• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

चुनावमा हारजितको हिसाब राखेर जनमोर्चाले गठबन्धन गर्दैन : केसी (अन्तर्वार्ता)


  •   मङ्गलबार, बैशाख २७, २०७९ मा प्रकाशित
  • यही वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ । राष्ट्रिय जनमोर्चा आसन्न स्थानीय निर्वाचनमा कतिपय स्थानमा पाँचदलीय गठबन्धनबाट चुनावी मैदानमा छ भने कयौँ स्थानमा एकल रुपमा प्रतिस्पर्धा गरिरहेको छ ।

    Advertisement

    राष्ट्रिय जनमोर्चा करिब एक वर्षदेखि नै सत्तारुढ चारदलसँग गठबन्धन गरी प्रतिगमनका विरुद्धमा सहकार्य गर्दै आएको थियो । तर, सत्तारुढ दलहरुले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट पास गरेपछि गठबन्धनबाट बाहिरिने घोषणा गरेको थियो । तरहाल स्थानीयनिर्वाचनमा फेरि पाँचदलीय गठबन्धन बनाएर अघि बढेको छ ।

    यसै सन्दर्भमा हामीले राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीसँग स्थानीय निर्वाचनमा राजमोको तयारी, गठबन्धनको आवश्यकता र औचित्य लगायत समसामयिक विषयमा कुराकानी गरेका छौँ– सम्पादक ।

    स्थानीय तहको चुनाव नजिक आइरहेको छ, राष्ट्रिय जनमोर्चाले चुनावलाई कसरी उपयोग गर्दैछ ?
    चुुनाव हाम्रो लागि रणनैतिक प्रश्न होइन । यो कार्यनीतिक प्रश्न हो । नेपालमा कैयौं पार्टी आफूलाई वामपन्थी भन्नेहरुले पनि चुनावलाई ट्याक्टिसको रुपमा होइन कि रणनीतिक रुपमा स्वीकार गरेका छन् । यही संसदीय बाटो हिँडेर, यहीसंसदीय माध्यमबाट नेपालमा समाजवाद, साम्यवादसम्म पुगिन्छ, अहिले नेपालमा जनवादी क्रान्ति भइसक्यो भनेर गलत व्याख्या गरेर नेपाली जनतालाई भ्रममा पारेका छन् ।

    नेपाल अहिले पनि अर्धऔपनिवेशिक, अर्धसामन्ती अवस्थामा छ ।नेपालमा पुँजीवादी जनवादी क्रान्ति सफल भएको छैन ।अहिलेको परिस्थितिमा हामीले चुनावबाट अलग भएर बहिष्कार गरेर हिँड्दाखेरी जनतासँगको सम्बन्ध टुट्छ ।अहिले कम्युनिस्ट आन्दोलनको राष्ट्रिय–अन्तर्राष्ट्रिय परिस्थिति अप्ठ्यारो स्थितिमा छ । वाम आन्दोलन कमजोर अवस्थामा छ । त्यसो भएर कार्यनीतिक रुपमा यो चुनाव हामीले उपयोग गरिरहेका छौँ ।

    यहाँहरुले अहिले पनि प्रतिगमनको खतरा छ भनेर गठबन्धन गर्नुभएको छ । प्रतिगमनको खतरा कसरी देख्नुभएको छ ?


    अहिले पनि मुलुकमा प्रतिगमन हावी भइरहेको छ ।२०७२ सालको संविधानलाई ध्वस्त पार्ने, संसदलाई नै खतम पार्ने, मुलकलाई प्रतिगमतिर लैजाने प्रयास भइरहेको छ ।नेपाली जनताले बारम्बार प्रगितमनको सामना गर्नुप¥यो । ०१७ सालमा दरबारबाट प्रतिगमन भयो । त्यसपछि ०४६ सालमा बहुदलीय व्यवस्था आयो । ०४७ सालमा संविधान पनि बन्यो ।

    त्यसपछि पनि हाम्रो पार्टी एक्लैले नेपालमा नेपालमा प्रतिगमनको खतरा छ, बहुदलीय व्यवस्था आएपनि संविधान भन्दामाथि राजा छन् । त्यसकारणले संविधानमा प्रशस्त चलखेल गर्ने सम्भावना छ भनेपछि धेरैले हामीलाई इल्लीविल्ली पारे । हामीकहाँ बहुदलीय व्यवस्था आइसक्यो । राजा नेपाली जनताले ठोकेको किला र बाटेको दाम्लामा बसिसके ।

    अबबहुदलीय व्यवस्थामाथि कुनै प्रकारको खतरा छैन भनेर नेपाली जनतामा भ्रम पारे । हामीले बारम्बार भन्यौँ कि अहिले पनि यो सीमित बहुदलीय व्यवस्थामाथि पनि खतरा छ, प्रतिगमनको सम्भावना छ । नभन्दै २०५९ सालमा प्रतिगमन भयो । राजा ज्ञानेन्द्रले प्रतिगमन गरी हाले । त्यो प्रतिगमनलाई हराउनको लागि हामी बहुदलीय व्यवस्थाका पक्षधरहरुको बीचमा गठबन्धन(कार्यगत एकता) भएको थियो । त्यति बेला गठबन्धन कांग्रेससित पनि भएको थियो । त्यस भन्दा पहिला पनि २०४६ सालमा कांग्रेससित गठबन्धन भएको थियो । त्यसकारण अहिलेको गठबन्धन भएकोमा धेरै मान्छेले नबुझेर, कसैले जानी बुझेरपनि प्रतिगमनलाई मदत पुग्ने हिसावले हामीले यो गठबन्धन गरेकोमा आलोचना र विरोध गरिरहेका छन् ।

    जनमोर्चाले निर्वाचनमा कहिले भाग लिने र कहिले बहिष्कार गर्ने गरिरहेको छ, यस्तो किन ?
    देशको तत्कालिक राजनीतिक आवश्यकताको आधारमा कुनै पनि निर्वाचन बहिष्कार वा उपयोग के गर्ने भनेर पार्टीले तत्कालीन राजनीतिको विश्लेषण गरेर निर्णय गर्ने विषय हो । अहिलेको परिस्थितिमा सशस्त्र सङ्घर्ष गर्ने वस्तुगत तथा आत्मगत स्थिति पनि रहेको छैन ।वैधानिक आन्दोलनको माध्यमबाट हामी अगाडि बढ्नुपर्ने हुन्छ । चुनाव एउटा कार्यनीतिक विषय भएकोले हामीले यसलाई जनताको सम्बन्धसँग जोडिएको विषयको रुपमा समेत लिएर यसलाई उपयोग गर्ने अहिलेको हाम्रो कार्यदिशा हो ।

    हामीले यस्ता चुनावमा पनि भाग लिएर जनतालाई शिक्षित पार्ने, जनतालाई सहयोग गर्ने, चेतना दिने काम गछौँ । अरु प्रतिक्रियावादी, असरवादी पार्टीहरुले चुनावलाई कसरी लिएका छन् ? त्यसबाट जनताको आधारभूत समस्या समाधान हुन्छ कि हुँदैन, राष्ट्रियताको रक्षा हुन्छ कि हुँदैन ? यस्ता कुराहरू चुनाव प्रचारको अभियानमा हामीले लानपनि सकिन्छ । त्यसकारणले राष्ट्रिय जनमोर्चाले स्थानीय चुनावमा भाग लिँदै आएको छ । अहिलेको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक परिस्थितिमाथि विचार गर्दा चुनावको बहिष्कार गर्नु वस्तुगत स्थितिसँग मेल खाँदैन । तर चुनावमा भाग लिँदा पनि हाम्रा अगाडि गम्भीर समस्या छन् ।किन भने अहिले विचारले भन्दा पैसाको चलखेल हुन्छ, जोसँग पैसा छ तिनै पैसावालाले चुनाव जित्छन् ।

    अहिले पनि नेपाली जनतामा कुन पार्टीको सिद्धान्त, राजनीति, व्यवहार, आचरण र चरित्र ठिक छ, त्यतातिर विचार गर्ने भन्दा पनि झुठको खेती र आश्वासनको प्रभाव बढी पर्दछ । त्यसरी जसले झुठको खेती गर्छ, तत्काल आश्वासन बढी बाँड्छ, जनतालाई बढी भ्रमपार्छ उसैले चुनाव जित्ने अवस्था छ ।

