मोहनविक्रम सिंह, महामन्त्री नेकपा (मसाल) ##
० नेकपा स्थापना हुँदा तपाईं १४ वर्षको किसोर हुनुहुन्थ्यो । त्यो बेलादेखि आजसम्मको ७६ वर्ष लामो कम्युनिस्ट आन्दोलनको यात्रालाई कसरी मूल्याङ्कन गर्नुहुन्छ ?
:: कम्युनिस्ट आन्दोलन, चाहे त्यो अन्तर्राष्ट्रिय होस् वा नेपालको धेरै अप्ठ्यारो स्थितिबाट गुज्रिँदै अगाडि बढेको छ । यो यात्रामा हामीले कयौँ क्रान्ति र प्रतिक्रान्ति देख्यौँ । विश्वव्यापी रूपमा थुप्रै उथलपुथल भए । नेपालकै सन्दर्भमा २००६ सालमा पार्टी स्थापना भएदेखि नै पार्टीभित्र विभिन्न समस्या देखा परे । कहिले उग्रवामपन्थी भड्काऊ, कहिले दक्षिणपन्थी अवसरवादजस्ता अनेकौँ सैद्धान्तिक विचलन देखा परे ।
यसबिचमा दुस्मन शक्तिबाट हमला भए, प्रतिगामी शक्तिले प्रतिबन्ध लगाए । हाम्रा कैयौँ साथी जेल पर्नुभयो; भूमिगत हुनुभयो; कयौँको हत्यासमेत भयो तर यस्तो उथलपुथलको बिचबाट पनि कम्युनिस्ट आन्दोलन अगाडि बढ्दै आयो । यसको मुख्य कारण के हो भने कम्युनिस्ट आन्दोलनको एउटा बलियो सैद्धान्तिक आधार छ । जस्तोसुकै कठिन परिस्थिति आए पनि मार्क्सवाद–लेनिनवादको त्यो वैचारिक जगले हामीलाई टिकाइरह्यो तर यो यात्रामा हामीले ठुल्ठुला क्षति पनि बेहोऱ्यौँ । सोभियत सङ्घको विघटन, चीनमा पुँजीवादको पुनर्स्थापना, विश्व समाजवादी व्यवस्थाको पतनजस्ता घटनाले हामीलाई ठुलो धक्का दियो । नेपालमा पनि कम्युनिस्ट आन्दोलन कैयौँपटक विभाजित भयो तैपनि यी सबैका बाबजुद आन्दोलन जीवित छ र अगाडि बढिरहेको छ ।
नेकपाको प्रारम्भिक दिनमा, विशेषगरी पहिलो र दोस्रो महाधिवेशनताका नेताहरूबिच गहिरो मतभेद देखिन्छ । पुष्पलाल, जो संस्थापक महासचिव हुनुहुन्थ्यो, उहाँ नेतृत्वबाट बाहिरिनुपर्ने अवस्था आयो । २००८ सालमा मनमोहन अधिकारी र पछि केशरजङ्ग रायमाझी नेतृत्वमा आउनुभयो ।
० यो नेतृत्व परिवर्तनको पछाडि के–कस्ता वैचारिक र राजनीतिक कारण थिए ?
