेका थियौँ । हामीले तत्काल प्रशासनसँग सम्पर्क गर्यौँ । प्रशासनले ‘हामीले कफ्र्यु आदेश जारी गरेका छौँ, कफ्र्यु छ, हामीले रोक्छौँ, त्यहाँ तपाईंहरू सुरक्षित हुनुहुन्छ’ भनेर हामीलाई भ्रम दियो । उसले पनि सुरक्षा दिन सकेन ।
० अहिले हालसम्मको मितिमा आउँदाखेरि त्यो त्यहाँको आगजनीको लागि कुनै दोषी त्यस्तो कुनै तपाईंहरूले शङ्का गर्नुभएको छ, फलानो पक्षले आगजनी गर्यो होला भन्ने त्यस्तो कसैको संलग्नताको तपाईंको अनुमान छ केही ?
:: उदण्डको जत्था नै आएको थियो । त्यसका कैयौँ भिडियो क्लिप छन् । उनीहरूले अरू ठाउँमा पनि आगजनी गरेका छन् । त्यो प्रशासनको जिम्मेवारी हो, अपराधी पत्ता लगाउने, त्यसलाई कारबाही गर्ने कुरा तर हामीले यो यो व्यक्ति भनेर समग्र अपराधीको बारेमा निष्कर्षसम्म हामी पुगेका छैनौँ । त्यसलाई बुझ्ने क्रममा छौँ ।
० तपाईंले भन्नुभयो, प्रशासनसँग सम्पर्क गरेको । त्यहाँ नजिकै आर्मीको ब्यारेक थियो भन्ने पनि हामीले जानकारी पाएका थियौँ । प्रहरी प्लस त्यो आर्मी, उहाँहरूको कार्यालय जलेको रोक्नमा त्यस्तो केही भूमिका भयो कि भएन अनि तपाईंहरूले सहयोग माग्नुभयो कि माग्नुभएन ?
:: हामीले सहयोग माग्यौँ । आगलागी हुने बेलामा हामीले दमकल माग गर्यौँ । प्रमुख जिल्ला अधिकारीसँग हामीलाई दमकल दिनुपर्यो, आगो नियन्त्रण गर्न भन्यौँ । दमकल हाम्रो सम्पर्कमा छैन भनेर त्यहाँ हामीलाई उपलब्ध भएन । आगजनी हुने बेलामै प्रहरीको एउटा टिम त्यहीँ थियो । उसको भूमिका पनि देखिएन । सेनाले पनि रोक्ने प्रयास गरेन । उनीहरूलाई छोडिदियो । त्यो धेरै ठुलो जत्था थिएन, त्यही सय जना आसपास मात्रै थिए । त्यसो हुनाले प्रशासनको पनि उचित भूमिका भएन । राष्ट्रिय सम्पत्ति जोगाउनको निम्ति अथवा राष्ट्र पक्षधर शक्तिलाई बचाउन शान्तिसुरक्षा कायम गर्न प्रभावकारी भूमिका देखिएन ।
० तपाईंले भर्खर भन्नुभयो कि भिडियो क्लिप छन्, जम्मा सय जना मान्छेहरू छन् । भनेपछि केही मान्छेलाई तपाईंहरूले चिन्नुहुन्छ होला । त्यो तोडफोड आगजनीको दोषीको पक्षलाई कानुनी रूपबाट उपचार गर्ने अथवा कानुनी रूपबाट जाने त्यस्तो सोचाइ छ कि छैन ? त्यस्तो तयारी वा सोचाइ केही छ ?
:: हामीले त पटक पटक कुरा उठाइरहेका छौँ, आगजनी तोडफोडमा संलग्न मान्छेलाई छोड्नु हुँदैन । समाज अनुशासनमा चल्छ । राजनीतिक रूपमा असहमति छन्, विरोध छन् भने पनि त्यसलाई व्यक्त गर्न पाइन्छ तर भौतिक सम्पत्तिमाथि आक्रमण गर्ने कुरा निन्दनीय छ । तत्काल प्रशासनले यसलाई कारबाही गर्नुपर्छ । हामीले निरन्तर आवाज उठाएका छौँ । अब शान्तिसुरक्षा, अमनचयन कायम राख्ने प्रशासन कसरी जान्छ ? त्यो हेर्न बाँकी नै छ ।
० तपाईंहरूले किटानी जाहेरी दिनुभएको कि दिनुभएको छैन?
:: हामीले दिएका छैनौँ । मुचुल्का गर्ने बेलामा पनि प्रशासनसँग हामीले केही कुरा भनेका छौँ । जिल्लामा जे जति घटना छन्, ती घटनाको बारेमा अनुसन्धान अगाडि बढाउनुपर्छ भनेका छौँ ।
० जे भयो, त्यो भइसक्यो । अब यसलाई पुनर्निर्माण गर्न तपाईंहरूले त्यस्तो केही योजना बनाउनुभएको छ ?
:: त्यहाँ विद्युत्, टेलिफोन, खानेपानी सबै क्षतविक्षत् गराइएको थियो । न्यूनतम रूपमा त्यहाँ कार्यालय सञ्चालन गर्नको लागि पानी, विद्युत सुचारु गर्ने प्रयास गरेका छौँ । त्यो पुनर्निर्माण गर्न त हामीलाई धेरै आर्थिक स्रोत चाहिन्छ, तत्काल हामीले जुटाउन सक्दैनौँ । अब सोच्दै, योजना बनाउँदै जाने कुरा हो ।
० प्युठानमा राष्ट्रिय जनमोर्चा त्यहाँको बलियो शक्ति हो । फेरि पनि उद्दण्ड समूहको अगाडि केही लागेन । अहिले समाजमा जुन विकृति देखा पर्यो, तपाईंले भनेजस्तै पुस्तक जलाउने, भौतिक सम्पत्ति ध्वस्त पार्ने खालको प्रवृत्तिको विषयमा तपाईंहरूको टिप्पणी के छ ?
:: एउटा कुनै पनि राजनीतिक आन्दोलन या विद्रोहमा सचेत र सङ्गठित शक्ति चाहिन्छ । त्यसले के काम गर्ने हो, त्यसको लक्ष्य के हो, त्यसको एजेन्डा के हो भन्ने कुरामा प्रस्ट भएर मात्रै आन्दोलनमा जानुपर्छ । आन्दोलन भनेको तोडफोड गर्नु, आगो लगाउनु हो भन्ने जुन बुझाइ देखियो, जुन किसिमको गतिविधि देखियो, त्यो धेरै आपत्तिजनक छ । देश नै अराजकतामा गएको हो कि ? नेपालको अन्तर्राष्ट्रिय क्षेत्रमा पनि छवि धेरै धमिलो हुन गएको छ । पुस्तक जलाउने, सहिदका भवनमाथि आक्रमण गर्ने यस्तो किसिमको आपत्तिजनक गतिविधि निन्दायोग्य छ । आफ्नो जीवनलाई अनुशासित बनाउने कुरा सबैको जिम्मेवारी हो । अझ राजनीतिक क्षेत्रमा काम गर्ने, समाज देशको लागि काम गर्ने भन्ने मान्छेहरू यो स्तरमा ओर्लिएको जुन दृश्य देखा पर्यो, वास्तवमा हामी सबैलाई यसले लज्जित बनाएको छ ।
० हवस् त, महत्त्वपूर्ण समय र जानकारी हामीलाई दिनुभयो, त्यसको लागि ज्ञामुराम सरलाई धेरै धेरै धन्यवाद ।
:: युगदर्शनलाई पनि धन्यवाद छ ।