• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ७. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ८. वृद्धाश्रममा आगलागी हुँदा १६ जनाको मृत्यु

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

जनजाति मुक्ति आन्दोलन


  •   आइतबार, साउन १०, २०८३ मा प्रकाशित
  • मोहनविक्रम सिंह

    Advertisement

    जनजातिको समस्या नेपालको अत्यन्त गम्भीर र जटिल समस्या हो । त्यसका कैयौँ आयाम छन्‌ । त्यो समस्याबारे विचार गर्दा कैयौँ सैद्धान्तिक वा व्यावहारिक दृष्टिकोणले विचार गर्नुपर्ने आवश्यकता हुन्छ । संसारमा त्यसबारे कैयौँ प्रकारले व्याख्या वा विश्लेषण गर्ने गरिएको छ । मार्क्सवादी–लेनिवादी सिद्धान्तले पनि त्यसबारे विस्तृत रूपले विश्लेषण गरेको छ ।

    नेपालका आदिवासी जनजाति नै हुन् । नेपालमा बसोबास गर्ने जनजातिका बिचमा पनि कैयौँ प्रकारका भिन्नता छन् । उनीहरूमध्ये नेपालमा सबैभन्दा पहिले बसोबास गरेको जनजाति कुन हो ? त्यो पत्ता लगाउन कैयौँ ऐतिहासिक अध्ययन र अनुसन्धान गर्नुपर्ने आवश्यकता छ । त्यो विषयमा अध्ययन–अनुसन्धान धेरै नै कम भएको छ । हामीले आशा गर्नुपर्दछ, आगामी दिनमा गहन र विस्तृत प्रकारले अध्ययन र अनुसन्धान गरिनेछ र त्यसरी हामी सत्यको अरू धेरै नजिक पुग्नेछौँ ।

    धेरैतिरबाट यो कुरा थाहा भइसकेको छ कि नेपालमा पहिले ढुङ्गेयुगीन मानिस बस्दथे । उनीहरूका अवशेष नेपालका विभिन्न भागमा पाइएका छन् । एक जना जर्मन भूगर्भशास्त्री महिला डा. गुडरनले दाङदेउखुरीको उपत्यकाबारे विस्तृत अध्ययन गरेर त्यहाँ ढुङ्गेयुगीन मानव बस्ने गरेको निष्कर्ष निकालेकी थिइन् । त्यस प्रसङ्गमा यो कुराको उल्लेख गर्नु पनि सायद अप्रासङ्गिक हुने छैन कि आफ्‌नो अध्ययनबारे उनले तयार पारेका नोट त्यो बेलाको मद्रासमा चोरी भएका थिए । पछि महाराष्ट्रको पुणेमा उनको दाङदेउखुरीको ढुङ्गेयुगीन अध्ययनसम्बन्धी पाण्डलिपि कब्जा गर्न उनीमाथि आक्रमण गरिएको थियो र उनको हत्या पनि गरिएको थियो । यसरी उनलाई एउटी भूगर्भशास्त्रीय सहिद मान्न सकिन्छ ।

    नेपालको भूगर्भशास्त्रीय अध्ययनमा उनको ठुलो देन रहेको छ । उनले नेपालको ढुङ्गेयुगीन सभ्यताको अध्ययन गरेर जुन तथ्य पत्ता लगाएकी थिइन्, उनका नोटको चोरी र उनको पाण्डुलिपिको अपहरणका लागि उनको हत्याका कारणले ती सबै सामग्री ता प्रकाशमा आउन सकेनन् तैपनि उनको अध्ययनबाट नेपालको ढुङ्गेयुगीन सभ्यताबारे धेरै कुरा ज्ञान भएको छ । यस सन्दर्भमा गम्भीरतापूर्वक यो प्रश्न पनि नउठाईरहन सकिन्न कि दाङदेउखुरीको ढुङ्गेयुगसम्बन्धी उनका नोट र पछि पुणेमा उनको त्यससम्बन्धी पाण्डुलिपीको अपहरण गर्नका लागि उनको जुन हत्या गरियो, त्यो सामान्य अपराधसम्बन्धी घटना मात्र थियो वा नेपालको प्राचीन इतिहासलाई प्रकाशमा आउन नदिनका लागि गरिएको कुनै सुनियोजित षड्यन्त्र ? त्यसबारे अहिलेसम्म कुनै अध्ययन वा अनुसन्धान भएको छैन तर सायद भविष्यमा त्यसको रहस्योदघाटन हुनेछ भनेर हामीले आशा गर्नुपर्दछ । जे होस्, कतिपय शोधकर्ताको अध्ययनबाट दाङदेउखुरीबाहेक नेपालका अन्य कतिपय स्थानमा पनि ढुङ्गेयुगीन मानवका अवशेष फेला परेका छन् ।

