काठमाडौं । राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले आगामी निर्वाचनमा एमाले र राजावादी शक्तिसँग तालमेल नहुने स्पष्ट पार्नुभएको छ ।
अन्य शक्तिसँग भने आवश्यकताका आधारमा तालमेल गर्न सकिने महासचिव भट्टको भनाई छ । यद्यपी भट्टले पाँच दलीय गठबन्धनबाट राजमो अलग भइसकेको अवस्थामा पार्टीले एक्लै निर्वाचन लड्न सक्ने बताउनुभएको छ ।
स्थानीय रुपमा केन्द्रीय नीति अनुसार कोसँग तालमेल गर्ने वा नगर्ने अधिकार पार्टीले जिल्ला समितिलाई प्रदान गरेको पनि उहाँले स्पष्ट पार्नुभएको छ । सो नीति अन्तर्गत बागलुङमा पनि एमाले र राजावादी शक्तिबाहेक अन्य दलहरुसँग तालमेल हुनसक्ने उहाँले संकेत गर्नुभएको छ ।
एक सञ्चारमाध्यममा आफ्नो भनाई तोडमोड गरी प्रकाशन गरिएको भन्दै भट्टले त्यस सम्बन्धी स्पष्टीकरण दिनुभएको छ ।
स्पष्टीकरण
एउटा अनलाइन पत्रिकाले विभिन्न विषयमा मसँग लिएको प्रतिक्रियाले केही भ्रम उत्पन्न हुन गएकोले स्पष्ट गर्न यो प्रेस टिप्पणी जारी गरेको छु ।
१) पत्रिकाले मेरो हवाला दिएर आगामी स्थानीय तहको निर्वाचनमा हाम्रो दलले कसैसँग सहकार्य नगर्ने बैठकले निर्णय गरेको भनेर समाचार प्रकाशन गरेको छ ।
मैले आगामी स्थानीय निर्वाचनमा राष्ट्रिय जनमोर्चाको कसैसँग सहकार्य नगर्ने निर्णय भएको भनेको नभएर अहिले देशको समग्र अवस्था हेर्दा हामी एक्लै चुनावमा जानुपर्ने परिस्थिति देखा परिरहेको छ भनेर भनेको थिएँ । एमाले र राजावादीसँग कुनै पनि स्तरमा तालमेल नगर्ने पार्टीको नीति रहेको छ । पाँच दलीय गठबन्धनबाट हाम्रो पार्टी अलग भएको अवस्थामा समेत चुनावी तालमेलका लागि कैयौँ समस्या पैदा भएको देखिन्छ । स्वयं पाँच दलीय गठबन्धनभित्र नेकाले चुनावी तालमेललाई अस्वीकार गरी रहेको अवस्था छ । पाँच दलीय गठबन्धनमा आबद्ध भएको अवस्थामा माओवादी र एकीकृत समाजवादीले नेकालाई छोडेर वा अलग गरेर हामीसँग चुनावी तालमेल गर्ने सम्भावना पनि कमजोर देखिएको छ । यी सबै अवस्थामाथि ध्यान दिंदा स्थानीय निर्वाचनमा हामी करिब करिब एक्लै निर्वाचन लड्नुपर्ने देखिएको छ भनेर प्रतिक्रिया दिएको थिएँ ।
२) बागलुङ जिल्ला स्थानीय तहको निर्वाचनको सवालमा बागलुङ जिल्लाले कोसँग तालमेल गर्ने वा नगर्ने सम्बन्धमा मेरो नामबाट व्यक्त प्रतिक्रियाले पनि केही भ्रम उत्पन्न भएको छ । स्थानीय रुपमा केन्द्रीय नीति अनुसार कोसँग तालमेल गर्ने वा नगर्ने अधिकार पार्टीले जिल्ला समितिलाई प्रदान गरेको छ । जिल्ला समितिले आफ्नो जिल्लाको आवश्यकता तथा हामीसँग चुनावी तालमेल गर्न खोजेका सम्बन्धित पक्षसँगको वार्ता र समझदारीका आधारमा नै चुनावी तालमेल हुन सक्ने पार्टीको नीति रहेकोले पत्रिकामा अन्यथा प्रकाशन भएकोले यो स्पष्टिकरण दिएको छु ।
धन्यवाद!