काठमाडौँ । समालोचक तथा वामपन्थी चिन्तक प्राडा ताराकान्त पाण्डेयको निधन भएको छ ।
नेपालगञ्जबाट काठमाडौँ आउने क्रममा दाङको भालुबाङमा २०८० पुस २७ गते शुक्रबार राति भएको बस दुर्घटनामा उहाँको निधन भएको हो ।
प्रगतिवादी साहित्यमा सक्रिय रहेका पाण्डे इच्छुक सांस्कृतिक प्रतिष्ठानका अध्यक्षसमेत थिए । हाल उनी मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीका केन्द्रीय सल्लाहकार तथा स्कुलिङ विभाग सदस्य थिए ।
पार्टीले कैलालीमा आयोजना गरेको स्कुलिङ कार्यक्रममा सहभागी भएर फर्किने क्रममा उनको बस दुर्घटनामा परी निधन भएको जानकारी प्राप्त भएको छ ।
२०१७ असोज ८ गते रुपन्देहीमा जन्मेका पाण्डेय २०३६ सालदेखि नेपाली साहित्यमा निरन्तर क्रियाशील थिए ।
उनका भूमिका र मूल्याङ्कन (२०५३), प्रगतिवाद र कविता (२०५६), देवकोटाको व्यङ्ग्य व्यक्तित्व (२०५८), अर्थभ्रान्तिको उत्तर चेतनाका विरुद्ध (२०६७), अर्थको आनन्द (२०६८), समय र सिर्जना (२०६८) जस्ता समालोचना प्रधानलगायत विभिन्न कृति प्रकाशित थिए ।
उनले आलोचना, कलम जस्ता साहित्यिक पत्रिकाको समेत सम्पादन गरेका थिए ।
स्मृतिशेष पाण्डेयले विसं २०५७ सालको पारिजात सिर्जन पुरस्कारलगायत पाएका थिए ।