प्रकाश थापामगर/गोविन्द शर्मा ।।
सानैदेखि काठ, माटाको केहीनकेही नयाँ वस्तु बनाउँदै गरेका जीतेन्द्र ढकालले जब राजधानीको नन्दीरात्री विद्यालयबाट एसएलसी पास गरे, त्यसपछि इन्जिनियरिङ पढ्ने रहरका साथ त्यति बेला त्रिभुवन विश्वविद्यालयले लिने प्रवेशिका (इन्ट्रान्स) परीक्षा दिन पुगे । टियुको नजिताले भनिदियो– ‘तिमी इन्जिनियरिङ पढ्न पाउँदैनौँ ।’ नतिजाले थप भन्यो– ‘तिमी मानविकी भने पढ्न सक्छौ ।’
ढकालले चितवनको बालकुमारी स्कुलमा ८ कक्षासम्म पढेका थिए । त्यसपछि अगाडिको पढाइका लागि काठमाडौँमा आए; र भर्ना भए, नक्सालस्थित नन्दीरात्री स्कुलमा ।
बाबुको भविष्यवाणी
उनी सम्झन्छन्, बाबुले सानै हुँदा भन्ने गर्दथे– ‘यो छोरो वैज्ञानिक बन्छ ।’
बाबुले त्यसै भनेका थिएनन् । त्यसपछाडिको कारण उनको बाल्यकर्म थियो । उनले सानै उमेरमा चितवन हुँदा माटो, काठ—अगाडि जेजस्ता चिजबिज पाइन्छ, त्यसैबाट नयाँ बस्तु बनाउन लागिरहन्थे ।
जीतेन्द्र भन्दछन्– ‘बाबुले भनिपुर्याउनुभएकै हो; जेठो दाजु अजय ढकालबारे बुबा भन्नुहुन्थ्यो, यो नेता बन्छ । मलाई भन्नुहुन्थ्यो– यो चाहिँ वैज्ञानिक बन्छ ।’
उनी सम्झन्छन्, म केही चिज बनाउन थालेँ भने त्यसैमा रनभुल्ल पर्ने गरेको देखेर होला, बुबाले यस्तो धारणा बनाउनुभएको ।
बालकपनदेखिकै नयाँ वस्तु सृजना गर्ने धुन र घरमा आउने मान्छेले समेत यस्ता बालकका लागि इन्जिनियरिङ पढाइ ठिक हुन्छ भन्ने सल्लाहले उनलाई इन्जिनियरिङको पढाइतर्फ आकर्षित गरिरहेको थियो । त्यही उत्कट इच्छा बोकेर उनी काठमाडौँ आए; र नन्दीरात्री स्कुलमा भर्ना भए । तर टियुको नतिजाले उनलाई निराश बनाइदियो ।
‘त्यति बेला एसएलसी पास गरेर इन्ट्रान्स पास गरेपछि जुनसुकै विषय पनि पढ्न पाइन्थ्यो । अहिलेजस्तो के पढ्ने भनेर पहिले नै किटानी हुँदैनथ्यो’ उनी अगाडि भन्छन्– ‘इन्ट्रान्स पेपरमा कुन विषय पढ्ने भनेर दिइएका विभिन्न विकल्पमध्ये एकमा चिनो लगाउनुपर्दथ्यो । मैले इन्जिनियरिङमा चिनो लगाएँ; तर त्यसका लागि मेरो योग्यता पुगेन । मेरो योग्यता मानविकीका लागि पुगेको थियो ।’

गोर्की र एकलव्यको सम्झना
त्यसपछि उनी गोर्की र एकलव्यलाई सम्झन्छन् । उनी भन्छन्, जसरी गोर्की औपचारिक शिक्षाका लागि स्कुल नगइकन महान् साहित्यकार बन्नुभयो; बाहुनको छोरा भएकाले शस्त्रविद्या सिक्न नपाए पनि द्रोणाचार्यलाई गुरु मानेर एकलव्यले शस्त्रविद्या सिकेरै छाडे; मेरो पनि अवस्था त्यही भयो ।