:: पार्टीमा को व्यक्ति कहिले नेतृत्वमा आउँछ ? कहिले हट्छ ? यो एउटा सामान्य प्रक्रिया हो । यो पार्टीभित्रका विभिन्न छलफल, मतभेद र समझदारीको आधारमा हुने गर्छ । त्यसकारण पुष्पलालजी नेतृत्वमा निरन्तर रहन सक्नुभएन भन्ने कुरालाई मात्रै हेरेर कुनै ठुलो समस्याको रूपमा लिनुहुँदैन ।
दोस्रो महाधिवेशनको कुरा गर्दा, त्यहाँ एउटा गम्भीर वैचारिक मतभेद थियो । त्यो थियो– गणतन्त्र र संवैधानिक राजतन्त्रको विषयमा । डा केशरजङ्ग रायमाझी वैधानिक राजतन्त्रको पक्षमा हुनुहुन्थ्यो । पुष्पलालजीबारे आम रूपमा के भ्रम छ भने उहाँ सुरुदेखि नै गणतन्त्रको पक्षमा हुनुहुन्थ्यो । त्यो सत्य होइन । केन्द्रीय कमिटीमा जब मतभेद भयो, शम्भुराम श्रेष्ठ, तुलसीलाल अमात्य, कमलराज रेग्मी र पिीब मल्लहरू गणतन्त्रको पक्षमा उभिनुभयो । पुष्पलाल र मनमोहन अधिकारी पनि सुरुमा वैधानिक राजतन्त्रकै पक्षमा हुनुहुन्थ्यो ।
पछि मनमोहन अधिकारी उपचारको लागि चीन जानुभयो र उहाँ द्वितीय महाधिवेशनमा उपस्थित हुनुभएको थिएन । पुष्पलाल द्वितीय महाधिवेशनमा उपस्थित हुनुहुन्थ्यो । उहाँ पहिले वैधानिक राजतन्त्रको पक्षमा भएको भए पनि महाधिवेशनमा गणतन्त्रको पक्षमा स्पष्ट वातावरण बनेपछि उहाँ गणतन्त्रको पक्षमा उभिनुभएको थियो र अत्यधिक बहुमतले गणतन्त्रको प्रस्ताव पारित भयो तर केन्द्रीय कमिटीमा जाँदा परिस्थिति फेरियो । रायमाझीले क्षेत्रीयतावादी भावनालाई उचाल्नुभयो । ‘उपत्यकाका नेताहरूले हामी बाहिरकालाई हेप्छन्’ भन्नेजस्ता सेन्टिमेन्ट प्रयोग गरेर उहाँले आफ्नो पक्षमा बहुमत जुटाउनुभयो र महामन्त्रीमा जित्नुभयो । त्यो कुनै राजनीतिक वा सैद्धान्तिक कारणले भएको जित थिएन, त्यो एउटा अवसरवादी र सिद्धान्तहीन राजनीतिको परिणाम थियो । यसरी पार्टीभित्रका यस्ता अनेकौँ अन्तर्विरोध र सङ्घर्षले नेतृत्वमा परिवर्तन ल्याउने गर्थ्यो ।
० तेस्रो महाधिवेशनपछि त कम्युनिस्ट पार्टी टुक्राटुत्रामा विभाजन भयो । २०२८ सालमा यहाँहरूले केन्द्रीय न्युक्लस बनाएर एकताको लागि प्रयत्न गर्नुभयो तर त्यो एकता पनि टिकेन । झापा विद्रोहबाट आएको धार, जो पछि माले बन्यो, उनीहरूले चौथो महाधिवेशनलाई मान्यता दिएनन् । यो टुटफुटको शृङ्खलामा रुसी र चिनियाँ क्रान्तिको प्रभाव कत्तिको थियो वा यो आन्तरिक अवसरवाद र नेतृत्वको टकरावको परिणाम थियो ?
:: यसमा दुवै कुराको प्रभाव थियो । अन्तर्राष्ट्रिय रूपमा रुस र चीनबिच जुन वैचारिक सङ्घर्ष चलिरहेको थियो, त्यसको असर नेपालमा पनि पऱ्यो । पुष्पलालजीमा भारतको सिपिएमको मध्यपन्थी लाइनको प्रभाव थियो, जो रुस र चीन दुवैसँग नजिक देखिन्थ्यो । हामीले भने स्पष्ट रूपमा रुसी संशोधनवादको विरोध गरेर चिनियाँ नयाँ जनवादी क्रान्तिको लाइनलाई समर्थन गर्नुपर्छ भन्ने थियो । यो एउटा मुख्य मतभेद थियो ।
झापा विद्रोहबाट आएका साथीहरूसँगको हाम्रो मतभेद पनि सैद्धान्तिक नै थियो । उहाँहरूको सोचाइ के थियो भने नेपालमा सशस्त्र सङ्घर्ष गर्नको लागि परिस्थिति तयार भइसक्यो । उहाँहरू भारतको नक्सलवाडी आन्दोलनबाट बढी प्रभावित हुनुहुन्थ्यो । हामीले भनेका थियौँ, सशस्त्र सङ्घर्ष गर्ने परिस्थिति नेपालमा तयार भएको छैन, यो दुस्साहस हुन्छ । पछि उहाँहरूले पनि आफ्नो लाइन गलत थियो भनेर स्वीकार गर्नुभयो ।
हामीले २०२८ सालमा केन्द्रीय न्युक्लस बनाएर एकताको प्रयास गऱ्यौँ, चौथो महाधिवेशन पनि गऱ्यौँ तर त्यो पनि टिक्न सकेन । मनमोहनजी, भरतमोहनजीहरू अलग हुनुभयो । यसरी पार्टीभित्रका विभिन्न वैचारिक मतभेद, व्यक्तिगत टकराव र अन्तर्राष्ट्रिय प्रभावले गर्दा एकताका प्रयास सफल हुन सकेनन् ।
० यहाँहरूले सशस्त्र सङ्घर्षको लाइनलाई सधैँ परिस्थितिको मूल्याङ्कन गरेर मात्र अपनाउनुपर्छ भन्नुभयो । माओवादीले २०५२ सालबाट सुरु गरेको १० वर्षे जनयुद्धलाई यहाँहरूले ‘उग्रवामपन्थी भड्काउ’ भन्नुभयो । आज उनीहरू हाम्रै कारणले गणतन्त्र आयो भन्छन् । यो दाबीलाई कसरी हेर्नुहुन्छ ?
