ताप्लेजुङ बजार । ताप्लेजुङमा पछिल्लो समयमा पाठेघरसम्बन्धी रोग बढ्दो देखिएको छ ।
फुङलिङ नगरपालिकाले आयोजना गरेको पाठेघरसम्बन्धी स्वास्थ्य शिविरमा पाठेघरसम्बन्धी रोगबाट पीडित महिलाको सङ्ख्या बढ्दो देखिएको हो ।
फुङ्लिङ नगरपालिकाका उपाध्यक्ष भीमादेवी ओझाका अनुसार एक सय ८० जना महिलाको पाठेघरको परीक्षण गरिएकोमा ६८ जना महिलामा समस्या देखिएको थियो । तीमध्ये १० जनाको पाठेघरको शल्यक्रिया गर्नुपर्ने देखिएको ओझाले बताउनुभयो ।
बुधबार र बिहीबार १० जनामध्ये पाँच जनाको सफल शल्यक्रिया गरिएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
धनकुटास्थित जिल्ला अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा अमिताभ ठाकुर नेतृत्वमा आएको चिकित्सक र स्वास्थ्यकर्मीको टोलीले पाठेघरमा गम्भीर समस्या देखिएका पाँच जनाको शल्यक्रिया गरेको नगरपालिकाका जनस्वास्थ्य निरीक्षक मौसम खवासले जानकारी दिनुभयो ।
शल्यक्रिया गरिएका बिरामीलाई जिल्ला अस्पताल ताप्लेजुङका चिकित्सकको निगरानीपछि घर पठाउने तयारी भइरहेको उहाँले बताउनुभयो ।
पाठेघरमा खासगरी मासु पलाउने, पाठेघरको मुखको क्यान्सर, डिम्बाशयमा ट्युमर, डिम्बाशयमा सिस्ट ९डल्लो० पलाउने, सेतो गन्हाउने पानी बग्ने, पाठेघरको सङ्क्रमणलगायत समस्या महिलामा देखिने गरेको चिकित्सकको भनाइ छ ।
खानपानमा पौष्टिक आहारयुक्त खानेकुरा समावेश गर्ने र घरको खानेकुरालाई प्राथमिकता दिँदा धेरै रोगबाट बच्न सकिने चिकित्सक बताउँछन् । (रासस)