    त्यसैले हामीले यी सबैका विरुद्धमा उभिएर चुनावी मोर्चा लड्नुपर्ने हुन्छ । जनतालाई सचेत बनाउन पनि चुनावमा जानु पर्छ । जनताका जल्दाबल्दा समस्याहरुसँग एकाकार भएर सङ्घर्ष गर्ने निष्कलङ्क छवि लिएर चुनावको मैदानमा उत्रिँदा हामीलाई बढी नै चुनौति हुन्छ । तर पनि हामीले चुनावको माध्यमबाट पनि देशको राजनीतिमा महत्वपूर्ण भूमिका खेल्नुपर्दछ । चुनावको औचित्य र अर्थ देखिएन भने त्यस प्रकारको चुनावलाई बहिष्कार पनि गर्न सकिन्छ । हाम्रो पार्टीमा चुनाव उपयोग र बहिष्कार दुबैको अनुभव र शिक्षा छ ।

    अहिले राष्ट्रिय जनमोर्चा पाँचदलीय गठबन्धनमा छ । प्रतिगमनको त्रास देखाएर राष्ट्रिय जनमोर्चाले चुनाव जित्नकै लागि सत्तागठबन्धनमा सामेल भएको भन्ने आरोप पनि कतिपयले लगाएका छन् नि ?
    यस्तो आरोप त लगाउँछन् । कतिपय यस्ता आरोप त प्रतिगमनकारी र तिनका मतियारहरुले लगाउने आरोप हो । नेपालको इतिहासमा जुन बेलामा वामपन्थी र प्रजातान्त्रिक शक्तिहरू बेग्ला बेग्ला निरंकुश पञ्चायती व्यवस्थाका विरुद्धमा लडे ।

    त्यतिबेला नेपाली कांग्रेसको मात्रै एक्लै आन्दोलनले पनि पञ्चायतलाई ढलाउन सकेन । त्यस्तै, वामपन्थीहरूको पनि ठूलो शक्ति भएर पनि त्यो कार्य सफल हुन सकेन ।पञ्चायतकालमा पञ्चायती निरङकुश व्यवस्थालाई निशाना गराउनु पर्ने सन्दर्भमा वामपन्थी र प्रजातान्त्रिक शक्तिहरुमा बढी मतभेद वा सङ्घर्ष हुने गर्दथ्यो ।त्यो मतभेद वा सङ्घर्ष सैद्धान्तिक, राजनीतिक रुपले र राष्ट्रियताको हिसावले पनि एकप्रकारको स्वाभाविक बन्न गएको थियो ।

    त्यतिबेला नेपालको निरंकुश पञ्चायती व्यवस्थाको अन्त्य गर्नका लागि वामपन्थी र प्रजातान्त्रिक शक्तिहरूको एकता आवश्यक थियो । २०३५÷३६ सालमा पनि त्यो कुरा उठेको हो । र त्यतिबेलाको कांग्रेसको नेतृत्वले स्वीकार गरेन । पछि २०४६ सालमा वामपन्थी र प्रजातान्त्रिक शक्तिहरू एक ठाउँमा आउने काम भयो र यसलाई पराजित गर्नको लागि गठबन्धन भयो ।कांग्रेस र वामपन्थीहरू बीचमा जब गठबन्धन भयो ।गठबन्धन भइसकेपछि ३० वर्षसम्म जनतामा जरा गाडेर बसेकोपञ्चायत नेपालबाट हट्यो ।

    पञ्चायतीव्यवस्थालाई निर्विकल्प हो, त्यसको विकल्प छैन भनी पञ्चहरुले हल्ला रप्रचार गरिरहेका थिए । आखिर त्यो गठबन्धन भएपछि मात्रै पञ्चायतले हा¥यो । पञ्चायत नेपालबाट हट्यो र सीमित रुपमा भएपनि बहुदलीय व्यवस्थाको स्थापना भयो । बहुदलीयव्यवस्थाको स्थापना भएपछि पनि त्यसलार्य सिध्याउनको लागि दरबारीयाहरूले अत्यन्त सक्रियता साथ चलखेल गरिरहे । हाम्रो पार्टीलेप्रतिगमनको खतराछ ।संविधानले राजाको शक्तिलाई अकाट्य र अखण्डित बनाएको छ । सार्वभौमसत्ता जनतामा हस्तान्तरण भएको छैन । आन्दोलनका उपलब्धि वाबहुदलीय व्यवस्थालाई दरबारियाहरूले देख्न चाहिरहेका छैनन् यसलाई सिध्याउनका लागि उनीहरुले प्रयत्न गरिरहेका छन् भनेर औँल्याएको थियो ।

    त्यो बहुदलीयव्यवस्थामा शासनमा पुगेका शासकवर्गहरु पनि जनतालाई सुशासान दिने, महंगी नियन्त्रण गर्ने, भ्रष्टाचारलाई उन्मूलन गर्ने, देशको राष्ट्रियता, भौगोलिक अखण्डताको रक्षा गर्ने जस्ता कुराहरूमा पनि अत्यन्त कमजोर रहे ।उनीहरूले राजनीतिलाई आफ्नो गुटगत स्वार्थ, व्यक्तिगत महत्वाकांक्षा पूरा गर्ने हतियारको रुपमा प्रयोग गरे । त्यो सीमित बहुदलीय व्यवस्थाको सीमाभित्र पनि नेपाली जनतालाई जे सेवा सुविधा दिन सकिन्थ्यो, सुशासान दिन सकिन्थ्यो त्यो पनि उनीहरूले गर्न सकेनन् । बहुदलीयव्यवस्थाका पक्षधरहरूले राम्रो व्यवस्थापन गर्न नसकेका कारणले जनतामा असन्तुष्टि बढ्दै गयो, त्यसको फाइदा उठाएर दरबारीयाहरूले खास गरेर राजाले त्यसबाट सीमित बहुदलीय व्यवस्थालाई पनि उनीहरूले विघटन गरेर सत्ता आफ्नो हातमा ल्याए ।

    त्यति बेला यदि गठबन्धन नबनेको भए, त्यतिबेला प्रजातान्त्रिक शक्ति, र वामपन्थी शक्ति एक ठाउँमा नआएको भए नेपालमा राजाले हरण गरेको बहुदलीय व्यवस्था फिर्ता गर्न पनि गाह्रो पथ्र्याे । पछि जनताका आन्दोलन र संघर्षको परिणामको रुपमा गणतन्त्र पनि स्थापना भयो र राजतन्त्र अन्त्य भयो । त्यो आन्दोलनका राजनीतिक संगठनहरुका साथै मिडिया, बुद्धिजीवि, नागरिक समाज लगायत नेपाली जनताको महत्वपूर्ण भूमिका रह्यो । प्रतिगमनका साथसाथै राजतन्त्रकै विरुद्धमा छिनोफानो गर्ने आन्दोलन उठ्यो र त्यो आन्दोलनमा अहिले जस्तै गठबन्धन बनेकै कारणले राजतन्त्र हट्यो ।

    त्यसरी अहिले पनि हामीले प्रतिगमनलाई कमजोर ठान्नु हुँदैन । त्यो निदाएजस्तो अवस्थामा रहेको भएपनि उपयुक्त वातावरण र पात्रको माध्यमबाट जुरुक्क उठ्न सक्दछ । त्यो अवस्थामा चुनाव जित्ने भन्दा पनि प्रतिगमनविरोधी शक्तिहरु बलियो हुनुपर्छ भन्ने हाम्रो सुरुदेखि मत रहेको छ । त्यसैले हामीमाथि लगाइने आरोपको कुनै अर्थ र औचित्यता छैन ।

    अहिलेको पाँच दलीय गठबन्धनको औचित्यता र आवश्यकता कति हो ?
    आफ्नै विधानमा संवैधानिक राजतन्त्र स्वीकार गरेको नेपाली कांगे्रसले आफ्नो विद्यानमा संशोधन गरेर अब गणतन्त्रमा जानुको विकल्प छैन भनेर आफ््नो विधानमै निर्णय ग¥यो । त्यसरी गणतन्त्रको पक्षमा विभिन्न वामपन्थी शक्तिहरूका साथै का“ग्रेस पनि आयो । २०४७ सालको संविधानमाराजालाई सैवैधानिक राजतन्त्रको सिमाभित्र बस्ने भन्ने उल्लेख गरिएको छ । त्यो संविधानमा,कतिपय प्रजातान्त्रिक र वामपन्थी शक्तिहरू पनि संवैधानिक राजतन्त्रको पक्षमा थिए । हाम्रो पार्टी राष्ट्रिय जनमोर्चा धेरै पहिलेदेखि नै राजतन्त्रको अन्त्य हुनुपर्छ र नेपालमा गणतन्त्र स्थापना हुनुपर्छ भन्ने पक्षमा नै थियो ।