:: माओवादीले सुरु गरेको सशस्त्र सङ्घर्षको लाइन गलत थियो र त्यो उग्रवामपन्थी भड्काउ नै थियो भन्ने हाम्रो ठहर आज पनि कायमै छ । उनीहरूको त्यो दाबीमा सत्यता छैन कि उनीहरूकै कारणले मात्र गणतन्त्र आयो । यदि उनीहरूको लाइन मात्र सफल भएको भए, देशमा गणतन्त्र आउँदैनथ्यो । उनीहरू त सुरुमा राजासँग मिलेर बहुदलीय व्यवस्थामाथि हमला गरिरहेका थिए । उनीहरूले आशा गरेका थिए, राजालाई सहयोग गरेपछि सत्तामा पुग्न सकिन्छ तर राजाले उनीहरूलाई उपयोग मात्र गरे ।
जब राजाले सत्ता दिएनन्, त्यसपछि उनीहरू भारतसँग मिल्न थाले । भारतले पनि उनीहरूलाई उपयोग गऱ्यो । अन्तमा जब उनीहरू सात दलको आन्दोलनमा मिल्न आए, त्यो उनीहरूको बाध्यता थियो । यदि माओवादी त्यसरी मिल्न नआएको भए, गणतन्त्रको सङ्घर्ष सफल हुन मुस्किल पर्थ्यो होला । त्यस अर्थमा उनीहरूको योगदान छ तर सुरुदेखि नै उनीहरू गणतन्त्रको पक्षमा थिए भन्ने कुरा गलत हो । उनीहरूको पतन दक्षिणपन्थी भड्कावमा भयो । मार्क्सवादी सिद्धान्तले यो मान्दछ कि उग्रवामपन्थी भडकावको प्रभाव दक्षिणपन्थी संशोधनवादमा हुन्छ । एमाले र माओवादी दुबैबारे त्यो सत्य साबित भयो ।
० आज कम्युनिस्ट पार्टीको अवस्था हेर्दा छिन्नभिन्न छ । नेताहरूमाथि भ्रष्टाचार, पदलोलुपता र सिद्धान्तबाट विचलित भएको आरोप छ । जनतामा वितृष्णा बढ्दो छ । यो दुर्दशाको मुख्य कारण के हो ?
:: यसको मूल कारण हो– सत्तामा पुगेका कम्युनिस्ट नेताले आफ्नो सिद्धान्त र आदर्शलाई बिर्सिए । उनीहरू इमानदार र दृढ रहन सकेनन् । एमालेले महाकाली सन्धि गऱ्यो; माओवादीले राजाको पछि लागेर बहुदलीय व्यवस्थामाथि हमला गऱ्यो । सत्तामा पुगेपछि उनीहरूको कम्युनिस्ट चरित्र पतन हुँदै गयो ।
यो एउटा जटिल प्रश्न हो । आज सबैले आफूलाई सच्चा कम्युनिस्ट नै बताइरहेका छन् । हामीले पनि भनेका छौँ, अरूले पनि भनेका छन् । को सही हो ? को गलत हो ? को क्रान्तिकारी हो ? यो हामीले भनेर मात्र टुङ्गिने कुरा होइन, यो त इतिहासले र भविष्यले फैसला गर्ने कुरा हो ।
० अबको बाटो के त ? के कम्युनिस्ट आन्दोलनको भविष्य अन्धकार छ ? वा फेरि एकता र पुनर्गठनको सम्भावना छ ?