उनले टियुले इन्जिनियरिङ पढ्न स्वीकृति नदिए पनि आफ्नो बाल्यकालदेखिको सिर्जनायात्रालाई निरन्तरता दिने ठेगान गरे ।
तर औपचारिक शिक्षा लिनु नै थियो । उनले राजधानीको सरस्वती क्याम्पसबाट वाणिज्यशास्त्रको पढाइ सुरु गरे ।
स्कुलमा वाणिज्यशास्त्र पढे पनि उनको तन, मन त वैज्ञानिक अनुसन्धानतिरै थियो ।
उनी भन्छन्– ‘इच्छा भएर पढेको होइन वाणिज्यशास्त्र, परिवारका लागि पढेको हुँ ।’
पढाइसँगै अनुसन्धान सुरु
परिवारले छोराले स्कुल पढिरहेकै छ भन्ने पार्नका लागि सरस्वती क्याम्पसमा पढे पनि उनले एकातिर असन नरदेवीस्थित रेडियो पसलमा काम गर्न थाले भने अर्कातिर, विज्ञानसम्बन्धी पुस्तक खोजी खोजी पढ्न थाले । उनको सर्वाधिक रुचि इलेक्ट्रोनिक्स वा मेकानिक्सतिर थियो । उनले भारत र अन्य देशबाट मगाएरै भए पनि यससम्बन्धी पुस्तक पढ्न थाले ।
‘किताब पढेर मात्र भएन, प्राक्टिकल पनि गर्नुपर्यो’ जीतेन्द्र भन्छन्– ‘त्यही प्राक्टिकल ज्ञान प्राप्त होस् भनेर नै रेडियो पसलमा काम गर्न थालेको थिएँ ।’
तर रेडियो मरम्मतमा उनको रुचि थिएन, बरु नयाँ वस्तु सृजना गर्नमा थियो । उनले इलेक्ट्रोनिक्ससम्बन्धी एकल पार्टस् जोडेर नयाँ वस्तु बनाउन ध्यान केन्द्रित गरे ।
उनी भन्छन्– ‘मैले रेडियोजस्तै उपकरण बनाएको थिएँ । त्यो त्यति बेला ठुलै कुरा थियो ।’
परिवारकै लागि भए पनि औपचारिक शिक्षा लिनु थियो । उनले राजनीतिशास्त्र र साहित्यतर्फ स्नातकसम्मको अध्ययन गरेका छन् ।
२०३६ सालतिर पाकिस्तानका राष्ट्रपति जुल्फिकार अली भुट्टोलाई फाँसी दिइएको विरोधमा चलेको विद्यार्थी आन्दोलनमा भाग लिए ।
राजनीतिशास्त्र र साहित्यको पढाइले उनलाई आफ्नो इन्जिनियरिङ अध्ययन केका लागि भन्ने सन्दर्भमा लक्ष्य प्रदान गर्यो ।
चिकित्सा र राजनीतिक पृष्ठभूमि
जीतेन्द्रको परिवार चिकित्साक्षेत्रसित थियो । उनका बुबा नापीशाखाको जागिरे भएर पनि चिकित्सासम्बन्धी काम गर्दथे । अहिले पनि उनको परिवार चिकित्साक्षेत्रमै छ । श्रीमती लक्ष्मी ढकाल टिचिङ अस्पतालमा सिनियर नर्स छिन् । छोरा डा. निशान्त ढकाल फिजिसियन हुन् ।
निशान्त यतिखेर धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा कार्यरत छन् । बुहारी सुबी खरेल ढकाल बङ्गलादेशमा एमडी अध्ययन गरिरहेकी छिन् ।