    २००६ मा पार्टी स्थापना कालदेखि नै पार्टीको मूल सिद्धान्त नै त्यही थियो कि नेपालबाट सामन्तवादलाई सम्पूर्ण रूपले हटाउनु पर्छ ।त्यसको ठाउँमा गणतन्त्रको स्थापना हुनुपर्छ ।नेपाल कम्युनिस्ट पार्टीको स्थापना कालदेखि नै त्यस प्रकाको नीति, निर्णय र सिद्धान्त थियो । २०६२–६३ तिरको आन्दोलनले मात्रै त्यो उद्देश्य पूरा भयो । त्यो उद्देश्य पुरा भइसकेपछि पनि त्यतिबेलाको गठबन्धन हुँदाखेरी पनि खास गरेर प्रतिगामीहरुले, दरबारियाहरूले, दरबारलाई बोकेर हिड्ने केही बाह्य शक्तिहरूले पनि हाम्रो गठबन्धनमा विभिन्न टिकाटिप्पणी गर्ने, लान्छना लगाउनी, आरोप लगाउने काम गरेका थिए ।जे भएपनि नेपालमा गणतन्त्र आयो र गणतन्त्र आएको पनि झण्डै १५ वर्ष भइसकेको छ । गणतन्त्र आइसकेको भएपनि त्यसको विरोध गर्नेहरू जो पहिले गणतन्त्रको लागि संघर्षमा उत्रेका थिए त्यहीँ भित्रैका मान्छेहरू पनि फेरि त्यो गणतन्त्रलाई सिध्याउने, धर्मनिरपेक्षलाई सिध्याउने र नेपाललाई हिन्दु राज्य बनाउने षडयन्त्रमा उन्मुख भए ।

    त्यसखालको स्थिति नेपालमा देखिएपछि जनआन्दोलनबाट प्राप्त उपलब्धिबको रक्षा गर्नुपर्ने टड्कारो समस्या अगाडि आयो । त्यही कारण स्वरुप नै अहिलेको गठबन्धनको उत्पादन हुन पुगेको थियो । प्रतिगमनका पक्षधर शक्तिहरू बीच गठबन्धन गरेर संघर्ष गर्नुपर्ने भयो । यो गठबन्धनको आवश्यकता केपी ओलीको प्रतिगमनकारी भूमिका कसरी अगाडि बढ्छ ? त्यसले नै फैसला गर्दछ । उनको प्रतिगमनकारी भूमिका कायम रहेसम्म यो गठबन्धनको सार्थकता र औचित्यता भइरहने छ

    नेपालमा गणतन्त्र आएको यति धेरै समय बितिसक्दा पनि जनताको जीवनस्तरमा बदलाव आउन सकेको छैन ? यसको कारण के होला ?


    २०७४ सालमा स्थानीय चुनाव भयो । केन्द्रीय चुनावमा वामपन्थीहरूको ठुलो बर्चश्व रह्यो संसदभित्र अव गणतन्त्र व्यवस्थित हुन्छ यो बुर्जुवा गणतन्त्रको सिमाभित्र देशको राष्ट्रियता संरक्षण हुन्छ जनताको सुशासन हुन्छ नेपालमा थोरै मात्रामा भए पनि जनताका रोजिरोटीको समस्या समाधान हुन्छ, जनताले रोजगारी पाउँछन् भन्ने आशा नेपाली जनताले गरेका थिए ।

    हामीले पनि गणतन्त्रको आन्दोलनमाजाँदा खेरी नेपाली जनतालाई आश्वासन दिएका थियौँ । जन गणतन्त्र प्राप्तिपछि पनि जब सत्तामा बस्नेहरुले निर्णायक ठाउँमा बस्नेहरुले मुलुकलाई उदारीकरणतिर लगे र देशमा भएको करकारखाना, उद्योगधन्दाहरु पनि सखाप पार्दे गए निजी करण गर्दै गए । त्यसकारण शिक्षामा निजीकरण, स्वास्थ्यमा निजीकरण, रोजगारीमा निजी करण, र राष्ट्रिय उद्योगधन्दा कलकारखाना पनि निजीकरण गरेर बेचे, त्यसले गर्दा जनतामा उल्टो असर प¥यो र अहिले पनि त्यसको असर परिरहेको छ ।

    एकातिर संविधानमा जनतालाई शिक्षा स्वास्थ्य र रोजगारीको अधिकार हुनेछ भनेर किटानी गरिएको छ, व्यवहारमा त्यसको उल्टो छ । झन् गणतन्त्र प्राप्त गरिसकेपछि वेरोजगारीहरूको सङ्ख्या द्रुत गतिले बढ्दै गयो । देश आत्मनिर्भर हुनुको सत्ता झन–झन् परनिर्भर हुँदै गयो । हाम्रो निर्यात हुने भनेको कुरा युवाशक्ति पो भएको छ । वास्तवमा जनशक्ति कुनै पनि देशको समृद्धिको लागि प्रधान हुन्छ ।

    यहाँको प्राकृतिक साधन स्रोतलाई प्रयोग गरेर देशलाई सम्पन्न बनाउनु भन्दा देशलाई समृद्धि बनाउनेयुवा पिढीलाई ठुलो सङ्ख्यामा विदेशीन बाध्य पारिएको छ । नयाँ शिक्षा प्रणालीमा विद्यार्थीहरुलाई यस्तो भाषा शिक्षा दिइयो कि विदेशमा जाँदाखेरि कुन भाषा चाहिन्छ ?तर मेरो भनाइ विभिन्न अन्तर्राष्ट्रिय वा भाषा जान्नु हुँदैन भन्ने चाँही होइन । नेपालकै प्राकृतिक साधन स्रोतलाई प्रयोग गरेर नेपाललाई हराभर गाउनु पर्छ भन्ने शिक्षा प्रणालीको अभाव छ ।राष्ट्रिय भावना पैदा गराउने नीतिको अभाव छ ।शिक्षा प्रणालीमै बच्चालाई सानैदेखि पश्चिमी भाषा, पश्चिमी संस्कृति, पश्चिमी आदत, आनीबानीका विकास हुनेखालको शिक्षा दिइयो ।

    कुनै पनि विद्यार्थी प्रारम्भकालदेखि नै उसको मनस्थितिमा आफू विदेश जाने हो भन्ने धारणा बन्न थाल्दछ । उपल्लो कलासमा गएपछि त झन् नेपालमा कस्ता खालका शैक्षिक संस्थाहरू छन् भने फलानो बोर्डिङमा पढ्यो भने स्कुलमा पढ्यो भने, त्यो स्कुलले सोझै अमेरिका पठाइदिन्छ । त्यो स्कुलमा पढ्यो भने अस्टे«लियातिर जान पाइन्छ ।

    त्यसखालेविदेशका शिक्षा संस्थाका नाम समेत राखेर कैयाँै शैक्षिक माफियाहरूले नेपालमा शिक्षाको व्यापार गरेका छन् । त्यसले गर्दाखेरी नयाँ पिढीमा पनि निराशा बढेर गएको छ । आफूले पढेर, लेखेर सबै जान्ने भइसकेपछि उसले काम पाउन सक्दैन । त्यसो भएकोले विदेशमा जान विकल्पै भएन । यसरी नेपालबाट निर्यात गर्ने चिज मान्छे मात्रै भयो । अँझ त्यो पनि देश बनाउने नयाँ पिँढी ।

    त्यसले गर्दा अहिले पनि २० हजार हेक्टर खेतीयोग्य जमिन बाँझो भएका छन् । हाम्रो देशमा उत्पादन हुने प्याज, लसुन, खुर्सार्नी, कागती, छन् तर अवस्था के छ भने बंगलादेशबाट आएन भने खुर्सानी हुँदैन, मद्रासबाट कागती आएन भने कागती हुन्न । त्यस्तै विभिन्न चिजहरू त नेपालको हिमालमा, पहाडमा, तराईमा सबैतिर हुन्छ तर त्यो अब नेपालमा उत्पादन गर्न छाडियो । नेपाली प्रवृत्ति, नेपाली शिक्षादिक्षा के भयो भने जसरी पनि हुर्के बढेपछि विदेश जानुपर्छ । उताबाट पैसा कमाएर ल्याएपछि बहुराष्ट्रिय कम्पनीका विदेशबाट आयात भएका सामानहरू भोगचलन गर्ने र दिन प्रतिदिन परनिर्भर हुँदै जाने अवस्था रह्यो यो साम्राज्यवादीहरूको उदारीकरणको नीति हो ।

