बेनी । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको नागढुङ्गादेखि काभ्रे खण्डमा चार वर्षपछि सडक निर्माण पुन: प्रारम्भ भएको छ ।
२०७६ चैतमा कोरोना महामारी फैलिएपछि रोकिएको अन्नपूर्ण गाउँपालिका–२ नागढुङ्गादेखि वडा नम्बर ३ को काभ्रे खण्डमा सडक निर्माणको काम यसै महिनादेखि सुरु भएको हो ।
नागढुङ्गा–काभ्रे खण्डको सडक विस्तार र कालोपत्रका लागि सञ्चालित योजनाका ठेकेदार चार वर्षपछि काममा फर्किएको अन्नपूर्ण गाउँपालिका–३ का वडाध्यक्ष रमेश पुर्जाले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो– “‘लामो समयको प्रतीक्षापछि ठेकेदार काममा फर्किएकाले सडकको अवस्था सुधार हुने अपेक्षा गरेका छौँ । निर्माणलाई गति दिन सहजीकरण र समन्वय गरिरहेका छौँ ।’
विसं २०७४ सालमा निर्माण कम्पनी शर्मा–गजुरमुखी नागढुङ्गा–कैकुखोला खण्डको १६ दशमलव ५ किलोमिटर सडक कालोपत्रसहित स्तरोन्नति गर्न ठेक्का सम्झौता गरेको थियो ।
२०७७ असार र साउन महिनाको पहिरोको तथा कालीगण्डकी नदीको कटानका कारण नागढुङ्गा–काभ्रे खण्डको सडकमा क्षति भएको थियो ।
पहिरोपछि बिमा दाबी प्रक्रियामा भएको ढिलाइले रोकिएको सडक निर्माणलाई पुन: थालिएको शर्मा–गजुरमुखीका आयोजना व्यवस्थापक नरेन्द्र न्यौपानेले बताउनुभयो ।
‘आगामी जेठ महिनाभित्र सडक निर्माणलाई पूर्णता दिने कार्ययोजनाका लागि उपकरण, मजदुर परिचालन गरेका छौँ’ उहाँले भन्नुभयो– ‘हाल एक सय १० जना मजदुर, चारओटा ब्रेकरसहितको डोजरलगायत आवश्यक उपकरण निर्माणस्थलमा ल्याइएको छ ।’
विसं २०७६ मा निर्माण सकिनुपर्ने यो सडकको निर्माण अवधिसँगै लागत पनि बढेको छ । पछिल्लोपटक भएको भेरियसन अर्डरसहित लागत रु ६३ करोड पुगेको छ ।
हालसम्म ६५ प्रतिशत भौतिक प्रगति भएको बेनी–जोमसोम–कोरला सडक योजनाका इञ्जिनियर विष्णु चापागाईंले बताउनुभयो ।
घाँसा–कैकुखोला खण्डको दुई किलोमिटर सडकमा डिबिएसडी प्रविधिको कालोपत्र गर्ने काम सकिएको छ ।
म्याग्दी र मुस्ताङको सिमानामा पर्ने काभ्रे र बाँदरजुङभिर क्षेत्रमा करिब एक किलोमिटर दुरीमा विस्फोटक पदार्थको प्रयोग गरी सडकलाई आठ मिटर फराकिलो बनाएर ढलान गरिएको छ । सोही सडकमा छ सय मिटर ढलानको तयारी गरिएको छ । पहिरो र कटानको उच्च जोखिमका कारण विभिन्न ठाउँमा २ दशमलव ५ किलोमिटर सडकलाई कालोपत्रबाट झिकिएको छ । नागढुङ्गा–काभ्रे खण्डमा ८ दशमलव ५ किलोमिटर दुरीमा डिबिएसडी प्रविधिको कालोपत्र गर्ने तयारी भएको हो ।
बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत म्याग्दीको बेगखोला–नागढुङ्गा खण्डको करिब १० किलोमिटर सडक पनि कालोपत्र सुरु भएको छ । शर्मा–युनाइटेड कम्पनीले ठेक्का लिएको यो सडकको नागढुङ्गादेखि बेगखोलातर्फ प्राइम कोड बिछ्याउन थालिएको हो । यो खण्डमा सडक विस्तार, नाली, पर्खाल निर्माण सकेर बेस र सबबेससँगै प्राइम कोड बिछ्याउने काम भइरहेको आयोजनाले जनाएको छ ।
राहुघाट–बेगखोला खण्डको राहुपारेदेखि कुनौटासम्म छ किलोमिटर सडक चार वर्षअघिनै कालोपत्र भए पनि धेरै ठाउँमा जीर्ण बनिसकेको छ । राहुघाट–बेगखोला खण्डको बाँकी भाग स्तरोन्नति र कालोपत्रको कामलाई नागढुङ्गा–बेगखोलाको काम सकेपछि पूर्णता दिने निर्माण कम्पनीले जनाएको छ ।
भारत र चीनलाई जोड्ने चार सय ३५ किलोमिटर लामो कालीगण्डकी करिडोर सडकलाई गण्डकी प्रदेशको भाग्यरेखा मानिएको छ ।
पर्वतको मालढुुङ्गादेखि म्याग्दी हुँदै मुुस्ताङस्थित चीनको स्वशासित क्षेत्र तिब्बतको कोरला नाका जोड्ने दुई सय दुई किलोमिटरसडक दुुई लेनको कालोपत्र र ग्राभेल बनाउन विसं २०७३/७४ देखि सुुरु भएको योजनाको हालसम्म ७५ प्रतिशत भौतिक प्रगति भएको छ ।
उक्त सडकको छ खण्डमा ८५ किलोमिटर ग्राभेल र तीन खण्डमा १९ किलोमिटर कालोपत्रे गरिएको छ । उक्त सडक योजनाअन्तर्गत १३ ओटा पक्की पुल र तीन ओटा बेलिब्रिज निर्माण भएका छन् ।