रश्मिराज नेपाली, कार्यकारी अध्यक्ष, राष्ट्रिय जनमोर्चा
तपाईं पहिलो संविधानसभामा सभासद हुनुहुन्थ्यो, त्यो संविधानसभा संविधान नै नबनाईकन विघटन भयो । त्यतिबेलाका केही अनुभवहरु बताइदिनुहोस् न ।
पहिलो संविधानसभा संविधान नै नबनाइकन विघटन भयो । तर, संविधानसभाले सबै काम टुंग्याईसकेको थियो । केवल संविधान घोषणा हुन सकेन । त्यसका विभिन्न कारण छन् । मुख्यतः नेपालको संविधानमा विदेशीहरुको ‘इन्ट्रेस्ट’ र दबाबका कारण संविधानसभा संविधान नै नबनाईकन विघटन हुन पुग्यो ।
नेपालमा संघीय राज्य व्यवस्थाको प्रवेश विदेशीको इसारामा ल्याइएको कुरा त प्रष्ट छ । अन्तरिम संविधानमा चोर बाटोबाट प्र्रवेश गराइएको संघीयता संविधानसभा हुँदै नयाँ संविधानमा पनि आयो ।
नेपालमा संघीय व्यवस्था कायम गराउन खोज्ने विदेशी शक्तिहरुको आ–आफ्नै ‘इन्ट्रेस्ट’ छ । अमेरिकी साम्राज्यवाद, युरोपियन युनियन लगायतका पश्चिमा मुलुकहरु जातीय खालको संघीय व्यवस्था लागू गराएर नेपाललाई जातीय द्धन्द्धमा फसाउने षडयन्त्रमा छन्। यता भारतले क्षेत्रीय प्रकारको संघीयता लागू गराएर तराईलाई हिमाल र पहाडबाट अलग गराउने र कालान्तरमा तराई टुक्राएर भारतमा गाभ्ने योजनाका साथ काम अगाडि बढाइरहेको छ ।
पहिलो संविधानसभामा विदेशी शक्तिहरुको थेग्नै नसक्ने दबाब कायम थियो । पश्चिमा मुलुकहरुले नेपालका जातीवादी शक्तिहरुलाई उचालेका थिए भने भारतले मधेशवादी दलहरुलाई प्रयोग गरिरहेको थियो । यि शक्तिहरुलाई तत्कालिन माओवादीले साथ दिइरहेको थियो । संविधानसभामा दोस्रो र तेस्रो शक्तिका रुपमा रहेका कांग्रेस र एमालेले पनि विदेशी दबाब सामु दह्रोगरी खुट्टा टेक्न सकेनन् । परिणामस्वरुप पहिलो संविधानसभा त्यत्तिकै विघटन भयो ।
तर, दोस्रो संविधानसभामा भने प्रमुख दलहरुले विदेशी दबाबलाई बेवास्ता गरेका कारण संविधान बन्न सम्भव भएको हो । संविधान बन्न नदिन वा आफ्ना ‘इन्ट्रेस्ट’ संविधानमा घुसाउन भारतले पुरै शक्ति लगाएको थियो । त्यसका बावजुद पनि नेपालले संविधान घोषणा गरेका कारण हामीले पाँच महिना लामो नाकाबन्दी ब्यहोर्न बाध्य भयौँ ।
असोज १० गते राष्ट्रिय जनमोर्चाले देशका पाँचवटा प्रमुख शहरहरुमा जनसभा सम्पन्न गरेको छ, त्यसको सन्देश के हो ?