    त्यो नीति संसारभरि व्याप्त भएको छ । आज कतिपय कमजोर देशहरू र हामी पनि त्यो उदारीकरणको शिकार भएका छौँ ।युक्रेन र रुसको युद्ध हुन्छ यहाँ तुरन्त त्यसको असर पर्छ । अबयुक्रेनबाट तोरी नआएपछि नेपालको भुटुनलाई मुश्किल पर्ने, तेलको भाउ बढ्ने, यसको अर्थ के रहेछ भने युक्रेनबाट तेल आउने रहेछ । अनि यहाँ पेलेर व्यापारीहरूले बेच्दा रहेछन् । इन्डियामा कोरोनाको महामारी भयो त्यहाँबाट आउन छोडेपछि यहाँ बन्द भयो । त्यसकारणले हामी अत्यन्तै परनिर्भर भएका छौँ परमुखा भएका छौँ । कृषि क्षेत्रमा आफ्नो खट्टामा उभिने नेपाललाई कृषि क्रान्तितिर लगिएन ।

    चाहे वामपन्थीहरू सरकारमा बसुन्, चाहे नेपाली कांग्रेस सरकारमा बसुन् उनीहरूको मुख्य काम के हो भने अन्तर्राष्ट्रिय साम्राज्यवादीहरूका उदारीकरण बोकेर र त्यो नीति नेपालमा लागु गरेर आत्मनिर्भर अर्थ नीति होइन परनिर्भर अर्थ नीतिमा मुलुकलाई डुबाउने । यसरी आज देश अप्ठ्यारो स्थितिमा गएको छ । नयाँ पिँढीहरू कामको खोजीमा अष्टे«लिया, जापान, अमेरिका, यूरोपतिरवा भारत, अरब लगायतका देशमा गएका छन् । अरबको खाडीमा गएर पैसा कमाएर पठाइएको जो रेमिट्यान्स छ । त्यो रेमिट्यान्सले अहिले देश चलिरहेको छ ।

    अहिले कोरोनाका कारणले श्रमिकहरू अरबको खाडीमा जान अलिकति कम भएको हुनाले नेपालको अर्थतन्त्रमा पनि अप्ठ्यारो स्थिति सिर्जना हुँदै गएको छ । त्यसकारणले यो स्थितिमा देश आर्थिक रुपले असफल हुँदै गएको छ । यस प्रकारको अवस्थामाकतिपय मान्छेले भन्न लागेका छन्, नेपाल श्रीलंकाको बाटो जाँदै छ भनेर त्यसखालको हल्ला पनि गरिएको छ ।

    यहाँ तेल उत्पादन हुन्न, पेट्रोलियम पदार्थ उत्पादन हुन्न, तर सरकारको नीति के भने जुन विलासिताका सामानहरू जुन विदेशीहरूलाई नबेचि भएको छैन । ती सामानहरू आउँछन् र यहाँ नेपालमा उत्पादन हुने सामानलाई वास्ता नगरेर बहुराष्ट्रिय कम्पनीको सामानहरू ल्याएर पुँजीपतिहरूले नाफा खाएका छन् र जुनसुकै पार्टीका नेता सरकारमा बसेपनि उसले विदेशीका सामानहरू नेपालमा आयात गरेर त्यसबाट भन्सार गरेर आम्दानी गरेर मुलुक चलाइरहेको छ ।

    संघीयताबाट देशको स्थिति कस्तो रहेको पाउनु हुन्छ ?
    नेपाललाई अप्ठ्यारो स्थिति संघीयताले पारिरहेको छ । साधारण खर्च यति बढेर गयो कि प्रशासनिक खर्चमा ठुलो धनराशी खर्च भइराखेको छ । सात प्रदेशमा त्यहाँको सरकार चलाउन परिरहेको छ । मन्त्रिहरू पाल्न परिरहेको छ । त्यहाँ भाग बन्डा मिलाउनको लागि आवश्यकै नभएको ठाउँमा मन्त्रिको सङख्या थप्नु परिरहेको छ । कर्मचारीको संख्या थप्न परिरहेको छ । र संघीयताले पनि नेपाललाई आर्थिक रुपले टाँट पल्टाउँदै गइरहेको छ ।

    राष्ट्रिय जनमोर्चाले संविधान बनाउँदाका बखत हाम्रो जस्तो सानो कमजोर देशमा यो संघीय प्रणाली उपयुक्त छैन । प्रदेश बनाएपनि एकात्मक प्रदेश बनाउनु पर्छ । केन्द्र र स्थानीय निकायको बीचमा समन्वय गर्नको लागि, एउटा प्रसासनिक हिसावले त्यसको समन्वय गर्नको लागि, प्रदेश बनाऔँ ।

    यो राजनीतिक रुपले प्रदेशभित्र संसद मन्त्रीमण्डल कर्मचारी, स्रोत नभएको देशमा यो संघीयताले आर्थिक रुपले टाट पार्छ भनेर त्यसलाई खारेज गर्नका लागि संघर्ष गरेको थियो । संघीयता बनाएको बखतपछि सिंहदरबारमा भएको अधिकार गाउँ गाउँमा लानेछ भनियो त्यो वेठिक थिएन ।

    किन भने लामो समयदेखि नेपाल एकात्मक प्रतिकृयावादी शासनमा रहेको नेपाललाई विकेन्द्रीकरणको आवश्यकता थियो । सिंहदरवारमा रहेको सामन्ती एकात्मक भ्रष्ट शासनलाई विकेन्द्रीकरण गर्नु आवश्यक थियो । त्यसमा बाह्य शक्तिहरूका दबाबमा खास गरेर ठुला राजनीतिक शक्तिहरूले अरुको दबाबमा संघीय प्रणाली स्वीकार गरे र अहिले मुलुक आर्थिक रुपले टाट पल्टदै जानुको पछाडि जुन प्रदेशको संरचना छ त्यो संरचना पनि मुलुकको लागि घातक परिणाम हुँदै गएको छ ।

    त्यसकारण हाम्रो पार्टीले संविधान बनाउने बेलादेखि नै संघीय प्रणाली नेपालको लागि उपयुक्त छैन । सिंहदरवारमा भएको अधिकार गाउँगाउँमा लैजानु पर्छ, स्थानीय निकायलाई धेरै भन्दा धेरै अधिकार सम्पन्न गर्नुपर्छ, बजेट बढी भन्दा बढी स्थानीय निकायमा लैजानु पर्छ । स्थानीय निकायमै उद्योग धन्दा कलकारखाना खोल्नु पर्छ । रोजगारी त्यहीँ दिनुपर्छ ।

    यदि त्यो भएन भनेदेशभरिकै मान्छेहरू काठमाडौ आएर थुप्रिनु पर्ने, सबै कुरा काठमाडौबाट गर्नुपर्ने हुन्छ । त्यसो भएको हुनाले विकेन्द्रीकरणको आवश्यकता छ । त्यो संविधानमै व्यवस्था गर्नुपर्छ । मुलुकको ठूलो धनराशी ठुला–ठुला सहरमा शक्तिमा भएका शक्तिशालीहरूले निश्चित ठाउँमा केन्द्रित गरेर असमान्य विकासको स्थिति सृजना गरेका छन् । कतिपय ठाउँमा विकासको नाउँमा केही पनि छैन भने कतिपयठाउँमा विकास थुप्रिएको छ ।

    त्यसरी त्यो विकास बजेटलाई विकेन्द्रीकरण गर्नुपर्छ । विकट नेपालका हुम्ला, जुम्ला, कालिकोट जस्ता ठाउँमा अस्पताल, बाटो, विजुली पुगेका छैनन् त्यहाँ जनता धेरै उत्पीडित छन् ती–ती ठाउँमा विकेन्द्रीकरण गर्नुपर्छ र बजेट धेरै जानुपर्छ । राज्यले त्यहाँ धेरै भन्दा धेरै ध्यान दिनु पर्छ भन्दै हाम्रो पार्टीले पहिलेदेखिनै भन्दै आएको छ ।

    फेरि स्पष्ट गरिदिनु हुन्छ कि अहिलेको गठबन्धनमा राष्ट्रिय जनमोर्चा सामेल हुनुको मुख्य कारण के हो ?