२०१५ सालमा जन्मेका जीतेन्द्रको परिवार पृथ्वीनारायण शाहको समयमै गोरखाबाट काठमाडौँ आएको थियो । त्यसपछि ढकाल परिवार काठमाडौँ र चितवन भरतपुरको दुई वटा घरमा बस्दै आएको छ । काठमाडौँमा पहिले ढकाल परिवार गौशालामा बस्दथ्यो, पछि महाराजगञ्ज हुँदै अहिले बुढानिलकण्ठ चपलीमा समेत बस्दै आइरहेको छ ।
एकातिर, परिवारको चिकित्सा पृष्ठभूमि; अर्कातिर, वामपन्थी राजनीतिक पृष्ठभूमि । खासगरी वरिष्ठ वामपन्थी नेता मोहनविक्रम सिंहसम्बद्ध कम्युनिस्ट धारको सम्बन्ध । विद्या ढकाल (जलजला) जीतेन्द्रकी दिदी ।
जीतेन्द्र भन्छन्– ‘पञ्चायत कालमा महाराजगञ्जस्थित हाम्रो घर वामपन्थीको सेल्टर नै थियो ।’
ढकाल परिवारकै घरमा कम्युनिस्ट पार्टीका बैठक बस्दथे । नेताहरू उनकै घरमा सेल्टर बस्दथे ।
चिकित्सा र राजनीतिक पृष्ठभूमिले जीतेन्द्रका सामु सामाजिक सेवाको रूपमा वैज्ञानिक अनुसन्धानको लक्ष्य निर्धारण गरिदियो । जीतेन्द्र आजपर्यन्त त्यही मिसनमा अघि बढिरहेका छन् ।
यही मिसनका साथ उनले यतिखेर भेन्टिलेटरको अनुसन्धान अघि बढाइरहेका छन् ।
भेन्टिलेटर
नेपालमै भेन्टिलेटर निर्माण गर्ने उनको विचार २०४० सालतिर जन्मिएको थियो, जति बेला महाराजगञ्जमा टिचिङ अस्पतालको भवन बन्दै थियो । भवन बनाउने ठेक्का जापानी कम्पनीले लिएको थियो ।
उनको घर महाराजगञ्जमै भएकाले चिनेजानेका साथीहरूले जागिर खानका लागि सोधे । जीतेन्द्रले ‘हुन्छ’ भनिदिए ।
‘त्यतिखेर मैले ७०० रुपियाँ मासिकमा जागिर खाएको थिएँ’ उनी भन्छन्– ‘ओभरटाइमसमेत मिलाउँदा मैले महिनामा १,००० कमाउँथे ।’ उनी थप्छन्– ‘त्यति बेला महिनाको १,००० तलब भनेको अधिकृतको भन्दा बढी हुन्थ्यो ।’
तर जीतेन्द्रको चासो भवन निर्माणमा भन्दा पनि जापानी इन्जिनियरसित केही सिक्ने थियो । उनको त्यस खालको चासोप्रति त्यहाँको व्यवस्थापन पक्ष जानकार थियो । त्यही कारणले गर्दा उनलाई इन्जिनियरसँगै काम गर्ने व्यवस्था मिलाइयो ।
कामको दौरानमा उनले भेन्टिलेटरबारे जानकारी पाए । पुस्तकमा यदाकदा पढे पनि उनले त्यसबारे इन्जिनियरसितै प्रत्यक्ष अन्तक्र्रिया गर्ने अवसर त्यतिबेलासम्म पाएका थिएनन् ।
जब इन्जिनियरले भेन्टिलेटर राख्नेबारे कोठा किटान गरे, जीतेन्द्रले त्यसबारे खोजीनीति गर्न थाले । जब जापानी इन्जिनियरले भेन्टिलेटरको परिभाषा ‘कृतिम प्रकारले श्वासप्रश्वास गराउने जीवनदायी यन्त्र’ भनेर दिए, उनी त्यसबाट धेरै नै प्रभावित भए । त्यतिखेरै उनको दिमागमा जिज्ञासा आयो, यस्तो श्वासप्रश्वास गराउने जीवनदायी यन्त्र नेपालमै बनाउन पाए कस्तो हुँदो हो ?