अहिले तत्काल कम्युनिस्ट पार्टीका बिचमा एकता हुने सम्भावना देखिन्न तर विभिन्न विषयमा मोर्चा बनाएर वा कार्यगत एकता गरेर काम गर्न सकिन्छ । त्यो हामीले गरिरहेका पनि छौँ; जस्तो कि २०४६ सालको आन्दोलनमा वा २०६२–६३ सालको आन्दोलनमा । ओलीले संसद् विघटन गर्दा पनि हामीले पाँचदलीय गठबन्धन बनाएर काम गरेका थियौँ र अहिले पनि विभिन्न अन्तर्राष्ट्रिय प्रश्नमा हामीले संयुक्त सङ्घर्ष गरिरहेका छौँ । यो राजनीतिक परिपक्वता हो ।
२०८४ को चुनावमा हामीले कुनै गठबन्धन गरेर जाने सम्भावना देखेका छैनौँ । हामी स्वतन्त्र रूपमा नै भाग लिन्छौँ । हाम्रा लागि जितहारभन्दा पनि राजनीतिक भण्डाफोर गर्ने र आफ्नो शक्तिको भूमिका स्थापित गर्ने कुरा महत्त्वपूर्ण हो ।
कम्युनिस्ट आन्दोलनको भविष्यको कुरा गर्दा त्यो उज्ज्वल छ । निर्णायक शक्ति भनेका जनता हुन् । जबसम्म जनतामा चेतना आउँदैन† के सही र के गलत भनेर उनीहरूले छुट्याउन सक्दैनन्, तबसम्म देशको अवस्था यस्तै रहन्छ । यदि जनताले पैसा, रक्सी र झुटा आश्वासनको आधारमा भोट दिने हो भने देश झन् झन् बर्बादीको दिशामा जान्छ ।
० एउटा जीवन्त इतिहासको रूपमा रहनुभएका तपाईंले भोगेको, देखेको र सिकेको कुरालाई कसरी सङ्क्षिप्तमा व्यक्त गर्नुहुन्छ ?
:: मेरो जीवनको सार भनेको आफ्नो सिद्धान्त र लक्ष्यका लागि निरन्तर सङ्घर्ष हो । मैले सुरुदेखि नै सैद्धान्तिक निष्ठा र इमानदारितालाई महत्त्व दिँदै आएको छु । हामीले कयौँपटक फुटको सामना गऱ्यौँ तर त्यो सधैँ गलत थिएन । कैयौँपटक सिद्धान्तको रक्षाका लागि फुट आवश्यक पनि हुन्छ । हामीले रायमाझीको अवसरवाद विरुद्ध सङ्घर्ष गऱ्यौँ, झापालीको उग्रवामपन्थ विरुद्ध सङ्घर्ष गऱ्यौँ र माओवादीको उग्रवामपन्थी भड्काउका विरुद्ध पनि सङ्घर्ष गऱ्यौँ ।
अहिले पनि कम्युनिस्ट आन्दोलनमा धेरै समस्या छन् तर म निराश छैन । जबसम्म समाजमा वर्गसङ्घर्ष रहन्छ, तबसम्म कम्युनिस्ट आन्दोलनको आवश्यकता पनि रहन्छ । यो आन्दोलनको भविष्य भौतिक परिस्थिति र जनताको चेतना र उनीहरूको सही निर्णयमा निर्भर गर्छ । मेरो आग्रह के हो भने सबैले विशेषगरी नयाँ पुस्ताले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताको हितमा सोच्नुपर्छ । उनीहरूमा समाजसेवा र देशभक्तिको भावना हुनुपर्दछ । त्यसो भएमा नै देशको भविष्य उज्ज्वल हुन सक्छ ।
(पत्रकार गणेश पाण्डेले लिनुभएको यो अन्तर्वार्ता २०८२ साउन १ गतेको रातो पाटी डट कमबाट लिइएको हो । शीर्षक हामीले परिवर्तन गरेका छौँ । त्यसमा भएका तथ्यगत गल्ती सुधार गरिएको छ ।)