काठमाडौँ । युरोपमा प्रचण्ड गर्मीका कारण जनजीवन कष्टकर बनेको छ । दक्षिणपश्चिम युरोपले अत्यधिक अत्यधिक गर्मीको सामना गरिरहेको छ ।
स्पेनमा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथिको विन्दुमा पुगेको छ। जसको कारण अहिलेसम्म कम्तीमा ३६० जनाको मृत्यु भएको छ। शुक्रबार मात्र स्पेनको केही क्षेत्रमा तापक्रम बढेर ४५ डिग्री पुगेको छ। यता, छिमेकी मुलुक पोर्चुगलमा पनि जुलाई ७ देखि १३ को बीचमा २३८ जनाको मृत्यु भएको थियो।
मृत्युदर बढ्नुको कारण अत्यधिक तापक्रम रहेको स्थानीय सञ्चारमाध्यमहरुले बताएका छन्। मृत्यु हुनेमध्ये धेरैजसोमा वृद्ध उमेरको कारण कमजोरी वा अन्य समस्या पनि रहेका बिरामी छन्।
गर्मीको कारण त्यहाँका जंगलमा आगलागी पनि बढेको छ। त्यस्तै यहाँको तापक्रम पनि अहिलेसम्मकै उच्च विन्दुमा पुग्ने दिशामा अघि बढेको छ।
फ्रान्स, पोर्चुगल, स्पेन र ग्रीसमा आगलागी फैलिएसँगै अहिले त्यहाँका अधिकारीहरु त्यसलाई नियन्त्रणको लागि प्रयास गरिरहेका छन्। हजारौं क्षेत्रमा फैलिएको आगलागी नियन्त्रणको प्रयासमा केही सुरक्षाकर्मीको मृत्यु पनि भइसकेको छ।
लामो समयदेखिको खडेरी र बढ्दो तापक्रमको कारण विशेषगरी पोर्चुगल र स्पेनमा आगलागीको घटना बढेको छ।
यता, प्रचण्ड गर्मी बढेसँगै चीनको राष्ट्रिय वेधशालाले उच्च तापक्रमबाट जोगिन सर्वसाधारणमा चेतावनी जारी गरेको । तातो वायुको प्रवाह व्यापक भएपछि वेधशालाले आज त्यस्तो चेतावनी जारी गरेको हो ।
सिन्जियाङ, शान्सी, हेबेई, बेइजिङ, हुबेई र अन्य क्षेत्रहरूमा ३५ डिग्री सेल्सियसभन्दा बढी तापक्रम हुने अनुमान राष्ट्रिय मौसम विज्ञान केन्द्रले गरेको छ । शान्सी र झेजियाङका केही भागमा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुग्न सक्ने उक्त केन्द्रले जनाएको छ ।
केन्द्रले दिउँसो उच्च तापक्रम हुने भएकाले घरबाहिरका गतिविधिमा संलग्न नहुन तथा लामो समयसम्म बाहिर काम गर्नुपर्ने कामदारहरूलाई आवश्यक सुरक्षात्मक उपायहरू अवलम्बन गर्न सुझाव दिएको छ । चीनले मौसम चेतावनी प्रणालीमा चारकिसिमका रङ्गको प्रयोग गर्दै आएको छ ।
मौसमसम्बन्धी गम्भीर चेतावनी दिन चीनले रातो, सुन्तले, पहेँलो र नीलो रङलाई प्रतीकात्मक रूपमा प्रयोग गर्दै आएको छ । आज जारी गरेको चेतावनी केही कम गम्भीर प्रकृतिको हो ।