    अहिले देशमा जुन आर्थिक अवस्था छ, राजनीतिक अवस्था पनि अत्यन्त अस्थिर छ र स्वयम् गणतन्त्रका लागि लडेका शक्तिहरू नै फेरि यो गणतन्त्रलाई सिध्याउने र नेपाललाई हिन्दुराज्य बनाउने षडयन्त्रमा छन् । ती षडयन्त्रकारी यही देशभित्रका मात्रै हैनन्, खास गरेर भारतिय शासकहरूले पनि नेपाललाई हिन्दुराज्य बनाउने, हिन्दुराज्य संचालन गर्नलाई हिन्दु धर्म ल्याउने जुन खालको त्यो योजना छ, त्यो योजनामा यहाँको कतिपय गणतन्त्रका लागि लडेका तत्वहरू पनि तत्काल सत्ता स्वार्थको र शक्तिको लागि अप्रत्यक्ष रुपले सामेल भइरहेको स्थिति छ ।

    यसरी सीमितबहुदलीय व्यवस्था र गणतन्त्रमाथि पनि कालो बादल मडारिरहेको छ । यसको सुरक्षाको लागि यसलाई बचाउनको लागि अहिलेको गठबन्धन बनेको हो । राष्ट्रियजनमोर्चाले देशलाई प्रतिगमनतर्फ जानबाट रोक्नका लागि तुलनात्मक रुपमा प्रतिगमनविरोधी जुन शक्तिहरूसित गठबन्धन वा सहकार्य गर्न आवश्यक र सही ठानेको हो ।अहिलेको सीमित बहुदलीय व्यवस्थामा जहाँ केही तत्वहरू वा मान्छेहरूले मात्रै यसबाट लाभ उठाइरहेका छन् फाइदा उठाइरहेका छन् ।

    आर्थिक क्षेत्रमा, सामाजिक क्षेत्रमा, राजनैतिक क्षेत्रमा, शैक्षिक क्षेत्रमा, ती सीमित मान्छेहरूले मात्र तर मारिरहेका छन् र बहुसङ्ख्यक मान्छेहरू उत्पीडित छन् । त्यसको विकल्पमा मुलुकमा नयाँ जनवादी क्रान्ति नै हुनुपर्छ । त्यसको विकल्पै छैन । तर नयाँ जनवादी क्रान्ति केही व्यक्तिले र केहीले चाहना हुँदा वित्तिकै जनतालाई आवश्यक परेका कारणले मात्रै चाहिँ भइहाल्दैन । राष्ट्रिय अन्तराष्ट्रिय परिस्थिति आवश्यक हुन्छ र स्वयम् त्यो देशका राजनीतिक पार्टीहरु र त्यो देशकका जनतामा चेतनामा बृद्धिको आवश्यक हुन्छ ।

    त्यसकारणले अहिलेको तत्कालको आवश्यकता भनेको यो सीमित बहुदलीय व्यवस्थालाई र गणतन्त्रलाई रक्षा गर्ने र आगामी दिनमा मुलुकलाई प्रगतिशिल राज्य व्यवस्था तिर लैजाने र समाजवादी आन्दोलनतिर अगाडि बढाउनु पर्छ । अहिले कतिपय बुर्जुवा पार्टीहरुले समाजवाद ल्याइसक्यौँ । अव यसलाई पूर्ण गराउनु पर्छ र मुलुकलाई समाजवादमा लैजानुपर्छ । नयाँ जनवादी क्रान्ति पूरा भइसकेको छ भनेर झुटको खेती गरेका छन् । नयाँ जनवादी क्रान्ति भनेको त सामन्तवादको समूल नष्ट हो ।वैदेशिक शक्तिहरूको चलखेलको निम्ट्यान्न हो । दुइटै यहाँ छ ।

    अहिले सामान्तवाद सत्तामा नभए पनि उसले चलखेल गरिरहेको छ । उ संगठित रुपमा आएको छ । ठिक त्यस्तै बाह्य शक्तिहरूले पनि नेपालका प्रत्येक घट्नाहरू प्रत्येक ठाउँमा प्रत्येक नीति निर्माण गर्ने ठाउँमा उनीहरूले हस्तक्षेप गरिरहेको छन् ।देशका राज्य सत्ता चलान गर्नेहरु बाह्य शक्तिको योजनामा बाह्य शक्तिको इसारामा काम गरिरहेको कुरा हामीले महसुस गरिरहेका छौँ ।

    तर एमसीसी पक्षधरसित एमसीसी विरोधी शक्तिको तालमेल हुनु अलि अस्वाभाविक कुरा भएन र ?
    हामी गठबन्धनमा रहनुको मुख्य उद्देश्य प्रतिगमनका विरुद्धमा हो । एमसीसी सम्बन्धी हाम्रा फरक कुरा पहिलेदेखि नै थिए । त्यसरी भन्ने हो भने त्यो गठबन्धनका अन्य शक्ति र हाम्रा बीचमा धेरै जसो राजनीतिक उद्देश्य, लक्ष्य र कार्यशैली पनि फरक फरक छन् । वर्गीय चरित्र र राजनीतिक कार्यक्रम पनि फरक छन् । कुनै विषयमा भएको गठबन्धनलाई सबै विषयसित जोडेर अनावश्यक रुपले कतिपयले उचाल्ने गरेका छन् ।

    त्यस प्रकारको दुःख उनीहरुले नगरे पनि हुन्छ । किनभने हामीले हाम्रो मान्यताका आधारमा काम गर्दै आएका छौँ, गर्दछौँ र भविष्यमा पनि त्यसरी नै गर्दछौँ । त्यसैले उनीहरुलाई केही लाभ मिल्नेवाला छैन । एमसीसी प्रकरणमा हाम्रो फरक बाटो हो भन्ने कुरा सबैलाई थाहा छ र एमसीसीका विरुद्ध सबै भन्दा बढी आन्दोलित भएको पार्टी पनि हाम्रै पार्टी हो । हामीले एमसीसीका विरुद्धमा संघर्ष गर्न थालेको ५ वर्ष भन्दा बढी भएको छ ।

    त्यो संघर्ष हामीले सडकमा एकल र संयुक्त दुबै रुपमा सञ्चालन ग¥यौँ भने सदनमा पनि जोडदार ढङ्गले उठायौँ । उनीहरु एमसीसी पारित गर्ने निष्कर्षमा पुगेको बेला हामी गठबन्धनबाट बाहिर आयौँ । तर प्रतिगमन विरुद्धको मोर्चामा फेरि एक ठाउँमा आयौँ । अहिलेको यो एमसीसी प्रकरणमा तपाईहरूले देखिहाल्नु भयो । यति ठुलो संख्याले यो एमसीसी बेठिक छ, नेपाललाई अहितकार छ यो अमेरिका साम्राज्यवादको चिन विरोधी खेमामा नेपाललाई सामेल गर्न नेपालमा ल्याइएको हथकण्डा हो ।

    यसलाई खारेज गर्नुपर्छ भन्ने कुरामा नेपाली जनताको विरोध हुँदा हुँदै पनि संसदभित्रका कतिपयले आफूलाई वामपन्थी भन्नेहरूले सुरुसुरुमा नाटक गरेर यो एमसीसी घातक छ, यो गलत छ भने । तर अन्तमा गएर साम्राज्यवादीहरूको अगाडि घुँडा टेके र यसलाई पारित गरे र यसबाट पनि देशको राष्ट्रियता, देशको भौगोलिक अखण्डतामाथि गम्भिर संकट थपिएको छ । त्यसकारणले यसलाई खारेज गर्नुपर्छ भन्ने कुरा नेपालमा ठुलो जनमत तयार हुँदै गइरहेको छ । यो एउटा ठुलो समस्या नेपालमाथि जोडिन आएको छ यसका विरुद्धमा पनि हामीले पनि संघर्ष गर्नुपर्छ ।

    अहिलेको स्थानीय चुनावमा यहाँहरूको पार्टीसहितको गठबन्धनबाट राष्ट्रिय जनमोर्चालाई कति फाइदा हुने अवस्था छ ? आपसी सङ्घर्ष र बागी उम्मेदवार रहेको अवस्थामा गठबन्धनलाई फाइदा होला त ?