    नेपालमा जुन स्थानमा ढुङ्गेयुगीन मानवका अवशेष फेला परेका छन्, त्योबाहेक अहिलेसम्म अध्ययन र अनुसन्धान नभएका नेपालका अन्य धेरै स्थानमा पनि ढुङ्गेयुगीन मानिसको बसोबास भएको सम्भावनालाई अस्वीकार गर्न सकिन्न । डा. गितु गिरीले प्युठानको इतिहास अध्ययनको सिलसिलामा प्युठानका पनि कतिपय स्थानमा ढुङ्गेयुगीन मानिसको बसोबास भएको सम्भावनाबारे विचार प्रकट गर्नुभएको छ ।

    यो लेखमा नेपालका ढुङ्गेयुगिन मानिसको चर्चा गर्नुका पछाडिको अभिप्राय यो जान्नु पनि हो कि नेपालका ती ढुङ्गेयुगीन मानिसका सन्तानबाट नेपालका कतिपय जनजातिको उत्पत्ति भएको त थिएन ? त्यो कुरा सत्य भए त्यस प्रकारका जनजाति को हुन् ? सायद त्यसका लागि अरू गहन अध्ययनको आवश्यकता छ । कतिपय इतिहासकारले थारू जनजाति ढुङ्गेयुगीन मानवको वंशज भएको कुराको पनि उल्लेख गरेका छन् । त्यसबारे अरू विस्तृत अध्ययनविना वा प्रमाणित तथ्यको अभावमा त्यो कुरालाई निश्चित रूपले स्वीकार गर्नु सही र सम्भव दुवै हुने छैन ।

    नेपालका जनजातिमध्ये सम्भवतः कुसुन्डा नै नेपालको सबैभन्दा आदिवासी जनजाति हो । अहिले उनीहरूको सङ्ख्या एकदम सीमित हुन गएको छ तर सायद कुनै दिन त्यो नेपालको ठुलो भागमा फैलिएको थियो । प्राचीनकालमा अहिलेजस्ता राष्ट्रिय सीमा बनेका थिएनन्‌ । त्यसैले त्यसले नेपाल र भारतको पनि ठुलो भूभागमा उनीहरूले परिभ्रमण गर्ने गरेको कुरा निश्चित रूपले मान्न सकिन्छ । जहा“सम्म नेपालको प्रश्न छ, त्यो नेपालको सबैभन्दा पुरानो आदिवासी जनजाति हो । प्राचीनकालमा सबै जाति घुमन्ता नै हुन्थे । किराँत, थारू, मगर, खस आदि सबै घुमन्ता नै थिएँ र त्यहीँ घुमन्ता चरणमा नै उनीहरूले नेपालका विभिन्न भागमा प्रवेश पनि गरेका थिए । पछि उनीहरू सबैले घुमन्ता चरणबाट कृषियुगमा प्रवेश गर्दै गए तर कुसुन्डा अहिलेसम्म पनि घुमन्ता अवस्थामा नै छ । त्यसका त्यही प्रकारका अरू कतिपय जाति अहिले भारतमा पनि पाइन्छन् ।

    सम्भवतः पहिलेका नेपालका विभिन्न घुमन्ता जातिमध्ये थारूले सबैभन्दा पहिले घुमन्ता अवस्थाबाट कृषिमा प्रवेश गरेको थियो । औलोले घर जमाएको तराईमा जङ्गल फाडेर आवाद गर्ने काममा उच्च भूमिका थारू जातिको नै थियो । पहिले उनीहरूका आफ्‌नै ठुलाठुला राज्य पनि थिए तर उनीहरूको मूल वासस्थान कहाँ थियो ? त्यसबारे इतिहासकारमा विवाद छ । उनीहरूमध्ये धेरैले दाङदेउखुरीमा नै आफ्‌नो मूल बासस्थान भएको बताउँछन् तर नेपाल वा भारतका अरू कैयौँ स्थानमा पनि पहिलेदेखि नै उनीहरूको बसोबास भएको देखिन्छ । त्यो अवस्थामा सबै थारू दाङदेउखुरीबाट नै सबैतिर फैलिएको भन्न मुस्किल पर्दछ । निश्चय नै दाङदेउखुरीबाट पनि नेपालमा धेरैतिर उनीहरू फैलिएको वास्तविकतालाई अस्वीकार गर्न सकिन्न ।