तत्कालिन अन्तरिम संविधानमा संघीयता प्रवेश गराएकै दिनेदेखि राष्ट्रिय जनमोर्चा संघर्षमा रहेको कुरा त आम रुपमा थाह भएकै कुरा हो । संघीयताको विरोधसहित राष्ट्रियता, गणतन्त्र र धर्मनिरपेक्षताको रक्षाका लागि हामी लगातार संघर्षमा छौँ । त्यसबाहेक जनताको जनजीवीकासित प्रत्यक्ष जोडिएका विषयलाई पनि हामीले आन्दोलनको रुपमा उठान गरिरहेका छौँ ।
संघीयताबारे सुरु–सुरुमा आम जनतामाथि ठुलो भ्रम थियो । संघीयतावादीहरुले देशको विकास र जनतालाई घरघरमै सिंहदरबार पु-याएर। सेवा सुविधा प्रदान गर्न संघीयता कायम गर्न खोजिएको भ्रम दिएका थिए । तर, व्यवहारले अब क्रमशः ति भ्रमहरु टुट्दै गएका छन् । संघीयताकै कारण पहाड र हिमालबाट ८ वटा जिल्ला अलग बनाएर २ नं प्रदेश कायम गरिएको छ । त्यो प्रदेशले केन्द्रीय सरकारसँग गरेको व्यवहार, त्यहाँ भारतीय साम्राज्यवादको चलखेल सबै नेपाली जनताले प्रष्टसँग देखिरहेका छन् । तीन तहका सरकार पाल्न जनतालाई चर्को करको मारमा पारिएको छ ।
यी सबै कारणले जनता अब संघीयताविरुद्ध जागरुक हुँदै गइरहेका छन् । हाम्रो पार्टीले जनतालाई अझ जागरुक गराउँदै संघीयता विरुद्ध जनमत सृजना गर्ने प्रयास गरिरहेको छ । त्यो सँगै जनताको निकै ठुलो बलिदानीपूर्ण संघर्षबाट प्राप्त गणतन्त्र र धर्मनिरपेक्षता शासकहरुको अदुरदर्शी कार्यप्रणाली एवं प्रतिगामी शक्तिहरुको चलखेलका कारण खतरामा पर्दै गएका छन् । तिनको रक्षा गर्नु पनि हाम्रो दायित्व हो । त्यसकारण हाम्रो पार्टीले यिनै विषयलाई लिएर आन्दोलनको घोषणा अन्तर्गत असोज १० गते पाँचवटा प्रदेशका राजधानी शहर सिमरा, काठमाडौं, बुटवल, सुर्खेत र धनगढीमा जनसभाका कार्यक्रम सम्पन्न गरेको छ । अब यस्तै, कार्यक्रम असोज १५ गते पोखरा र तत्कालै १ नं प्रदेशको इटहरीमा पनि आयोजना गर्दैछौँ । यही सन्देशसहित हामी यो वर्षभरीका कार्यक्रम घोषणा गरी संघर्षलाई अगाडि बढाउँदैछौँ ।
यस अरुन्तर्गत हाम्रो पार्टीले जनतासँग जोडिएका विभिन्न विषयमा सबै जनवर्गीय संगठनलाई अहिले देखि चैत महिनासम्म आन्दोलन अघि बढाउने जिम्मेवारी दिएको छ । राष्ट्रिय जनमोर्चाले राष्ट्रियता, गणतन्त्र र धर्मनिरपेक्षताको विषयलाई लिएर अघि बढाउँदैछ । यस्तै, विद्यार्थी संगठनले संघीयता र विद्यार्थीसँग जोडिएका विषयमा आन्दोलन केन्द्रित गर्नेछ । युवा, किसान, महिला, मजदुरलगायत सबै जनवर्गीय संगठनलाई पनि विभिन्न विषय दिईएको छ ।
कतिपय मानिसहरुले अब गणतन्त्र र धर्मनिरपेक्षता संस्थागत भइसके, राष्ट्रियता पनि पहिलेभन्दा मजबुत हुँदै गएको छ भन्छन् नि ?