    जनमोर्चालाई कति नाफाहुन्छ भनेर हामीले राजनीति गर्ने होइन नि । गठबन्धन नभएको भए राष्ट्रियजनमोर्चा एक्लै लड्न सक्दैनथ्यो भन्ने पनि होइन । गठबन्धनका दलहरूले समझदारी र सहमतिलाई पूरै पालन गर्छन् भन्ने विश्वासका आधारमा पनि गठबन्धन गरिएको होइन । यिनीहरूले सम्झौतालाई पालन गर्देनन्, समझ्दारी पूरा गर्दैनन् भन्ने कुरा जानेर जानाजान हामीले गठबन्धन गरेका हाँै ।

    किनभने अरूले जे उद्देश्य राखेको भएपनि हामीले चाँही चुनावै जित्ने उद्देश्यले मात्र गरेको गठबन्धन हैन । हामीले देशको राजनीतिक आवश्यकता आधारमा आन्दोलनका उपलब्धिको रक्षाको पक्षलाई बलियो बनाइराख्नुपर्छ भन्ने उद्देश्यलाई प्रमुख बनाएका छौँ । स्वयम् गठबन्धनका प्रमुख नेताहरूसितको बसाईमा मैले धेरै कुराहरू गरेँ । तपाईहरुको पार्टीभित्र त अनुशासन पनि छैन तपाईहरुले भनेको पनि उनीहरुले मान्दैनन् आफ्नो किसिमले उनीहरुले उम्मेदवारी दिन्छन् तपाईहरुले दिएको निर्देशन र आदेश पालना हुन्न भन्ने कुरा भएको छ ।

    त्यसकारणले जुन देशमा राजनीति कर्मिहरुले राजनीतिलाई व्यवसाय गराउँछन् । त्यसलाई पद प्राप्त गर्ने, पैसा आर्जन गर्ने हतियारको रुपमा सम्झन्छन् र जसले त्यस रुपमा राजनीति गरिरहेको छ । उनीहरुलाई त पद त महत्वपूर्ण कुरा हुन्छ । त्यसखालका अवसरवादी पार्टीहरूले राष्ट्र र जनतालाई केन्द्रमा राखेर राजनीति गर्दैनन् । त्यसरी उनीहरूसित यी सबै विसङ्गति छन् । तर प्रतिगमनलाई परास्त गर्ने एउटा खास उद्देश्यका लागि हामीले स्थानीय चुनावमा उनीहरूसित तालमेलको नीति लिएका हौँ ।

    मूल रुपमा सबैठाउँहरुमा सबै गठबन्धनका मान्छेहरूले आपसी संघर्ष गरेका त छैनन् तर कतैकतै त्यस्तो भएको छ ।अहिलेको प्रतिपक्षसँग गठबन्धन नगर्ने र पाँचदलीय भित्र मात्रै चुनावमा जाने भनेर स्वयम् गठबन्धनका पार्टीहरूले सर्कुलर पनि गरेका छन् । निर्देशन गरेका छन् । तर उनीहरूका कतिपय मानिसहरूले मानेको देखिएन । उनीहरुले सत्तामा जाने, शक्तिमा गएर निजी लाभ गर्ने र फाइदा उठाइरहेकाहरुलाई त त्यो मान्य हुन्न । हाम्रो जस्तो पार्टीभित्र त यो गठबन्धनभित्रको संघर्षमा हामीले यति तालिम दिँदा, शिक्षित गराउँदा, अनुशासन सिकाउँदा त स्वयम् जनमोर्चाको मान्छेले पार्टीको निर्देशन मानेन । प्रतिगमनलाई छोड्न मानेन । पार्टीबाटै अनुशासनमा बस्न नसकेर हटेकाहरु, कार्वाहीमा परेकाहरु तिनै प्रतिगामीहरुसित मिलेर हिँडेका छन् भने त अन्यको त झन् कस्तो खराब हालत होला ।

    यो गठबन्धनका शिर्षनेताहरूले निर्णयलाई पालना गर्न गराउन प्रयत्न गरेको पाइएको छ । तर ती पार्टीमा अनुशासनको जुन स्थिति छ, नेताहरुको जो अनुशासन हो त्यसका कारणले उनीहरुले पालन नगरेको स्थिति हो । पालन नगरेपनि उनीहरुले कडा कार्वाही गरेको पनि देखिन्न । किन भने स्वयम् पार्टीहरु राष्ट्र र जनताको काम गर्ने भन्दा पनि सत्ता र शक्तिमा गएर नीजि लाभ उठाउने र महत्वकांक्षा पूरा गर्ने प्रवृत्तिका भएकाले त्यसको परिणामा यस्तो भएको हो । त्यसलाई मैले नौलो कुरा ठान्दिन ।

    यो गठबन्धनका सबै पक्ष इमान्दार छन् र आफ्नो पार्टीको आदेश पालन गर्छन् भन्ने पूरा विश्वास गर्ने कुरा पनि भएन । हाम्रो जस्तो लेनिनवादी पद्धतिमा आधारित पार्टीमा त कतिपय मान्छेहरुले उलंघन गरेर कार्वाही गर्नु प¥यो भने अरु बुर्जुवा पार्टीहरुमा त के कुरा भो र ? कांग्रेसले भन्छ हाम्रो त मास पार्टी हो सबै मान्छे कांग्रेस हुन्छ हाम्रो त पार्टीको निर्णय नमाने पनि हुन्छ । यस्तै अरु गठबन्धनमा भएकाहरुलाई नि हामीले तिमीहरुका मान्छेले अनुशासन पालन गरेनन् भनेपछि उनीहरुले विवश भएर स्वीकार गर्छन् । तपाईहरुको पार्टीमा जस्तो हाम्रो पार्टीमा अनुशासन पुरा हुन्न । तपाईहरुको विग्रेको मान्छे तपाईहरुले कार्वाही गरेर हटाएका मान्छे उनीहरुहाम्रोमा अनुशासनमा नम्बर वान हुन्छन् भनेर स्वीकार गर्दछन् ।

    हाम्रो पार्टीले अनुशासनमा नबस्ने, पार्टी विरोधी गतिविधि गर्ने, विभिन्न खालको महत्वकांक्षा गर्ने, गुटबन्दी गर्ने, बदमासी गर्ने उनीहरुलाई कार्वाही गरेपछि अरु पार्टीले स्वीकार गर्छन् । तपाईहरुले अयोग्य भनेर कार्वाही गरेको मानिस हाम्रो लागि योग्य हुन्छ भन्छन् । त्यो प्रवृत्तिले गर्दाखेरी उनीहरुले चाहेर पनि कार्यकर्ताहरुलाई उनीहरुले अनुशासनमा राख्न सक्दैनन् । उनीहरुले हाम्रो जस्तो लेनिनवादी पद्धतिलाई कार्यन्वयन गर्न खोजे भने त्यहाँ मान्छे बस्दैनन्, रित्तिन्छ ।

    त्यहाँ जहाँ जे गर्न पनि पाइन्छ । निजी स्वार्थ पुरा गर्न जहाँ पाइन्छ, त्यहाँ जान्छन् । पसल जस्तै नेपालमा दर्जनौँ पार्टीहरु छन् ।दर्ता भएका मात्रै ७९ वटा । अझै दर्ता नभएका कति छन् कति । त्यसकारणले पसल त धेरैले खोल्छन् नि तर पसलको इज्जत थोरैको हुन्छ र चलेका केही सीमित मात्रै हुन्छन् । यो नेपालको सन्दर्भमा मात्रै हैन अरु देशमा पनि हामीले देख्छौँ । त्यसकारणले केही पार्टीहरुले मात्रै पार्टी चलाएका हुन्छन् र पार्टीलाई व्यवस्थित गरेका हुन्छन् ।

    आम मान्छेले सबै पर्टी उस्तै हुन् भनिरहेको सन्दर्भमा अन्य पार्टी र यहाँको पार्टीको बीचको अन्तर के हो, सर्वसाधारणले बुझ्नेगरी बताइदिनुहोस् न?
    हाम्रो जस्तो पार्टीमा कतिपय ठाउँमा अराजक प्रवृत्ति, व्यक्तिगत स्वार्थ, गुटबन्दी जस्ता प्रवृत्ति देखा पर्छन्भनेपछि जुन पार्टीका नेताहरु, कार्यकर्ताहरु पार्टीमै लागेर राष्ट्रको सेवा हैन आफ्नो उन्नति गर्ने हो, व्यक्तिगत लाभ उठाउने हो भन्ने प्रवृत्तिका हुन्छन् । पार्टीमा लागेपछि कमाउने उद्देश्यका साथ उनीहरु पार्टीमा भर्ना हुन्छन् । माथिको हाइ कमानले भनेको मान्दा वित्तिकै त उसको महत्वकांक्षा पूरा हुन्न । उ पदमा जान पाउँदैन त्यसकारणले विना सर्त पार्टीमा काम गर्न पाउनुपर्छ भन्ने त हाम्रो पार्टीको मात्रै हो ।

    त्यसकारण यो रुढीवादी पार्टी हो, यो व्यवहारिक छैन भन्छन् । उनीहरूका अनुसार व्यवहारिक हुन त पार्टीमा बसेको मान्छेले जे खोज्छ, पद खोज्छ कि, अवसर खोज्छ कि, उसले पार्टीबाट लाभ लिन चाहन्छ कि त्यस अनुसार गर्नु प¥यो । हामीले त्यस्ता प्रवृत्तिहरुसँग सम्झौता नगरेको हुनाले हाम्रो पार्टीलाई रुढीवादी पार्टी भनेर हामीलाई आरोप लाउँछन् । तर जब उनीहरुको मान्छेहरुले नियम उलंघन गर्छन्, हाम्रो पार्टी मास पार्टी जस्तो हो । तपाईहरुको जस्तो हाम्रो पार्टीमा अनुशासन छैन भनेर उनीहरुले स्वीकार गर्छन् । हाम्रो भनाई के हो भने कुनै देशमा परिवर्तन हुनको लागि पार्टी चाहिन्छ । भ्रष्ट वा यथास्थितिवादी पार्टीले समाज बदल्नै सक्दैन, देश बदल्नै सक्दैन ।