    नेपालका विभिन्न जातिमा उनीहरूका पुर्खा भारतको राजस्थानको राजवंशसँग सम्बन्ध भएको देखाउने प्रवृत्ति धेरै नै पाइन्छ । शाह वंशले त्यही प्रकारको सम्बन्ध देखाएर आफ्‌नो महत्व बढाउने प्रयत्न गर्दै आएको छ तर इतिहास शिरोमणि बाबुराम आचार्यले उनीहरूको त्यस प्रकारको दाबी निराधार भएको बताउनुभएको छ । शाहवंशबाहेक अन्य जातिले पनि राजस्थानका राजपुतसित नै आफ्‌नो सम्बन्ध भएको बताउँदै आएका छन् । गुरुङ, मगर र खसले पनि त्यसै गर्दै आएका छन् र थारूमा पनि त्यस प्रकारको प्रवृत्ति पाइन्छ तर मुख्य कुरा यो हो कि उनीहरूको इतिहास अत्यन्त प्राचीन र गौरवपूर्ण रहेको छ र त्यसकारण त्यो इतिहासलाई राजस्थानका राजपुतसँग जोडेर त्यसलाई कृत्रिम प्रकारले महत्व दिन प्रयत्न गर्नु पनि आवश्यक देखिन्न ।

    नेपालका आदिवासी को हुन् र आदिवासी र जनजातिका बिचमा के अन्तर छ ? त्यसबारे गम्भीरतापूर्वक विचार गर्नुपर्ने आवश्यकता हुन जान्छ । आदिवासी भन्नाले नेपालमा धेरै पहिलेदेखि बस्दै आएका जातिलाई नै मान्नुपर्दछ । कुसुन्डा नेपालको आदिवासी हो । त्यो कुरामा कुनै विवादै छैन । त्यही प्रकारले थारू, मगर, गुरुङ, राई, लिम्बु आदि पनि नेपालका आदिवासी भएको कुरामा कुनै शङ्का छैन तर खस, नेवार र मधेसी आदिवासी हुन् कि होइनन् ? त्यसबारे केही विस्तारपूर्वक अध्ययन गर्नुपर्ने आवश्यकता छ । सामान्यतः खसलाई आदिवासी मानिन्न किनभने उनीहरूले धेरै पछि नै नेपालमा प्रवेश गरेको भनिन्छ तर त्यसका साथै उनीहरूले पशुपालनको युगमा नै नेपालमा प्रवेश गरेको, त्यसरी हजारौँ वर्षपहिले नै उनीहरूले नेपालमा प्रवेश गरेको कुरा पनि कैयौँ इतिहासकारले बताउने गरेका छन् । त्यो अवस्थामा त्यसलाई आदिवासी नै मान्नुपर्ने देखिन्छ ।

    नेवारको विषयमा पनि त्यस प्रकारको विवाद देखिन्छ । पहिले हाम्रो पार्टीले नेवारबारे अध्ययन गर्न कामरेड परि थापाको संयोजकत्वमा एउटा आयोग गठन गरेको थियो । त्यसले विस्तृत र गहन अध्ययनपछि नेवार जनजाति नभएको निष्कर्ष निकालेको थियो । मधेसी धेरै पछि आएको हुनाले उनीहरू आदिवासी हुन् वा होइनन् ? त्यसबारे थप अध्ययनको आवश्यकता छ ।

    यो लेखमा हामीले जनजातिलाई समग्र रूपमा लिएर त्यसबारे सही दृष्टिकोण के हो ? त्यसबारे नै प्रकाश हाल्ने प्रयत्न गर्नेछौँ ।

    सर्वप्रथमतः जनजाति समस्याबारे विचार गर्दा हामीले जातिवादी दृष्टिकोणबाट माथि उठ्नुपर्छ । यो कुरा यस्तै हो, जस्तो कि महिला समस्याबारे विचार गर्दा हामी नारीवादी दृष्टिकोणबाट माथि उठ्नुपर्छ । महिला युगौँदेखि शोषित हुँदै आएका छन् र त्यसकारण उनीहरूको मुक्तिका लागि विश्वव्यापी प्रकारले नै सङ्घर्ष गर्नुपर्ने आवश्यकता छ तर समाजमा संसारको कुनै पनि देशमा महिला मात्र शोषित र उत्पीडित छैनन् र उनीहरूप्रति मात्र भेदभाव गर्ने गरिन्न, समाजका अन्य कैयौँ वर्ग वा समूहमाथि पनि शोषण, उत्पीडन वा भेदभाव गर्ने गरिन्छ । त्यसकारण महिलाले आफ्‌नो मुक्तिको लागि एक्लै सङ्घर्ष गरेर सफल हुनु सम्भव छैन । त्यसैले उनीहरूले समाजका सबै शोषितपीडित जनतासित एकताबद्ध भएर सबै प्रकारका शोषण, उत्पीडन वा भेदभावका विरुद्ध सङ्घर्ष गर्नुपर्ने आवश्यकता हुन्छ । त्यही कुरा जनजातिबारे पनि सत्य हो । उनीहरूले पनि आफ्‌नो मुक्तिको लागि एक्लै सङ्घर्ष गर्ने सोच राख्नु सही हुँदैन । त्यस प्रकारको सङ्घर्षद्वारा उनीहरूको मुक्ति सम्भव पनि हुँदैन । उनीहरूले सबै शोषितपीडित जनतासित ऐक्यबद्धता कायम गरेर नै आफ्‌नो मुक्तिको लागि सङ्घर्ष गर्नुपर्दछ । यसको विपरीत एक्लै आफ्‌नो मुक्तिका लागि सङ्घर्ष गर्ने सोचाइ जातिवादी दृष्टिकोण हो । त्यस प्रकारको दृष्टिकोणले उनीहरूलाई मुक्तिको सही दिशामा अगाडि बढाउन सक्दैन ।

