• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ


  •   आइतबार, साउन १०, २०८३ मा प्रकाशित
  • — समीर सिंह

    Advertisement

    भारतलाई नेपालमा प्रायः साम्राज्यवादी वा विस्तारवादी राज्यका रूपमा बुझ्ने गरिन्छ। भारतीय राज्यको वर्गीय चरित्र, क्षेत्रीय प्रभुत्व वा विस्तारवादी नीतिबारे विभिन्न राजनीतिक धाराहरूबीच मतभेद हुनु स्वाभाविक हो। तर यस लेखको उद्देश्य त्यस बहसलाई पुनः दोहोर्याउनु होइन। बरु, भारतीय राज्यको आलोचना गर्दै आएका प्रगतिशील विद्यार्थी आन्दोलनभित्र विकसित भएका केही सकारात्मक राजनीतिक तथा संगठनात्मक अनुभवबाट नेपालले के सिक्न सक्छ भन्ने प्रश्न उठाउनु यस लेखको मूल अभिप्राय हो।

    नेपालमा भदौ २३ र २४ गते भएको ‘जेन–२ (Gen-2)’ आन्दोलनपछि एउटा विश्लेषण व्यापक रूपमा सार्वजनिक भयो। त्यसअनुसार भदौ २३ गते युवाहरूले भ्रष्टाचारविरुद्ध स्वतःस्फूर्त आन्दोलनको थालनी गरे, तर भदौ २४ गतेदेखि आन्दोलन आफ्नो मूल उद्देश्यबाट विचलित हुँदै अन्य राजनीतिक शक्तिको प्रभावमा पुग्यो। यो निष्कर्षसँग सबै सहमत नहुन सक्छन्, तर यसले एउटा गम्भीर प्रश्न भने अनिवार्य रूपमा उठाउँछ—नेपालमा स्वतःस्फूर्त जनआन्दोलनहरू किन अपेक्षाकृत छिट्टै दिशाहीन हुने वा बाह्य प्रभावमा पर्ने गर्छन्, जबकि भारतमा लामो समयसम्म चल्ने धेरै विद्यार्थी आन्दोलनहरूले आफ्नो वैचारिक दिशा, संगठनात्मक एकता र राजनीतिक उद्देश्यलाई तुलनात्मक रूपमा जोगाइराख्न सफल भएका देखिन्छन्?

    यस प्रश्नको उत्तर आन्दोलनको संगठनात्मक संरचना, वैचारिक तयारी र नेतृत्व विकासको प्रक्रियामा खोज्न आवश्यक छ। भारतमा हालै शिक्षा नीतिको विरोधमा सञ्चालन भएको करिब २६ दिने विद्यार्थी आन्दोलन यसको एउटा उदाहरण हो। आन्दोलन कुनै एक व्यक्तिको लोकप्रियता वा क्षणिक जनआक्रोशमा मात्र आधारित थिएन। सामाजिक अभियन्ता सोनम वाङचुक, विभिन्न प्रगतिशील विद्यार्थी संगठन तथा वामपन्थी राजनीतिक धारासँग आबद्ध विद्यार्थी नेतृत्वले आन्दोलनलाई वैचारिक स्पष्टता, संगठनात्मक अनुशासन र दीर्घकालीन राजनीतिक उद्देश्यसँग जोड्ने प्रयास गरे। त्यसैले आन्दोलन केवल विरोधमा सीमित रहेन; उसले शिक्षा नीति, लोकतान्त्रिक अधिकार र राज्यको उत्तरदायित्वबारे राष्ट्रिय बहस सिर्जना गर्न पनि सफलता हासिल गर्‍यो।

    विशेष रूपमा अखिल भारतीय विद्यार्थी संघ (AISA) की राष्ट्रिय अध्यक्ष तथा जवाहरलाल नेहरू विश्वविद्यालय (JNU) की पीएचडी शोधार्थी नेहा बोराको भूमिका उल्लेखनीय रह्यो। उनले २३ दिनसम्मको भोक हडतालमा सहभागी हुँदै आन्दोलनलाई नैतिक तथा राजनीतिक नेतृत्व प्रदान गरिन्। आन्दोलनको क्रममा उनका सार्वजनिक अभिव्यक्ति, वैचारिक स्पष्टता र राष्ट्रिय नेतृत्वसँगको संवादले आन्दोलनलाई केवल भावनात्मक प्रतिरोधमा सीमित राखेन, बरु त्यसलाई नीति र विचारको तहसम्म पुर्‍यायो। दिल्लीको जन्तर–मन्तरदेखि बिहारको पटनासम्म भएका आन्दोलनहरूमा पनि संगठित विद्यार्थी शक्तिको यही विशेषता स्पष्ट रूपमा देखियो।

    यसबाट एउटा महत्त्वपूर्ण राजनीतिक निष्कर्ष निकाल्न सकिन्छ। कुनै पनि आन्दोलनको प्रारम्भिक ऊर्जा जनआक्रोशबाट प्राप्त हुन सक्छ, तर त्यसको दीर्घायु र प्रभावकारिता स्वतःस्फूर्तताले मात्र सुनिश्चित गर्न सक्दैन। आन्दोलनलाई स्पष्ट राजनीतिक उद्देश्य, वैचारिक दिशा, प्रशिक्षित नेतृत्व र संगठनात्मक अनुशासनले मात्र दीर्घकालीन सामाजिक शक्तिमा रूपान्तरण गर्न सक्छ। अन्यथा, आन्दोलन क्षणिक आवेगमा सीमित हुने, नेतृत्वविहीन बन्ने वा अवसरवादी शक्तिहरूको प्रभावमा पर्ने जोखिम रहिरहन्छ।