    पार्टीभित्रका समस्या त यही हो नि ६ सालमा पार्टी निर्माण भएपछि पार्टीमा कैयौ त्यसखालका भड्कावहरु देखिए । सग्लै पार्टी लिएर दरबारभित्र पसेको पनि देखियो । कतिपय अवस्थामा हाम्रो पार्टीलाई धेरै किसिमका बदनाम गरेर, आलोचना गरेर निस्केकाहरु पनि आज कहाँ छन् ? उनीहरुको स्थान कहाँ छ ? उनीहरु के गरिरहेका छन् ? देखिरहेका छौँ ।

    त्यसकारणले हाम्रो भनाइ के हो भने जसले परिवर्तन गर्न खोजेको छ त्यसले मात्र समाज बदल्न सक्छ जो बदलिएको छैन, जो यथास्थिति छ,जसका चरित्र चाहिँ पुँजीवादी छ, सामान्तवादी चरित्र छ, त्यो नबदलिएको पार्टीले समाज बदल्नै सक्दैन । त्यसकारणले ठुलो समस्या भनेको समाज बदल्छु भन्नेले आफूलाई बदलेको छ कि छैन ? मुखले क्रान्तिकारी, सिद्धान्तका कुरा गरेर हैन उसले आफूलाई बदल्नको लागि सबभन्दा ठुलो आन्दोलन आफ्ना विरुद्ध गर्नुपर्छ । पहिला पार्टीमा हामीले काम गर्दा लेवी उठ्दैनथ्यो ।

    चन्दा माग्नु भनेको समस्या हुन्थ्यो अहिले त्यस्तो छैन । अहिले त पार्टीमा लेवि पनि उठ्छ, पार्टीले चन्दा माग्न पनि सक्छ । त्यसकारण पार्टीकै खाएर पार्टीकै काम गर्ने हो त्यति सुविधा छ अहिले । हाम्रा पालामा त थिएन जति बेला पार्टी स्थापना ग¥यौँ । त्यतिबेला आफ्नो खाएर पार्टीको काम गथ्र्याैँ हामीले । अहिले काम गर्न त धेरै सुविधाहरु छन् । त्यही पनि अहिले बुर्जुवा पार्टीहरु छन् ती पार्टीमा सामेल भएपछि भव्य धन कमाइएको छ । नाम पनि कमिएको छ ।

    त्यतातिरको आकर्षणले गर्दाखेरी हाम्रो पार्टीमा बस्न मान्छेलाई अप्ठ्यारो हुन्छ असजिलो हुन्छ । हामीलाई छोडेर गएका मान्छेहरुले कतिपयले सम्पत्ति कमाएका छन् । काठमाडौमा महल बनाएका छन, गाडी चढेर हिडिरहेका छन् ।

    त्यसकारण कतिपय मान्छेले भन्ने गरेका छन् कम से कम पार्टी छोडेर अन्त गएपछि आफ्नो बन्दवस्त त ग-यो । तिमीहरुले न त आफ्नो बन्दोवस्त ग¥यौ न त मुलुकमा परिवर्तन ल्याउन सक्यौ भन्छन् । यदि त्यस्तै भावना भएको भए चीनमा परिवर्तन त हुनेथिएन । रुसमा परिवर्तन त हुने थिएन ।

    तर त्यो परिवर्तन त खाए अवसरवादीहरु रसंशोधनवादीहरुले । त्यसकारण जुन समाजमा परिवर्तन ल्याउने मान्छे परिवर्तित भएको छैन, बदलिएको छैन त्यसले समाज बदल्न सक्दै–सक्दैन । आफू बदलिएको पार्टीले मात्र समाज बदल्न सक्छ । त्यसकारण समाज बदल्न, पार्टी बदल्न, नेतृत्वको परिवर्तन गर्न, त्यसको बानी व्यहोरा बदल्न, पनि छोटो समयमा हामीलाई चाहिने वित्तिकै हुँदैन । लामै समयसम्मको संघर्ष, अध्ययन चाहिन्छ ।

    समग्रमा भन्नु पर्दा वामआन्दोलनको अवस्थालाई कसरी उल्लेख गर्नु हुन्छ ?

    अहिले वामआन्दोलनमा अन्तराष्ट्रिय रुपमा नै संशोधनवादको असर परिरहेको छ । अन्तर्राष्ट्रिय क्रान्तिकारी कम्युनिस्ट आन्दोलन कमजोर स्थितिमा छ । हामी पहिले पहिले पार्टीमा लाग्दा जो उत्साह थियो, जो सपना देख्थे मान्छेले, तरअहिले मान्छेमा निराशा पनि आएको छ । के बुझ्दैनन भने अहिलेको जुन राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थिति छ, यो परिस्थिति यस्तै रहन्न । यो परिस्थिति बदल्नको लागि त्यो परिस्थितिभित्रै सम्भावनाहरु छन् । त्यो बदल्न मानिसहरु लागि नै रहेका छन् । त्यसकारण नियम के हुन्छ भने कुनै बेला आन्दोलन चर्काे भएर निकासको रुपमा परिवर्तन भइरहेको हुन्छ । कुनै बेला मन्द भई राखेको हुन्छ ।

    अहिलेको संसारको वामआन्दोलन अलि कमजोर स्थितिमा भएको हुनाले केही मान्छेहरुलाई निराश बनाएको छ । यो अहिलेको परिस्थितिलाई मुठ्ठीभरका शोषक शासकहरुले रँजाई गरिरहेका छन् । बहुसंख्यक जनतामाथि शोषण गरिरहेका छन् । यो अस्थायी हो, त्यसका विरुद्धमा त लगातार शोषितपीडित जनतार उनीहरुले निर्माण गर्दै गएको पार्टी त संगठित हुँदै गइरहेको छ । लडिरहेको छ । त्यसमा बेला बखतमा अप–डाउन भइरहन्छ । यो प्रकृतिको नियम हो । राणाशासनमा लागेकाहरुलाई हतोत्साहित बनाइयो तर उनीहरुले संघर्ष नगरेको भए त राणा शासन जाने थिएन ।

    ठिक त्यस्तै पञ्चायतीव्यवस्थाको विरोध गर्दा मान्छेहरुले हतोत्साहित गराउँथे । असम्भव जस्तो देखिन्थ्यो पञ्चायत फाल्न । राजतन्त्र फाल्न असम्भव जस्तो देखिन्थ्यो । राणाशासनफाल्न असम्भव जस्तो देखिन्थ्यो । साम्राज्यवाद असम्भव जस्तो देखिन्थ्यो । तर आज के भयो ?त्यसकारण अहिले देखिएका साम्राज्यवादी शक्तिहरु पनि जनताका लागि असम्भावित असम्भव उल्टिनै नसक्ने जस्तो लाग्छ तर त्यो कुरा होइन । संसारको नियम यस्तो हो कि कुनै पनि चिज अस्तित्वमा आइसकेपछि त्यसलाई बदल्ने त्यसलाई परिवर्तन गर्ने, गुणहरु, विशेषताहरु, चरित्रहरु, त्यही वस्तुमा हुन्छ । कहिले ढिलो र कहिले चाहि फड्को मार्ने हो एकनासले जाँदैन ।

    त्यसकारणले हामीले यो संसार बदलिन्छौँ र संसार बदल्न सकिन्छ । जबसम्म संसारमा शोषक र शोषितको अस्तित्व रहिरहन्छ । अहिले पनि शोषितको अरवौँको संख्या छ । शोषकहरुको सीमित संख्या छ । उनीहरुले विभिन्न विज्ञानको दुरुपयोग गरेर राज्यसत्ताको दुरुपयोग गरेर ठुलो संख्यामा मानिसलाई शोषण गरिरहेका छन् । अत्याचार गरिरहेका छन् । लुटपाट गरिरहेका छन् । यो अस्थायी कुरा हो । त्यसका विरुद्धमा जनमत तयार हुँदै गइरहेको छ । एक दिन जनताको विजय हुन्छ ।यो संसारमा उनीहरुको हालिमुहाली हुन्छ भनेर हामी विश्वस्त भएर, त्यो सपना देखेर त्यो आशालाई हामीले बोकेर काम गर्नुपर्छ ।