    उक्त विषयमा अर्को दृष्टिकोणबाट पनि विचार गर्नुपर्ने आवश्यकता छ । समाजमा किसान, जनजाति, महिला, दलित आदि निम्न वर्ग वा जनसमूहमाथि विभिन्न प्रकारले शोषण उत्पीडन वा भेदभाव गर्ने गरिन्छ । मजदुर वा किसानमाथिको शोषण उत्पीडन वा भेदभाव वर्गीय रूपमा नै गरिन्छ । शोषक वर्ग र उनीहरूका बिचमा वर्गीय रूपमा नै स्पष्ट रेखा खिँचिएको हुन्छ र उनीहरूले वर्गीय रूपमा नै शोषक वर्गका विरुद्ध वर्गसङ्घर्ष गर्दछन् र गर्नु पनि पर्दछ तर त्यही प्रकारको वर्गीय प्रकृति जनजाति, महिला वा दलित जातिका बिचमा हुँदैन । जनजाति महिला वा दलितभित्र पनि वर्गीय विभेद हुन्छ । जनजातिमा पनि एकातिर उच्च वर्ग हुन्छन्, जसले आफ्‌नै जातिभित्रका निम्नवर्गीय मानिसमाथि शोषण उत्पीडन गर्छन् । महिला पनि उच्चवर्गीय र निम्नवर्गीय रूपमा विभाजित हुन्छन् । त्यही कुरा दलितबारे पनि सत्य हो । यो अर्थमा उनीहरूका बिचको त्यस प्रकारको वर्गीय विभेदलाई नगन्य बनाएर जनजाति, महिला वा दलितका समस्यालाई एकतर्फी रूपमा प्रस्तुत गर्नु वा बुझ्नु सही हुने छैन । अर्को शब्दमा बाह्य र प्रकट रूपमा जनजाति, महिला वा दलित एउटै समूहजस्ता देखिन्छन् तर आन्तरिक रूपमा वर्गीय विभेदले उनीहरूका बिचमा अन्तर्विरोध पनि हुन्छ र त्यसले गर्दा उनीहरूका बिचमा परस्परमा सङ्घर्ष पनि चल्ने गरेको हुन्छ ।

    यस सन्दर्भमा महिला र दलितको समस्याबारे एउटा अर्को दृष्टिकोणले पनि विचार गर्नुपर्ने आवश्यकता छ । महिलाहरू दोहोरो प्रकारले पीडित हुने गर्दछन् । उनीहरू एकातिर शोषणप्रधान व्यवस्थाद्वारा पीडित हुने गर्दछन् भने अर्कातिर स्वयम् आफ्‌नै वर्गका पुरुषद्वारा पनि पीडित हुने गर्दछन् । त्यसरी उनीहरू जुनसुकै शोषित वर्गमा भए पनि आफ्‌नै शोषित वर्गका पुरुषद्वारा पीडित हुने गर्दछन् । त्यसरी उनीहरू दोहोरो जाँतोमा पिसिने गर्दछन् ।

    दलितहरूको पनि एक प्रकारले त्यस्तै तर केही बेग्लै प्रकारको अवस्था छ । उनीहरूका बिचमा कैयौँ जातिगत भेद हुन्छन्, उनीहरूका बिचको तल्लो जात र उपल्लो जात वा पानी चल्ने र नचल्ने आदि भेदभावले उनीहरूका बिचमा विभिन्न प्रकारले विभाजन पैदा गरेको हुन्छ । त्यो कारणले उनीहरूका बिचमा अन्तर्विरोध र भेदभाव पनि हुने गर्दछ ।

