ईरानराई ##
ओ प्रिय सुदीप भाइ
तिमीले उनन्तिस सय मिटर उचाइको
छिमालुङ गोठबासबाट
घरिघरि हेरिरहनू हामीलाई
र कहाँनिर पुग्यौँ हामी
भनिदिनू
अब चखेवा भञ्ज्याङ झर्न
कति लाग्छ समय
चिसो बतासलाई सुनाइदिनू
त्यो हरिया फाँटमाथि उड्ने बतासले
हौसलाका शब्दहरूले भरिएको
तिम्रो त्यो सुमधुर आवाज
हाम्रा कानसम्म ल्याइपुर्याउनेछ
तिम्रो आत्मीय सहयात्राको बलमा
प्रकृतिका अनेकन् शृङ्गारले सजाएको
उकाली र ओरालीले रोमाञ्चक बनाएको
माझकिराँतका भोजपुर र खोटाङको सिमाना
लमतन्न पल्टिएको
देउरालीको नागबेली मुन्धुम पदमार्ग
छिटोछिटो काटेथ्यौँ
हामी यात्री हौँ
त्यसैले मधुरो बत्तीको सहारामै
तीनथुम्कीको जङ्गलैजङ्गल
औँसीको मध्यरातमा पनि हिँडिरह्यौँ
गाईवस्तु मार्ने भालुदेखि डराएनौँ
मान्छे खाने बाघदेखि लुकेनौँ
भोका जुकाहरूले शरीरमै टाँसिएर
निर्धक्क जथाभावी हाम्रो रगत चुसिरहे
बर्खाको झरीले बाहिर रुझाइरह्यो
घाँटीभित्र प्यासले प्याकप्याक हुँदै
चिप्लो र हिलो बाटोमा चिप्लिँदै
धेरै धेरै कष्ट भोगेर
अलिअलि खुसी समेट्दै
हामी निरन्तर हिँडिरह्यौँ, हिँडिरह्यौँ
हामीले रोकेनौँ हाम्रो यात्रा
कोही भित्रभित्रै डरायौँ
कोही बाहिरै डरायौँ
कोही प्रस्टै हिम्मत हार्दै थियौँ
कोही चुपचाप हरेस खाइरहेका थियौँ
तर गन्तव्य पुगिन्छ भनेर
हौसला भरिदिन्थ्यौ तिमीले
अनि फेरि रोकिएको ठाउँबाट
हाम्रा पाइलालाई अगाडि बढाउँथ्यौँ
तिम्रा तेजिला आँखाका दुरबिनबाट
छिमालुङको टुप्पोमा उभिएर
हामीलाई हेरिरहनू
र नापिदिनू हाम्रो र चखेवा भञ्ज्याङको दुरी
बेलैमा पुगिँदैन भन्ने ठान्यौ भने
तिमीले साउने सङ्क्रान्तिमा खुवाएका
पोषिला खानेकुरा सम्झाइदिनू
आज फर्किँदा तिमी हामीसित
हामीलाई तिमी चाहिएनौ
किनकि हामी आफैँ गोरेटो पहिल्याउने भयौँ
प्रिय सुदीप भाइ
तिम्रो साथ अझै खड्किरहेकै छ
तिमीसँगै हाँसपोखरी पुगेर
खर्कका चौँरीसँग
देशको राजनीति सोध्नु थियो
भेडीगोठका भेडासँगै सुतेर
देशको शान्ति, सुरक्षा जाँच्नु थियो
तिम्रै अगुवाइमा मैयुङडाँडा चढेर
देशको गरिमा कति चुलिँदै छ
तीन सय साठी डिग्रीमा हेर्नु थियो
तर पटक्कै जुरेनन् ती अवसरहरू
यो अन्तिम यात्रा भने होइन हाम्रो
अहिले यति मात्र भन्छु प्रिय सुदीप भाइ
देशमै केही गर्नुपर्छ
देशमै केही गर्न सकिन्छ
आफ्नै देशमा पसिना चुहाएर
आफ्नै देश सिँगार्न सकिन्छ भन्ने
तिम्रो यो दिव्य कर्मप्रति
सलाम गर्दछौँ प्रिय सुदीप भाइ
तिमीले तिम्रो छिमालुङ गोठबासबाट
भुइँकुहिरोमार्फत
हामी चखेवा भञ्ज्याङ चाँडै पुग्ने
मार्गदर्शन गरिरहनू
जब हामीलाई
तेइस सय मिटर उचाइको
चिसो सिरेटोले
मुटु नै छेँड्नेगरी
मज्जाले झापड हान्छ
तब मात्र चखेवा भञ्ज्याङले
हामीलाई न्यानो स्वागत गर्नेछ
अनि प्रिय सुदीप भाइ
तिमीलाई पनि
यो पटकको यात्राको
अन्तिम बिदाइको हात हल्लाउने छौँ
२०८३ साउन ३ गते
मुन्धुम पदमार्ग, भोजपुर