नेपालको राष्ट्रियता अहिले झन् कमजोर हुँदै गइरहेको छ । विदेशीको प्रत्यक्ष–अप्रत्यक्ष दबाब अत्यन्तै बढेर गएको छ । आइएनजीओको प्रतिनिधिका रुपमा कुटनीतिज्ञहरु एवं ‘र’ का एजेण्टहरुको देशमा बाक्लो उपस्थिति छ । भारतीयहरुलाई ठूलो संख्यामा नागरिकता दिने प्रयत्न भइरहेको छ । सीमा अतिक्रमण पनि त्यत्तिकै बढेर गएको छ । सिमानामा बाँधहरु बाँधेर नेपाली बस्ती डुबाउने काम भइरहेको छ । तर, त्यसविरुद्ध वर्तमान सरकार बोल्न सकेको छैन ।
भारतले कस्मिरमाथि गरेको हस्तक्षेपले नेपालमाथि खतराको संकेत गरेको छ । भारतले जसरी सिक्किमलाई निल्यो, नेपाललाई पनि त्यसरी नै निल्ने योजना बनाइरहेको छ । सिक्किममा भारतले गरेको आक्रमण विरुद्ध पाकिस्तान बाहेक विश्वका कुनै पनि राष्ट्र बोलेनन् । नेपाल पनि बोलेन । यसले नेपालमाथि पनि भोलि यस्तै हस्तक्षेप हुँदै जाने हो भने पनि उनीहरु चुपै लाग्ने स्थिति आउन सक्छ ।
यस्तै, राजावादीहरुको चलखेल बढ्दै जाँदा गणतन्त्र र धर्मनिरपेक्षता माथि पनि खतरा बढ्दै गएको छ । प्रधानमन्त्री आफै क्रिश्चियनहरुको ‘होली वाइन’ कार्यक्रममा सामेल हुन्छन् । यसले धर्म निरपेक्षताको नाममा धर्म परिवर्तन गराउन चाहनेहरुलाई बल पुगिरहेको देखिन्छ । यसले गर्दा राष्ट्रियता, गणतन्त्र र धर्म निरपेक्षता तीन वटै विषयमा आन्दोलन अघि बढाउनु पर्ने आवश्यकता उत्पन्न भयो ।
पछिल्लो समयमा जनताका अधिकार कुण्ठित पार्ने प्रयास भइरहेका छन् । त्यस्तै, भ्रष्टाचार अत्यन्तै बढेर गएको छ । समयमा काम नहुने, ठेक्का पट्टामा अनियमितता हुने घटनाहरु सामान्य बन्न थालेका छन् । महंगी सरकारको नियन्त्रण भन्दा बाहिर छ । यसले जनताको जनजीवीका कष्टकर बन्दै गइरहेको छ ।
त्यसकारण जवसम्म जनताका अधिकारहरु सुरक्षित हुँदैनन्, गणतन्त्र सुदृढीकरण हुँदैन, धर्म निरपेक्षता सुदृढ हुँदैन, राष्ट्रियतामाथि चलखेल भइरहन्छ हाम्रो आन्दोलन जारी रहन्छ । त्यसको सन्दर्भमा असोज १० देखि पहिलो चरणको आन्दोलन सुरु भएको छ । यसले निरन्तरता पाउँछ ।
तपाई भू तथा पर्यावरण संरक्षण राष्ट्रिय अभियानको अध्यक्ष पनि हुनुहुन्छ । यसको आवश्यकता किन प-यो ?