    एउटा अर्को कारणले पनि महिलाको मुक्ति आन्दोलनको समस्या धेरै नै जटिल र गम्भीर हुन जान्छ । अन्य सबै शोषित पीडित वर्ग वा जनसमूहको पृथक अस्तित्व हुन्छ र त्यसले गर्दा उनीहरूको आन्दोलनलाई बेग्लै र सशक्त प्रकारले अगाडि बढाउन सम्भव हुन्छ तर सबै महिलाहरू जतिसुकै शोषित र उत्पीडित भएको भए पनि पुरुषसित उनीहरू अभिन्न रूपले जोडिएका हुन्छन् । उनीहरू आमा, पत्नी, छोरी आदि विभिन्न नातासम्बन्धको आधारमा पुरुषसित अभिन्न रूपले जोडिएका हुन्छन् र पुरुषभन्दा बेग्लै उनीहरूको वर्गीय, जातिगत वा समूहगत रूपमा कुनै बेग्लै अस्तित्व नै हुँदैन । उनीहरू भावनात्मक रूपले पनि पुरुषसित जोडिएका हुन्छन् । सायद त्यसैको परिणाम हो कि महिलाको महिला मुक्ति आन्दोलन कहिल्यै पनि स्वतन्त्र रूपले अगाडि बढ्न मुस्किल पर्दछ तैपनि महिलाले आफ्‌नो मुक्ति आन्दोलन चलाउँदै आएका छन् र त्यो आन्दोलनको परिणामस्वरूप उनीहरूलाई पहिलेभन्दा धेरै नै स्वतन्त्रता र समानता पनि प्राप्त हुँदै आएको छ तर अहिलेसम्म उनीहरूलाई जुन हक प्राप्त भएको छ, त्यसलाई अरू उच्च रूपमा अगाडि बढाउनुपर्ने आवश्यकता छ र विद्यमान शोषणप्रधान व्यवस्थाको अन्त्यका साथै वा अन्तपछि मात्र उनीहरूलाई पूर्ण स्वतन्त्रता वा समानता प्राप्त हुनेछ ।

    उक्त विभिन्न कारणले जनजाति, महिला वा दलितका बिचमा जुन सङ्कीर्ण दृष्टिकोण देखा पर्ने गर्दछ, त्यसले उनीहरूको आन्दोलनलाई धेरै नै कमजोर पार्दछ । त्यो अवस्थामा उनीहरूको मुक्तिको आन्दोलनलाई सशक्त पार्ने एउटै आधार हुन्छ । त्यो हो– उनीहरू सबैमा उच्च प्रकारको वर्गीय दृष्टिकोणको विकास हुनुपर्दछ र त्यसका आधारमा उनीहरूका बिचमा ऐक्यबद्धता कायम हुनुपर्दछ । यो लेखको प्रधान विषय जनजाति समस्याबारे विचार गर्नु नै हो । त्यसकारण हामीले त्यो विषयसित सम्बन्धित विषयमा नै बढी चर्चा गर्नेछौँ ।

    जनजातिका उच्च वर्गको बढी जोड जातिवादी दृष्टिकोणमा नै हुन्छ । उनीहरूले जातीय आधारमा जनजातिलाई एकताबद्ध गर्ने कुरामा नै बढी जोड दिन्छन् तर त्यसो गर्ने बेलामा उनीहरूले स्वयम् जनजातिका तल्लो वर्गका मानिसलाई शोषण गरिरहेका हुन्छन् । उदाहरणका लागि गुरुङ, मगर, थारूका बिचमा पनि उच्च र तल्लो वर्गको बिचमा भेद हुन्छ र उनीहरूले अन्य जातिको विरोधमा जोड दिने बेलामा आफ्‌ना वर्गीय शोषण र उत्पीडनलाई कायम राख्ने र त्यसका लागि आफ्‌नो जातिभित्रका शोषित जनतालाई दमन गर्ने नै कोसिस गरिरहेका हुन्छन् । त्यसकारण जातिवादी दृष्टिकोणले स्वयम् जनजातिभित्रका शोषित जनताको हितको पनि प्रतिनिधित्व गर्दैन । त्यसकारण उनीहरूले आफ्‌नो मुक्तिको लागि स्वयम् आफ्‌नै जातिभित्रका शोषक वर्गका विरुद्ध वर्गसङ्घर्ष गर्नुपर्ने आवश्यकता हुन्छ । त्यही बिन्दुमा गएर उनीहरूको सबै जातिका शोषित जनताबिचको वर्गीय एकता मजबुत हुन्छ र त्यसरी नै उनीहरूको मुक्ति सम्भव हुन सक्दछ ।

    सबै शोषितपीडित जनताको मुक्तिको प्रश्न विद्यमान शोषणप्रधान समाजको अवस्थासित जोडिएको छ । त्यस प्रकारको समाजव्यवस्था कायम हुँदासम्म सबै जनजातिमा शोषित वर्ग शोषित वा उत्पीडित भइरहन्छन् । त्यस प्रकारको शोषणप्रधान व्यवस्थाको अन्त्यका लागि सबै शोषितपीडित वर्ग वा जनसमूह पनि एकताबद्ध हुनुपर्ने आवश्यकता हुन्छ । त्यो कुरा जनजातिबारे पनि सत्य हो । उनीहरू अहिलेको व्यवस्थाद्वारा पीडित हुन्छन् तर त्यसका साथै उनीहरू आफ्‌नो जातिका उच्च वर्गद्वारा पनि पीडित हुन्छन् । त्यसकारण उनीहरूको मुक्तिको प्रश्न प्रधान रूपमा वर्गीय नै हुन्छ । त्यसकारण उनीहरूले समाजका सबै शोषितपीडित जनतासित वर्गीय एकता कायम गरेर आफ्‌नो आन्दोलनलाई शक्तिशाली बनाउने कोसिस गर्नुपर्छ । उनीहरूले के बुझ्नुपर्दछ भने उनीहरूका आफ्‌नै जातिका मानिस भए पनि जसले उनीहरूमाथि शोषण र उत्पीडन गर्दछन्, उनीहरूका विरुद्ध उनीहरूले त्यस प्रकारका शोषण र उत्पीडनको अन्त्यका लागि सङ्घर्ष गर्नुपर्दछ । त्यसका साथै अन्य जातिका भए पनि शोषितउत्पीडित जनतासित उनीहरूले बलियो एकता कायम गर्नुपर्दछ । अहिले समाजमा जातीय आधारमा जुन विभाजन छ, त्यो स्थायी होइन । समाजको विकासका साथै उनीहरूको बिचको जातीय विभाजनको अन्तर कमजोर वा समाप्त हुँदै जान्छ ।