    नेपालको सन्दर्भमा यही पक्ष सबैभन्दा कमजोर देखिन्छ। विश्वविद्यालयहरूमा प्रगतिशील विद्यार्थी संगठनहरूको उपस्थिति र निर्वाचनमा उनीहरूको प्रभाव उल्लेखनीय भए पनि विश्वविद्यालय राजनीतिलाई समाजसँग जोड्ने वैचारिक हस्तक्षेप भने क्रमशः कमजोर हुँदै गएको अनुभव हुन्छ। विद्यार्थी आन्दोलनहरू प्रायः निर्वाचन, भागबन्डा वा दलगत प्रतिस्पर्धामा सीमित देखिन्छन्। फलतः उनीहरूको सामाजिक विश्वसनीयता र नैतिक प्रभाव दुवै खस्किँदै गएको छ।

    यसको विपरीत, भारतका केही विश्वविद्यालय—विशेषतः जवाहरलाल नेहरू विश्वविद्यालय (JNU)—मा विद्यार्थी संगठनहरूले लामो समयदेखि अध्ययन, बहस, अनुसन्धान, सामाजिक आन्दोलन र लोकतान्त्रिक अधिकारको प्रश्नलाई विश्वविद्यालय राजनीतिसँग जोड्दै आएका छन्। यही कारण उनीहरू केवल क्याम्पसभित्रका प्रतिनिधि मात्र होइन, राष्ट्रिय सार्वजनिक बहसका पनि प्रभावशाली सहभागी बन्न सफल भएका छन्। यसलाई कुनै आदर्शीकरणका रूपमा होइन, आन्दोलनको संगठनात्मक विकासको एउटा अनुभवका रूपमा बुझ्नुपर्छ।

    विद्यार्थी आन्दोलनभन्दा बाहिर पनि भारतीय प्रगतिशील साहित्य, कला र सांस्कृतिक आन्दोलनले दक्षिण एसियाको लोकतान्त्रिक तथा वामपन्थी चिन्तनलाई समृद्ध बनाएको छ। प्रेमचन्द, राहुल सांकृत्यायन, गोरख पाण्डेय, कैफी आजमी, वरवरा रावलगायतका स्रष्टाहरूले साहित्यलाई केवल कलात्मक अभिव्यक्तिको माध्यम मात्र होइन, सामाजिक परिवर्तनको चेतनासँग जोड्ने काम गरे। उनीहरूले निर्माण गरेको वैचारिक परम्पराले आन्दोलनलाई सांस्कृतिक गहिराइ प्रदान गरेको छ। नेपाली प्रगतिशील आन्दोलनका लागि पनि यो अनुभव अध्ययनयोग्य छ।

    यसको अर्थ भारतीय आन्दोलनका सबै पक्ष अनुकरणीय छन् वा नेपाली आन्दोलन पूर्णतः असफल छन् भन्ने होइन। भारतीय विद्यार्थी आन्दोलन स्वयं पनि राज्यको दमन, वैचारिक विभाजन र संगठनात्मक चुनौतीबाट मुक्त छैन। त्यस्तै, नेपालका आन्दोलनहरूले पनि ऐतिहासिक परिवर्तनमा महत्त्वपूर्ण भूमिका खेलेका छन्। तर कुनै पनि आन्दोलनको मूल्याङ्कन आत्मप्रशंसाबाट होइन, आत्मालोचनाबाट सुरु हुन्छ। जहाँ कमजोरी छ, त्यसलाई स्वीकार गर्ने र जहाँ सकारात्मक अनुभव छ, त्यहाँबाट सिक्ने बौद्धिक इमानदारिता नै प्रगतिशील राजनीतिको आधार हो।

    आज नेपालका विद्यार्थी आन्दोलनसामु सबैभन्दा ठूलो चुनौती सडकमा भीड उतार्ने होइन; भीडलाई विचारमा रूपान्तरण गर्ने, असन्तुष्टिलाई वैकल्पिक राजनीतिक चेतनामा विकसित गर्ने र आन्दोलनलाई क्षणिक प्रतिरोधबाट दीर्घकालीन सामाजिक रूपान्तरणको अभियानमा बदल्ने हो। त्यसका लागि वैचारिक स्पष्टता, संगठनात्मक अनुशासन, लोकतान्त्रिक संस्कार, नैतिक नेतृत्व र जनउत्तरदायित्व अपरिहार्य छन्।

    अन्ततः आन्दोलनको शक्ति केवल सडकमा उपस्थित जनसमुदायको संख्याले मापन हुँदैन। आन्दोलनको वास्तविक शक्ति त्यसलाई दिशा दिने विचार, त्यसलाई निरन्तरता दिने संगठन, त्यसलाई विश्वासयोग्य बनाउने नैतिक नेतृत्व र त्यसलाई जनजीवनसँग जोड्ने राजनीतिक दृष्टिले निर्धारण हुन्छ। यही अर्थमा भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनका केही सकारात्मक अनुभव नेपालका लागि अध्ययन र आत्मसात् गर्न योग्य छन्। सिक्नु आत्मसमर्पण होइन; बरु आफ्ना कमजोरी सच्याउँदै अझ परिपक्व लोकतान्त्रिक र प्रगतिशील आन्दोलन निर्माण गर्ने बौद्धिक साहस हो।

    आइतबार, साउन १०, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न
    जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • २.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ३.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ४.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ५.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ६.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ७.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ८.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.