यो अभियानले विश्वव्यापी रुपमा प्रकृतिलाई समाप्त पार्ने मानव सिर्जित अवरोधको विरोध गर्दछ । नदी, हिमाल, वनजंगल, वर्षालाई समाप्त पार्ने गरी विकसित देशहरुले चलाइरहेको औद्योगिकरणका कारण मानवलाई बाँच्न गाह्रो अवस्था पैदा भएको छ । ठूला राष्ट्रहरुले स्थापना गरेका उद्योगधन्दा तथा आणविक भट्टीहरुका कारण हाम्रो जस्ता देशले उद्योगधन्दा स्थापना नगरे पनि जलवायु परिवर्तनको असर खेप्न बाध्य छौँ ।
आणविक भट्टी, ठूला–ठुला उद्योगधन्दा आदिका कारण पृथ्वीको बनोट मै परिवर्तन हुँदै गएको छ । ठूला देशहरुले उत्सर्जन गरेको कार्वनले विश्वलाई असर परिरहेको छ । त्यसको परिणाम हिमाल पग्लिरहेको छ । हिमाल पग्लेर कालो पहाड देखिन थालेको छ । हिम ताल फुटेका छन् । समुन्द्रको पानीको सतह बढेर टापुहरु डुब्दै छन् । अतिवृष्टि, अनावृष्टि भइरहेको छ । जलवायू पविर्तनको असर विश्वलाई नै परिहेको छ । यसप्रकारको विश्वव्यापी प्रकृतिलाई समाप्त पार्ने विरुद्ध हामीले भू तथा पर्यावरण राष्ट्रिय अभियान स्थापना गरेर आन्दोलन सुरु गरेका हौँ ।
नेपालमा पनि प्रकृतिको दोहन ब्यापक रुपमा हुँदै गएको छ । जथाभावी वन जंगल फँडानी, जनतालाई असर पार्ने गरी उद्योगधन्दाको स्थापना आदिका विरुद्ध जनतालाई जागरुक बनाउने तथा सरकारलाई दबाब दिने काम गरिरहेका छौँ ।
जलवायू परिवर्तन विश्वब्यापी समस्या हो । यो अभियानले अन्तर्राष्ट्रिय समूदायसँग कसरी सहकार्य गरेको छ ?
निश्चयनै जलवायू परिवर्तनको असर विश्वलाई नै परिरहेको छ । विकसित देशहरुले जथाभावी कार्वन उत्सर्जन गर्दा हामी जस्ता अविकसित देशहरु यसको प्रत्यक्ष मारमा छन् । विश्व पुँजीवादले नाफाका लागि पृथ्वीको दोहन गरेर मानव जाती तथा कैयौँ जीवजन्तुको अस्तित्व नै नामेट पार्ने अवस्था निम्त्याइरहेको छ ।
यसप्रकारको विश्वव्यापी समस्यालाई कुनै एक राष्ट्र वा कुनै एक भूगोलले मात्रै सम्बोधन गरेर पुग्दैन । त्यसकारण हामीले पनि विश्वका विभिन्न कम्युनिस्ट पार्टीमा आबद्ध यस्तै संगठनहरुसँग सम्बन्ध स्थापित गरी विश्वव्यापी रुपमै काम गरिरहेका छौँ । त्यसक्रममा हामीले एउटा अन्तर्राष्ट्रिय र एउटा एसियाली स्तरको सम्मेलन पनि गरेका छौँ । भावी सन्ततीका लागि प्रकृति बचाउनुपर्छ भन्ने विश्वका विभिन्न देशका संगठनहरुसँग सहकार्य गर्ने प्रयत्न गरिरहेका छौँ ।
अब प्रशंग बदलौँ, तपाईं पुरानो पुस्ताको नेता, धेरै जनाको राजनीतिक प्रेरणा स्रोत हुनुहुन्छ। अलिकति पारिवारिक अवस्थासहित राजनीतिमा लाग्न कसरी प्रेरणा पाउनुभयो, बताइदिनुहोस् न ?