    पहिले जनजाति बेग्लाबेग्लै स्थानमा एकैसाथ रहने गर्दथे र अन्य जातिसित उनीहरूको घुलमिल कम हुने गर्दथ्यो तर भौगोलिक सामाजिक वा यातायात र सञ्चारका साधनको विकास हुनुका साथै पहिले कुनै एक ठाउँमा सीमित रूपमा बसेका जनजातिको विस्तार हुँदै जान्छ । उनीहरू देशका कैयौँ स्थानमा मात्र होइन, संसारका कैयौँ देशमा पनि उनीहरूको विस्तार हुँदै जान्छ । त्यो क्रममा उनीहरूको अन्तरजातीय विवाह पनि हुँदै जान्छ । त्यसबारे परम्परागत रूपमा लगाइएका रगत वा जातिगत बन्धन टुट्दै जान्छन् । त्यसको परिणामस्वरूप पहिले सीमित भौगोलिक क्षेत्रमा बस्दा उनीहरूमा रहेको जातिगत वा सामाजिक सङ्कीर्णताले उदार र सामाजिक रूप लिँदै जान्छ र त्यसको परिणामस्वरूप उनीहरूको भाषा सामाजिक सम्बन्ध र चिन्तन प्रक्रिया पनि उदार हुँदै जान्छ । त्यो क्रममा कैयौँ जनजातिको पृथक रूप समाप्त हुँदै जान्छ र उनीहरू पूरै समाज वा राष्ट्रसित एकाकार हुँदै जान्छन् । यो क्रममा कैयौँ जाति मिलेर राष्ट्रको निर्माण हुन्छ तर कट्टर जातिवादीले आफ्‌नो वर्गीय स्वार्थ पूरा गर्नका लागि सधैँ जातीय पृथकतालाई कायम राख्ने प्रयत्न गरिरहन्छन् । उनीहरूको त्यस प्रकारको प्रयत्नले भौतिक वा सामाजिक परिवर्तनसित मेल खाँदैन र सबै जातिका बिचको पृथकता समाप्त हुँदै जान्छ । त्यसले वर्गीय रूप लिँदै जान्छ । त्यसरी समाजको प्रधान पक्ष जातीय होइन, वर्गीय बन्दै जान्छ । त्यो क्रममा बढ्दै जाने वर्गीय एकताले वर्गसङ्घर्षलाई बढाउँदै लैजान्छ र त्यसरी वर्तमान शोषणप्रधान समाजको अन्तका लागि बलियो आधार तयार हुँदै जान्छ ।

    यस सन्दर्भमा जातिवाद र क्षेत्रीयतावादका बिचको अन्तरबारे पनि हामीले केही बुझ्नुपर्ने आवश्यकता छ । तराईमा पहिले किसान आन्दोलन धेरै शक्तिशाली थियो र त्यहाँ वर्गसङ्घर्षले उच्च रूप लिएको थियो । त्यहाँका जमिनदारहरू पहाडी र मधेसी दुवै प्रकारका हुन्थे र अहिले पनि छन् । त्यहाँको किसान आन्दोलन विनाभेदभाव पहाडी र मधेसी जमिन्दारका विरुद्ध चलेको थियो तर पछि तराईमा क्षेत्रीयतावादको विकास हुँदै गयो । त्यहाँ पहाडी र मधेसीको भेदभावलाई बढाउने काम गरियो । यस प्रकारको क्षेत्रीयतावादी सोचाइका कारणले तराईको वर्गसङ्घर्षको पक्ष कमजोर हुँदै गयो र क्षेत्रीयतावादी सोचाइ बढ्दै गयो । त्यस प्रकारको सोचाइबाट तराईको सामन्ती प्रथालाई धेरै मदत पुग्यो । त्यहाँका जमिन्दारको हातमा वर्गसङ्घर्षलाई समाप्त गर्नका लागि क्षेत्रीयतावाद ठुलो हतियार बन्न गयो । अहिले त्यहाँ खालि जमिन्दारमा मात्र होइन, आमकिसानमा पनि ठुलो पैमानामा क्षेत्रीयतावादले ठुलो घर जमाएको पाइन्छ ।

