कोलम्बो । हजारौँ आक्रोशित प्रदर्शनकारीहरू राष्ट्रपति निवासमा प्रवेश गरेपछि श्रीलङ्काली राष्ट्रपति गोटावाय राजापाक्ष निवासबाट बाहिरिएका छन् ।
२०७९ असार २५ गते शनिबार निवासबाहिर प्रदर्शन चर्किएपछि उनी सुरक्षित स्थानतर्फ प्रस्थान गरेको डेली मिरर दैनिकले जनाएको छ ।
राष्ट्रपति निवासको सुरक्षा स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याँस प्रहार गर्नुका साथै राजधानीका विभिन्न भागमा निषेधाज्ञा जारी गरेको छ । यसअघि आन्दोलनकारीले विरोध प्रदर्शन गर्ने तयारी गरिरहेका बेला त्यसको पूर्वसन्ध्यामा प्रशासनले कफ्र्यु आदेश जारी गरेको थियो ।
स्थानीय समयाअनुसार शुक्रबार राती ९ बजेदेखि अर्को सूचना जारी नगरेसम्म कफ्र्यु आदेश कायमै रहने प्रशासनले जनाएको छ । प्रहरीका अनुसार नेगोम्बो, केलानिया, नुगेगोडा, माउन्ट लाभिनिया, उत्तर कोलम्बो, दक्षिण कोलम्बो र मध्य कोलम्बोमा कफ्र्यु आदेश जारी गरिएको हो । कफ्र्यु कार्यान्वयनका लागि ठुलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
राष्ट्रपति गोटावाया राजापाक्षले मुलुकको आर्थिक सङ्कट समाधान गर्न नसकेकाले पदमा बसिरहन नमिल्ने भन्दै उनको राजीनामाको माग गर्दै शनिबार विरोध प्रदर्शन भएको हो । उनले आर्थिक सङ्कट, इन्धनको अभाव, मूल्यवृद्धि न्यूनीकरण गर्न नसकेकाले पदमा बसिरहनुको औचित्य नरहेको प्रदर्शनकारीको भनाइ छ । आफ्नो जिम्मेवारीमा असफल भएकाले उनले तत्काल राजीनामा दिनुपर्ने प्रदर्शनकारीले माग गरेका छन् । उनले राजीनामा दिएमा अर्को व्यक्तिले सङ्कटको समाधान गर्ने उनीहरूको विश्वास छ ।
श्रीलङ्कामा आर्थिक सङ्कटसँगै राजनीतिक सङ्कट पनि उत्पन्न भएको छ । आर्थिक सङ्कटका कारण रुष्ट आम नागरिकको विरोधका कारण तत्कालीन प्रधानमन्त्री महिन्द्रा राजापाक्षले पनि राजीनामा दिन बाध्य हुनुपरेको थियो । (रासस/एएनआई)