    आफ्नै पालामा हुन्छ कि हुन्न, आफ्ना पालामा भएन भनेर निराश हुन्छन् मान्छेहरु ।अप्ठ्यारो छ एउटा क्रान्तिकारी हुनलाई ।समाज बदल्न मनस्थिति बोकेर हिडेको मान्छेलाई त्यही बाटो टिक्न गाह्रो छ, अप्ठ्यारो छ त्यो मनस्थितिलाई बदल्नको लागि हामीले संसार बदल्नुपर्छ, दर्शन पढ्नु पर्छ, राजनीति पढ्नुपर्छ संगठित हुनुपर्छ । अब मैले बुझी सकेँ मैले नजानेको कुरा केही छैन भनेर हामी रोकियौँ भने हामी क्रान्तिप्रति, भविष्यप्रति, जनताको विश्वास प्रति निराश हुन्छाँै र हामी आफैबाट संगठन स्थगन हुन्छ ।

    केही मान्छेले भागे पनि छोडे पनि त्यो जुन परिवर्तनको प्रवाह हो, त्यो कसैले पनि रोक्न सक्दैन । केही मान्छेहरु भागेर, केही मान्छेहरुले छोडेर, केही मान्छेहरुले संशोधन गरेर केही समय अलमल हुन्छ केही समय भ्रम हुन्छ तर अन्तमा सत्यको जीत हुन्छ ।वास्तवमायो प्रकृतिको नियम हो । निषेधको निषेध हुन्छ र शोषणप्रधान समाजको अन्त्य हुन्छ भन्ने विश्वासका साथ आफ्नो गच्छेबाट सकेसम्म उत्साहित भएरै काम गर्नु पर्छ ।

    पछिल्लो समयमा कतिपय नेता र कार्यकर्ता पार्टीबाट बाहिरिनुको कारण के होला ? त्यसरी बाहिर गएका साथीहरूलाई पार्टीभित्र ल्याउन सम्भव छ वा छैन ?


    कुनै नेता वा कार्यकर्ता विभिन्न कारणले पार्टीबाट बाहिर जाने काम पार्टीमा मानिसहरू आउने जाने काम भइरहन्छ । मानिसहरू विभिन्न उद्देश्य लिएर पार्टीमा आएका हुन्छन् । विभिन्न उद्देश्य वा स्वार्थका कारणले नै बाहिर पनि जान्छन् । कुनै अवस्थामा वैचारिक कारण हुन्छ भने कुनै अवस्थामा अराजनीतिक गतिविधिका कारणले कतिपयलाई पार्टीबाट निकाला गर्नुपर्ने पनि हुन्छ । कोही भ्रममा परेर पार्टीबाट अलग्गिएका हुन्छन् । तर स्पष्ट भएपछि उनीहरू पार्टीमा पुनः फर्किएर पनि आउँछन् ।

    तपाईले देखिरहनु भएको छ नि यो पार्टी दक्षिणपन्थी भयो यो पार्टी अवसरवादी भयो भनेर पार्टी छोडेर गएका साथीहरु फेरि पार्टीभित्र फर्किएर काम गरिरहनु भएको छ ।हामीलाई नेता र कार्यकर्ताहरु बढीभएर हामीले लखेटेका त हैनौँ नि । आठौँ महाधिवेशनमा कयौँ दिनसम्म बहस, छलफल भएको हो त । ७–८ महिनासम्म त हाम्रो सेलसम्म राजनीतिक बहस भएको हो । राष्ट्रिय अन्तराष्ट्रिय, बहुदलीयव्यवस्था, गणतन्त्र, यी यावत कुराबारे छलफल भएको थियो । विभिन्न साथीहरुलाइ डकुमेन्ट पेश गर्ने अधिकार थियो र कतिपय साथीहरुले पेश पनि गरे । त्यसको छिनोफानो कहाँ गर्ने हो त छिनोफानो गर्ने त महाधिवेशनमा हो । महाधिवेशनमा छिनोफानो गरेर हारेपछि फेरि अर्काे पार्टी खोल्न पाइन्छ ?ल भन्नुस् हामीले लखेटेको हो कि उहाँहरु हिँडेको हो ?पार्टी हाम्रो मात्रै पेवा त हैन । उहाँहरुको प्रवृत्तिका कारणलले नै उहाँहरु हिड्नु भएको हो ।

    २०४८ सालको चुनावमा भाग लिनुपर्छ भन्नेमा मत बहुमतमा थिएँ त । भाग लिनु पर्छ भन्नेमा केन्द्रीय समितिमा नै बहुमत थियो, पीबीमा पनि बहुमत थियो । तर अहिले हुन गइरहेको संसदीय चुनावको बहिष्कार गर्नुपर्छ भनेर राष्ट्रिय सम्मेलनले फैसला गरेपछि मैले भनेको भएन, मेरो पराजित भयो भनेर त्यति बेलै चित्रबहादुरले अर्काेपार्टी बनाउन सक्नेथिए नि । जब कि त्यो बेला चुनावको पक्षमा केन्द्रीय समिति नै बहुमतमा थियो । उहाँहरु त आठ महिनासम्म केन्द्रीय समितिमा छलफल गरेर आफ्नो लाइन फेल भएपछि पार्टी छोडेर हिड्न पाइन्छ?त्यसकारणले उहाँहरुको प्रवृत्तिले दुःख दियो । कतिलाई व्यक्तिगत महत्वकांक्षा भयो होला, कतिलाई डाहा पनि भयो होला । पार्टीलाई हामीले हाम्रो मात्रै भनेका छौँ र? यहाँ भिन्न मत राखेका साथीहरूले पनि काम गरिरहेका छन् त । त्यसो हुनाले उहाँहरुले गल्ति गर्नुभएको छ । उहाँहरूले आरोप लगाएको के हो भने चुनावलाई पार्टीले रणनीतिक बनायो । निरन्तर भाग लिइरह्यो । यति भनेपछि अहिले उहाँहरूले पनि भाग लिनु भएको छ ।

    तर त्यो काम उहाँहरूले प्रतिगमनसितमिलेर गर्दै हुनुहुन्छ । जसलाई नेपाली कांग्रेस, माओवादी, संशोधनवादीहरुले समेत प्रतिगमन बताएका बताएका छन् र त्यहीओलीको पार्टीभित्रबाट समेत निस्केर प्रतिगमन विरुद्ध संघर्ष गरिरहेका बेला कमसेकम हाम्रो पार्टीबाट निस्केर गएका साथीहरूले प्रतिगमनका पक्षधरसित मिल्नु हुँदैन्थ्यो ।जहाँसम्म पुनः पार्टीमा ल्याउने कुरा छ, त्यो हामीले निर्णय गर्ने कुरा होइन । पार्टीमा आउन सबैलाई अधिकार छ तर पार्टीका नीति र विधिलाई मानेर पार्टीमा बस्नु पर्दछ । पार्टीबाट निस्केपछि कोही माओवादीमा सामेल भएका छन् । कोही एमालेमा पनि सामेल भएका छन् । कोही छुट्टै समूह बनाएर पनि रहेका छन् ।

    उनीहरूलाई हाम्रो पार्टीमा चित्त बुझेन होला । त्यसैले हामीले त्यसलाई ठिकै छ भन्छौँ । सच्चिएर उनीहरू आफै आए भने ठीकै छ, भइहाल्यो । तर जसरी गएका छन्, त्यसबारे विचार नगरी उनीहरूलाई ल्याउँदा खेरी फेरि अर्काे समस्या हुन्छ । एउटै समस्यालाई बारम्बार दोहोरिन दिनु हुँदैन ।
    (अन्तर्वार्ताः विद्यानाथ अधिकारी र गोविन्द शर्मा)

     

     

    https://www.youtube.com/watch?fbclid=IwAR1t4FCWDE4xSQhsYEvhCtSPVwEfYvOAY4U34zx6pJnSKJR2EA2tKUqnZ5Q&v=eeo8z7y5M-M&feature=youtu.be
    मङ्गलबार, बैशाख २७, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अस्वस्थ भए पनि मसालप्रति प्रतिबद्ध छु
    हामीले बन्दुक र वम बोकेर मैदानमा उत्रिनुपर्ने दिन नआओस् : विद्यार्थी नेता सुवास जिसी
    ‘अहिलेको सरकारले धनीहरूलाई अझै धनी बनाउने, गरिबलाई उठिबास गराउनेमा छ : मिना पुन’
    महिला र दलित समुदायका लागि बेग्लै निर्वाचन क्षेत्र निर्धारणबारे अधिवक्ता पदम रोका के भन्नुहुन्छ ?
    महिला र दलित समुदायका लागि बेग्लै निर्वाचन क्षेत्र निर्धारणबारे
    जेनजी आन्दोलनको ठुलो असर नेपालको कम्युनिस्ट आन्दोलनमा पर्‍यो : पुरी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.