    जनजातिप्रतिका सबै प्रकारका भेदभाव, उनीहरूको भाषा वा संस्कृतिमा गरिएको नियन्त्रणलाई हटाउँदै जानुपर्छ । त्यसका साथै हाम्रो मुख्य जोड समाजमा विद्यमान सबै प्रकारका शोषण, उन्पीडन वा भेदभाव विरुद्ध सङ्घर्ष र त्यसका लागि सबै प्रकारका जातिवादी वा क्षेत्रीयतावादी सङ्कीर्णताबाट माथि उठेर व्यापक एकता गर्नेतिर नै हुनुपर्छ । त्यसरी नै समाजको वास्तविक मुक्ति सम्भव छ ।

    जनजाति र आदिवासी को हुन् ? यो प्रश्नमा पनि विवाद हुने गरेको छ । आदिवासी भन्नाले कुनै देशमा लामो समयदेखि बसोबास गर्दै आएका बासिन्दालाई नै मान्नुपर्दछ । अहिले नेपालमा आदिवासी र जनजातिलाई समान रूपमा मान्ने सोचाइ पनि पाइन्छ तर त्यो सोचाइ सही होइन । आदिवासी भन्नाले कुनै देशमा कति लामो समयदेखि बस्दै आएको छ ? त्यसको आधारमा नै निर्धारण गरिनुपर्दछ तर त्यस प्रकारको आदिवासीको विकास हुँदै गयो भने त्यो जनजाति अवस्थामा नरहेको पनि हुन सक्दछ । उदाहरणका लागि कतिपय इतिहासकारले खसले किराँत जातिले जस्तै अतिप्राचीन कालमा नेपालमा प्रवेश गरेको बताउने गरेका छन् । त्यो अवस्थामा त्यसलाई नेपालको आदिवासी मान्नुपर्ने हुनजान्छ तर त्यसको आर्थिक र राजनीतिक रूपमा जसरी विकास हुँदै आयो, त्यसपछि त्यो जनजातिको रूपमा रहन जान्न । त्यही प्रकारले नेवार जातिको पनि राजनीतिक वा आर्थिक रूपमा जसरी विकास हुँदै गयो, त्यो अवस्थामा त्यसलाई जनजाति मान्न सकिन्न । त्यही प्रकारले थकाली, गुरुङ आदिको पनि उच्च रूपमा विकास हुँदै गएको छ । त्यो अवस्थामा उनीहरूलाई जनजाति मान्न सकिन्छ कि सकिन्न ? त्यसबारे कुनै निर्णयमा पुग्नुभन्दा पहिले त्यो प्रश्नमा उनीहरूको सामाजिक वा आर्थिक प्रकारले गहन अध्ययन गर्नुपर्ने आवश्यकता हुन्छ ।

    संसारभरि नै आदिवासी वा जनजातिबारे विस्तृत रूपले अध्ययन हुँदै गएको छ । मार्क्सवादी–लेनिनवादी सिद्धान्तले पनि त्यसबारे विस्तृत अध्ययन गर्दै आएको छ । त्यसकारण त्यसबारे हचुवा प्रकारले विचार गर्नु सही हुने छैन ।

    कतिपय जातिले राज्यबाट विशेष सुविधा प्राप्त गर्नको लागि पनि आफूलाई जनजातिको रूपमा परिभाषित गर्ने प्रयत्न गरेको पाइन्छ तर त्यस प्रकारको सोचाइलाई सही भन्न सकिन्न । त्यसकारण त्यसबारे वैज्ञानिक वा समाजशास्त्रीय दृष्टिकोणले तथ्यगत आधारमा विश्लेषण गरेर नै कुनै निष्कर्षमा पुग्नु सही हुनेछ ।

