काठमाडौं । वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका संयोजक विश्वभक्त दुलाल ‘आहुति’ ले एमसीसी संसदबाट पारित हुँदैमा यो लागू नहुने बताउनु भयो ।
शुक्रबार एमसीसीविरुद्ध ८ राजनीतिक दलले राजधानीमा आयोजना गरेको विरोध सभामा बोल्दै आहुतीले संसदबाट एमसीसी पास भएपनि जनताले पास नगरेको र खारेज गरीछाड्ने बताउनु भयो।
उहाँले भने, ‘एमसीसीविरुद्ध बानेश्वरमा आन्दोलन गर्दैगर्दा संसदबाट एमसीसी पास भयो रे भन्ने सुनेर कतिपय साथीहरु निराश भएर घर फर्किए। तर, संसदले पास गर्दैमा एमसीसी जनताले पास गरेका छैनन्। यो सडकबाटै खारेज गरिन्छ।’
उहाँले संसदबाट पारित भएर मात्रै एमसीसी लागू नभएको बरु धेरै अगाडिबाट जवर्जस्ती कार्यान्वयन भइरहेको बताउनु भयो।
एमसीसीको लागि भन्दै धेरै पहिले नै मासिक १६ लाख भाडा तिरेर एमसीए अफिस राखिएको, एक लाख रुख काट्न आदेश दिइएको, विद्युत नियमन आयोग गठनको आदेश दिइएको, जग्गा अधिग्रहण भइरहेको तथा झण्डै साढे चार अर्ब रुपैयाँ खर्च भइसकेको उहाँले बताउनु भयो।
‘त्यसकारण एमसीसी संसदले पास गरेर लागू हुने होइन, पहिल्यैदेखि जवर्जस्ती लागू गर्न खोजिएको थियो। संसदले पारित गरेपनि त्यसलाई देशभक्त जनताले अस्वीकार गर्नुपर्छ।’
उहाँले अमेरिकाको संसारमा जित मात्रै नभएर धेरै ठाउँमा हार पनि भएको उल्लेख गर्दै नेपालमा पनि अमेरिकी साम्राज्यवादले हार ब्यहोर्नुपर्ने चेतावनी दिनु भयो।
उनले १२ बुँदे व्याख्यात्मक घोषणालाई ‘चटक’ को संज्ञा पनि दिनु भयो।
यस्तै, नेता आहुतीले नारायणकाजी श्रेष्ठ प्रकाश र गिरिराजमणि पोखरेललाई माओवादीसँग सम्बन्ध विच्छेद गरेर राष्ट्रियताको आन्दोलनमा सहभागी हुन आह्वान पनि गर्नु भयो।