जनकपुर । नेपाल रेल्वेले जाडो मौसममा नयाँ समयतालिका निर्धारण गरी रेल सेवा सञ्चालन गर्ने जनाएको छ ।
भारतको जयनगरबाट जनकपुरधामसम्म, जनकपुरधामबाट बिजलपुरासम्म सञ्चालन भइरहेको नेपाल रेल सेवा आगामी मङ्सिर १ गतेदेखि हालको समयतालिकामा परिवर्तन गरी सञ्चालन गर्ने नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक निरञ्जनकुमार झाले जानकारी दिनुभयो ।
मङ्सिरदेखि चिसो बढ्ने र दिउँसोको समय छोटो हुने हुँदा यात्रुको सुविधालाई ध्यानमा राखी हालको समयतालिकामा परिवर्तन गरिएको उहाँको भनाइ छ । दैनिक आउजाउ गरी छपटक सञ्चालन भइरहेको रेल भङ्गाहा (बिजलपुरा) जयनगर खण्डमा पूर्ववत दैनिक एक सेवा सञ्चालन हुने छ ।
जनकपुरधाम–जयनगर खण्डमा दैनिक तीन सेवा सञ्चालन यथावत रहेको छ ।
महाप्रबन्धक झाले भन्नुभयो– ‘चिसो मौसमका कारण यात्रुको सुविधा र स्वास्थ्यलाई मध्यनजर गरी समय मात्र परिवर्तन गरिएको छ ।’
परिवर्तन गरिएको नयाँ तालिकाअनुसार रेल सेवाको पहिलो ट्रिप रेल भङ्गहाबाट (बिजलपुरा) बिहान ७:३० प्रस्थान र जयनगर ९:१५ पुग्ने र अन्तिम जयनगरबाट दिउँसो ४:१५ बाट चल्ने रेल साँझ ७:१५ बजे भङ्गहा आइपुगेर रात्रि विश्राम बस्ने नेपाल रेल्वे कम्पनी लिमिटेड केन्द्रीय कार्यालय जनकपुरधामले जनाएको छ ।
त्यस्तै, जयनगरबाट बिहान १० बजे प्रस्थान गर्ने रेल जनकपुरधाम ११:१५ बजे पुग्ने र सोही रेल जनकपुरधामबाट बिहान ११:४५ बजे चल्ने रेल जयनगर दिउँसो १:१५ बजे पुग्ने जनाएको छ ।
त्यसैगरी, फेरि जयनगरबाट दिउँसो १:४५ बाट चल्ने रेल जनकपुरधाम दिउँसो ३:१० बजे आइपुग्ने र सोही रेल पुन: जनकपुरधामबाट दिउँसो ३:१५ बजे सञ्चालन भई दिउँसो ४:४० बजे जयनगर पुग्ने नेपाल रेल्वे कम्पनी जनकपुरधामका कर्मचारी रञ्जितकुमार ठाकुरले जानकारी दिनुभयो ।
दिउँसो ४:४५ बजे जयनगरबाट बिजलपुराका लागि अन्तिम रेल सेवा सञ्चालन हुने उहाँले बताउनुभयो । यो रेल साँझ ७:१५ बजे भङ्गहा (बिजपुरा) पुगेर रात्रि विश्राम बस्ने छ ।
यस रेल विस्तार परियोजनाको प्रथम चरणमा जयनगर–जनकपुर कुर्था ३५ किलोमिटर, दोस्रो चरणमा धनुषाको कुर्थाबाट महोत्तरीको बिजलपुरा भङ्गाहासम्म १७ दशमलव पाँच किलोमिटर रेलको लिक तयार भएको छ । तेस्रो चरणमा बिजलपुरा भङ्गाहाबाट बर्दिबाससम्म १८ किलोमिटर खण्डमा रेल सेवा सञ्चालनका लागि लिक निर्माण भइरहेको छ ।
वि.सं. १९९४ मा जुद्धसमसेरका पालामा सुरु भएको बिजलपुरा–जनकपुर–जयनगर ५२ किमी रेलमार्ग २०५८ सालमा बाढीले बिग्हिपुल (लोहारपट्टी, महोत्तरी) भत्काएपछि जनकपुर–जयनगर ३५ किलोमिटरमा सीमित भएको थियो ।
नेपालमा पहिलो रेल सेवा वि.सं. १९८४ सालमा चन्द्रशम्शेरको पालामा रक्सौल–अमलेखगञ्ज सुरु भएको थियो । अहिले सञ्चालन भइरहेको नेपाली रेल २०७७ असोज २ गते भारतीय रेल्वे कम्पनी कोकर्ण कर्पोरेसनसँग रु ८४ करोड ६५ लाखमा दुई सेट डेमो ट्रेन (डिजेल इलेक्ट्रिक मल्टिपल युनिट) खरिद गरी ल्याइएको थियो । सो रेलमा एक हजार दुई सयदेखि एक हजार तीन सय यात्रुले यात्रा गर्न सक्ने बताइएको छ । (रासस)