    अन्यमा विभिन्न शोषित, उत्पीडित वर्ग जाति वा जनसमूहको राजनीति वा राजनीतिक पार्टीसितको सम्बन्धबारे पनि केही विचार गर्नुपर्ने आवश्यकता छ । ती बेग्लाबेग्लै वर्ग, जाति वा समूहलाई राजनीति वा राजनीतिक पार्टीबाट अलग गर्नेबारे कैयौँ कोणबाट प्रयत्न गर्ने गरेको पाइन्छ तर त्यो सही विचार होइन । खास गरेर साम्राज्यवादी शक्तिद्वारा सञ्चालित एनजिओ/आइएनजिओले त्यस प्रकारको प्रचारमा बढी जोड दिने गर्दछन् । त्यसका पछाडिको उनीहरूको उद्देश्य जनतालाई राजनीतिबाट अलग गर्नुका साथै साम्राज्यवादको प्रभावमा लैजानु नै हुन्छ । त्यसका लागि उनीहरूले सामाजिक सुधार वा विकासका पनि कैयौँ कार्यक्रममा पनि जोड दिन्छन् र त्यस प्रकारका कैयौँ कार्यक्रमलाई सफल पार्न आर्थिक मदत गर्ने र सफलतापूर्वक कार्यान्वयन गर्ने पनि प्रयत्न गर्दछन् तर त्यसका पछाडि उनीहरूको मुख्य उद्देश्य साम्राज्यवादको सेवा नै हुन्छ । त्यस सन्दर्भमा उनीहरूले धर्मलाई पनि ठुलो पैमानामा प्रयोग गर्ने गर्दछन् । साम्राज्यवादीले खास गरेर इसाई धर्मलाई विश्वव्यापी रूपमा नै प्रयोग गर्ने गरेका छन् र नेपालमा पनि त्यसको प्रचारप्रसार धेरै नै भइरहेको छ । अब यो स्पष्ट हुँदै गइरहेको छ कि एनजिओ/आइएनजिओद्वारा समाज सेवा र विकास कार्यक्रम वा इसाई धर्मको प्रचारप्रसार पछाडिको मुख्य उद्देश्य साम्राज्यवादको सेवा नै हो । अब नेपालमा पनि त्यो कुरा व्यावहारिक रूपले नै धेरै स्पष्ट भइसकेको छ ।

    राजनीति वा राजनीतिक पार्टीको कुरा गर्दा हामीले त्यसबारे निरपेक्ष रूपले विचार गर्न हुँदैन । राजनीति वा राजनीतिक पार्टीहरूले पनि बेग्लाबेग्लै विचार वा वर्गीय स्वार्थको प्रतिनिधित्व गर्छन् । उदाहरणका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि आफूलाई एउटा बेग्लै राजनीतिक पार्टी भएको दावी गर्दछ तर त्यसको मुख्य उद्देश्य प्रतिगमनको सेवा वा राजतन्त्रको पुनर्स्थापना नै हो । त्यही प्रकारले देशमा भारतीय साम्राज्यवाद वा अमेरिकी साम्राज्यवादको सेवा गर्ने पनि कैयौँ राजनीतिक पार्टी वा सङ्गठन बनेका छन् । त्यही प्रकारले समाजमा विभिन्न शोषक वर्गका स्वार्थरक्षाका लागि पनि कैयौँ राजनीतिक सङ्गठन बनेका हुन्छन् । उनीहरूको मुख्य उद्देश्य यथास्थितिको रक्षा गर्ने नै हुन्छ । कम्युनिस्ट पार्टीको उद्देश्य सबै प्रकारका शोषण, उत्पीडन, भेदभावको अन्त्य गरेर शोषित वर्गको सेवा गर्नु वा विद्यमान स्थितिमा आमूल परिवर्तन गर्नु हुन्छ तर उनीहरूमा देखा पर्ने विभिन्न प्रकारका भड्काव वा अवसरवादी सोचाइका कारणले उनीहरूमा पनि कैयौँ प्रकारका विचलन आएका हुन्छन् र उनीहरू आफ्‌नो उद्देश्य वा नीतिप्रति इमानदारितापूर्वक काम गर्न सकिरहेका हुँदैनन् । जनजातिले समाजमा विद्यमान त्यस प्रकारका विभिन्न राजनीतिक प्रवृत्तिलाई ठिकसँग चिनेर उनीहरूप्रति आफ्‌नो दृष्टिकोण निश्चित गर्दै जानुपर्छ । त्यसको अर्थ यो हो– राजनीति वा राजनीतिक पार्टीलाई पूरै निषेध गर्ने विचार गलत हो भने उनीहरूप्रति कुनै नीति अपनाउँदा पनि सही विश्लेषण गरेर उनीहरूप्रति बेग्लाबेग्लै प्रकारले नीति अपनाउँदै जानुपर्छ र जनजातिले पनि त्यसरी नै बेग्लाबेग्लै प्रकारको राजनीति वा राजनीतिक पार्टीप्रतिको आफ्‌नो दृष्टिकोण निश्चित गर्नुपर्दछ ।

    २०८३ जेठ १२ गते

    आइतबार, साउन १०, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली राजनीति र नियति
    धर्मप्रति मजदुरको धारणा
    राष्ट्रिय सार्वभौमिकतासामु अमेरिकी हस्तक्षेप बढ्दो
    दाङबाङ : पहिचान, भूगोल र सम्भावना
    रसुवाबाढीसम्बन्धी २९ तथ्यको निष्कर्ष : ‘ग्लोबल वार्मिङ’ नियन्त्रण गरौँ
    हरेक चुनौतीको सामना गर्दै निरन्तर अगाडि बढ्नेछौँ

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

    भर्खरै

    • १.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • २.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ३.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ४.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ५.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ६.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ७.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    • ८.
      सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.