हाम्रो पारिवारिक बनोट सामन्ती खालको हो । उदयपुरमा पहिको राजपरिवारसँग जोडिएको परिवार हो । प्युठानमा भुरे टाकुरे उदयपुर राज्य थियो । त्यही राजपरिवार भित्र माहिलो चौतारिया परिवारभित्र मेरो जन्म भएको हो । २०१६ सालमा राज्यवृत उन्मुलन भएपछि हाम्रो राज्य समाप्त भएको हो ।
मेरो जन्म वि.सं. १९९८ सालमा भएको हो । परिवारमा हामी पाँच बहिनी थियौं । दुई दिदी, एक दाजु हुनुहुन्थ्यो । मेरा पढाई गाउँघरमा बुबालाई गाउँलेले आफै खर्च गरेर गाउँमा गुरु राखेर गाउँमै अध्ययन सुरु भयो । धार्मिक कितावहरु चण्डी, अमरकोष लगायतका पुस्तकको पढाई हुन्थ्यो । पछि २००९ सालमा हाम्रो गाउँमा हाम्रै परिवारभित्रका व्यक्तिले मोहन शमसेरको प्रधानमन्त्रीकालमा आधार स्कूल स्वीकृत गराएर ल्याए । त्यही स्कूलबाट मेरो पढाई शुरु भयो । त्यतिबेलाको श्री सुन्नानी आधार मिडिल स्कूल, उदयपुर मर्कवाङ अहिले प्यूठान जिल्लामा पर्छ । त्यो विद्यालय अहिले +२ भएको छ । त्यहीबाट ५ कक्षा पास गरेर २०१३ सालमा पद्मोदय पब्लिक हाइस्कूल दाङको घोराही पढ्न आएँ । त्यहाँ आएपछि हाम्रो भिनाजु दाङको कम्युनिस्ट पार्टीसँग सम्बन्धित किसान संघमा हुनुहुन्थ्यो । वहाँको संगत र प्रेरणाले राजनीतिमा लाग्ने वातावरण बन्दै गयो ।
अर्कोतिर प्यूठानमा मोहन विक्रम सिंहको नेतृत्वमा किसान आन्दोलन सुरु भएको थियो । प्यूठानमा चल्ने विभिन्न आन्दोलन जस्तो सदरमुकाम सार्ने आन्दोलन, जाली, फटाहा विरुद्धको आन्दोलनमा म पनि सरिक भएँ । त्यहीँ बाट म राजनीतिमा सरिक हुँदै गएँ । सुरुमा सबै कुरा बुझेर राजनीतिमा लागेको होइन तर आन्दोलनमा सरिक हुँदै जाँदा राजनीतिबारे बुझ्दै गएँ ।
दाङ २ वर्ष बसियो । त्यसपछि भारतको राजस्थान मेरा साइला बुबासँग पढ्न गएँ । त्यहाँ बस्ने अवधि पनि लामो अवधि भएन । पढाईमा त्यति सहज नभएपछि म घर फर्कें । राजनीतिसँग टुटेको कडी फेरि दाङमा पढ्न सुरु गरेपछि जोडियो ।
त्यही बीचमा नेपालमा नयाँ परिवेश शुरु भएको थियो । सीमित प्रजातान्त्रिक व्यवस्था समाप्त भएको थियो । राजा महेन्द्रले विपि कोइरालाको सरकारलाई विस्थापित गरी सत्ता हातमा लिएका थिए । त्यही सन्दर्भमा मैले पढ्दै गरेको पद्मोदय हाईस्कूल घोराहीका विद्यार्थीहरुलेको नेतृत्व गरी आन्दोलन सुरु गरियो । त्यसबाट मलाई देशका कुनै पनि कलेजमाम पढ्न नपाउने गरी निस्कासन गरियो ।
दाङको त्यो विद्यालयमा भारतीय प्रिन्सिपल थिए। विहान कलेज पढाई हुन्थ्यो । दिउँसो फिजिकल टे«निङ शिक्षकका रुपमा पढाउँथे । मैले १० कक्षामा पढ्दापढ्दै २०१९ सालमा ती प्रिन्सिपल र क्याम्पस तथा विद्यालयको अव्यवस्थाका विरुद्ध आन्दोलन चलिरहेको थियो । आन्दोलन २ वर्षसम्म चल्यो । त्यो क्रममा वार्षिक परीक्षा अवरुद्ध गरेपछि म लगायत ६ जना निस्कासनमा परेका हौं । अरु साथीहरुले अभिभावकमार्फत् माफी मागे मैले स्कूल छोडेर भारतको बनारसमा पढ्न गएँ र त्यहीबाट हाइस्कूल पास गरें ।
