कोपेनहेगन (डेनमार्क) । उत्तर एट्लान्टिक सन्धि सङ्गठन (नेटो) का महासचिव जेन्स स्टोल्टेनबर्गले सैन्य गठबन्धनमा सामेल हुन फिनल्यान्ड र स्वीडेनको आवेदनपछि उत्पन्न टर्कीको चिन्तालाई सम्बोधन गर्ने वाचा व्यक्त गरेका छन् ।
‘हामीले टर्कीले व्यक्त गरेको चिन्तालाई सम्बोधन गर्दैछौँ’ उनले डेनमार्कका प्रधानमन्त्री मेटे फ्रेडरिकसनसँग संयुक्त रूपमा यहाँ आयोजित पत्रकार सम्मेलनमा बोल्दै उक्त टिप्पणी गरेका हन् । फिनल्यान्ड र स्वीडेनले नेटो सदस्यताका निम्ति हालै आवेदन गरेका छन् ।
स्टोल्टेनबर्गले फिनल्यान्ड र स्वीडेनले नेटोमा सामेल हुनका लागि दिएको निवेदनलाई “सबै सहयोगीको सुरक्षा चासोलाई ध्यानमा राख्नुपर्ने आवश्यकताको रूपमा” समन्वयात्मक रूपमा निर्णय र व्यवस्थापन गरिने बताएका छन् । सो अवसरमा उनले नेटो “फिनल्यान्ड, स्वीडेन र टर्कीसँग नजिकको सम्पर्कमा रहेको” पनि उल्लेख गरेका छन् ।
टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले टर्कीमाथि प्रतिबन्ध लगाएका फिनल्यान्ड र स्वीडेनको सम्मिलनमा आफू सहमत नहुने बताएका छन् ।
अङ्काराले कुर्दिस्तान वर्कर्स पार्टी र सिरियामा कुर्दिस मिलिसिया पिपुल्स डिफेन्स युनिटलाई उल्लेख गर्दै दुबै राष्ट्रले “आतङ्कवादी सङ्गठन“ लाई समर्थन गरेको आरोप लगाएको छ ।
नेटो देशसँगको आफ्नो भूमि सीमा दोब्बर भएको देख्न सक्ने रुसले स्विडेन र फिनल्यान्डलाई नेटोमा सामेल नहुन बारम्बार चेतावनी दिँदै आएको छ । रुसले यस्तो कदमले बाल्टिक सागर क्षेत्रमा आफ्नो प्रतिरक्षालाई बलियो बनाएर “सैन्य सन्तुलन पुनस्र्थापना” गर्न बाध्य पार्ने पनि बताएको छ । (रासस–एएनआई:सिन्ह्वा)