फेरि दाङमा नै फर्किएर महेन्द्र बहुमुखी कलेजमा आइए पढें । त्यहाँ पनि पंचायती व्यवस्था विरुद्ध आन्दोलन चलिरहेको थियो । म विद्यार्थी इकाईमा आबद्ध थिएँ । आइएमा पहिलो वर्षको परिक्षा दिएपछि वारेन्ट जारी भयो । त्यो अवधिमा पटकपटक गरी साढे तीन वर्ष जेल परें । जेलबाट छुटेपछि भारतको इलाहावादबाट आइए र आग्रा युनिभर्सिटीबाट प्राइभेट जाँच दिएर विए पास गरें ।
आइए पास गरेपछि दाङ आएर शिक्षक भएँ । २०२८ सालमा नयाँ शिक्षक लागु हुँदा आदर्श मावि लालमटियामा स्थायी शिक्षक थिएँ । अहिले त्यो +२ छ । त्यो स्कूलमा पढाउँदा पढाउँदै राजनीति गरेको बाहनामा अधिराज्यभर पढाउन नपाउने गरी २०२९ सालमा दोस्रो चरणमा नयाँ शिक्षा लागु भएसँगै शिक्षकबाट निस्कासन गरियो । त्यसपछि नेकपा (मसाल) का विभिन्न जनसंगठनमा आबद्ध भएर अभिछिन्न रुपमा आन्दोलनमा सामेल छु ।
यसरी मुख्य प्रेरणा स्रोत प्युठानको मोहनविक्रम सिंहको नेतृत्वको किसान आन्दोलन, सामाजिक काममा संलग्न आफ्नै बुवा र परिवारकै सदस्यहरु माणिकलाल, केशवराजहरुको प्रेरणाबाट राजनीति तथा सामाजिक काम गर्न थालेँ ।
राजनीतिमा आबद्ध भएपछि यातना वा जेल जीवनबारे के कस्ता संस्मरण छन् ?
२०१९ सालबाट चलेको दाङको विद्यार्थी आन्दोलन ३-४ वर्षसम्म चल्यो । त्यसक्रममा पटक पटक गिरफ्तारीमा परियो । प्रहरीबाट पटकपटक चरम यातना दिने काम भयो । त्यही क्रममा ३ वर्ष जति चरम यातना सहित जेलमा वस्नुप¥यो । त्यो यातना र जेल जीवनमा क्रममा कम्युनिस्ट पार्टीमा आबद्ध संस्थापक नेताहरुसँग जेल बस्दा आन्दोलनमा लाग्ने थप प्रेरणा प्राप्त भयो । देशमा पंचायती व्यवस्थाको विरुद्ध २०२८, ०३६, ०४६ सालको आन्दोलनमा काठमाडौं, दाङ, बुटवलमा नियमित रुपमा सरिक भएँ । ती आन्दोलनहरुमा पनि कैयौँ पटक प्रहरी हिरासतमा परियो ।
त्यस्तै, प्रतिगमन विरुद्ध काठमाडौं केन्द्रित आन्दोलनका क्रममा गिरफ्तार भएर केही समय जेल बसें ।
अन्त्यमा केही भन्नु छ कि ?
सबैभन्दा महत्वपुर्ण कुरा अहिले हाम्रो राष्ट्रियता अत्यन्तै गम्भीर अवस्थामा छ । यसप्रति देशभक्त शक्तिहरु एकजुट हुन आवश्यक छ । नेपालमाथि भारतीय साम्राज्यवादले विभिन्न क्षेत्रमा हस्तक्षेप गरिरहेको छ । नदीनाला कब्जा गरिरहेको छ । सिमा क्षेत्रमा महलीसागर, खुर्दलोटन, लक्ष्मणपुर लगायतका बाँध बाँधेर तराई डुबाउने काम गरिरहेको छ । तर, त्यसविरुद्ध नेपाली शासकहरु बोलेका छैनन् । काश्मिरमाथिको हस्तक्षेपले नेपालमाथि पनि खतराको संकेत देखिन्छ । यसप्रकारको अवस्थामा राष्ट्रियताको मामिलामा अझ बढी सचेत र संगठित हुन जरुरी छ ।