टिचिङ अस्पतालको भवन बन्यो । जापानी ठेकेदार, इन्जिनियर जापान फर्किए । त्यससँगै उनको भेन्टिलेटर बनाउने सपना पनि सुस्तायो । नेपालमा भेन्टिलेटर बनाउने आवश्यक ज्ञान, सामग्री, वातावरण, प्रेरणा केही पनि थिएन ।
सन् २००६ सालतिर उनको त्यो सपना फेरि सतहमा आयो, जब उनका छोरा निशान्तले टिचिङ अस्पतालमा नै एमबिबिएसको पढाइ सुरु गरे । पढाइ चलिरहेकै बेला निशान्तले बाबु जीतेन्द्रसित भने– ‘बाबा, तपाईंले बनाउने भनेको भेन्टिलेटर छिटो बनाउनुपर्यो । त्यसले धेरै मान्छेको जीवन बचाउन सक्छ ।’
जीतेन्द्र झल्याँस्स भए; र, केही चलमलाए । तर उनको त्यो प्रयासले फेरि पनि मूर्त रूप पाउन सकेन । कारण– नेपालमा भेन्टिलेटर बनाउन न त आवश्यक कच्चा पदार्थ थियो, न सरकार वा कसैको सहयोग वा प्रेरणा नै ।
पाँच वर्षअघि सन् २०१५ देखि भने उनी यसै काममा दत्तचित्त भएर लागे । अहिले कोभिड–१९ को अवस्थाले उनलाई प्रयोगशालामै डट्न वातावरण पनि उपलब्ध गराएको छ । त्यसका साथै विश्वव्यापी रूपमा कोभिडको भयावहतालाई ध्यानमा राख्दै उनले त्यससम्बन्धी अनुसन्धानलाई मूर्त रूप दिन प्रयासरत छन् ।
अहिले विदेशबाट भेन्टिलेटर ल्याउँदा १० लाखको हाराहारी पर्ने र बिग्रिएमा स्वदेशमै मरम्मत गर्न नसकिने हुँदा श्वासप्रश्वासजस्तो जीवनदायी प्रयोजनका लागि भेन्टिलेटरको निर्माण छिटो पूरा गर्ने प्रयासमा छन् उनी । अहिले उनले प्रयोगशालामा सम्पन्न गर्नुपर्ने काम करिब–करिब पूरा गरिसकेका छन् ।
उनी भन्छन्– ‘महावीर पुनले भने झैँ प्रयोगशालामा पूरा भएका वैज्ञानिक कर्म बाहिर प्रयोजनमा आउने हिसाबले ५० प्रतिशत मात्रै पूरा हुन्छ । त्यसैले मैले पूरै काम सिध्याएँ भनेर घोषणा गर्न सक्दिनँ ।’
होम सेक्युरिटी सिस्टम
भेन्टिलेटरजस्तै उनको अर्को सफल यन्त्र हो, होम सेक्युरिटी सिस्टम । सन् २००४ मा उनले यस्तो मसिन बनाएका थिए ।

उनले बनाएको यो सिस्टममा सेन्सर प्रणाली जडान गरिएको छ । घरका झ्यालढोकामा यस्तो प्रविधि जडान गरिएको छ, कसैले ढोका खोल्नासाथ सङ्केतस्वरूप बत्ती बल्छ तथा आवाजसमेत आउँछ । होम सेक्युरिटी सिस्टमजडित घरको नजिकैबाट कोही हिँड्यो भने पनि त्यो प्रविधि सक्रिय हुन्छ । त्यसपछि बत्ति बल्छ । आवाज आउँछ । उक्त प्रविधिमा आगलागी भएमा जानकारी दिने प्रविधि पनि जडान गरिएको छ । आगलागी मात्रै होइन, कसैले चुरोट खाएर धुवाँ उडायो भने पनि होम सेक्युरिटी सिस्टम सक्रिय हुन्छ । घरबाहिर रहेको घरधनीको मोबाइलमा फोन जान्छ ।
जीतेन्द्र भन्छन्– ‘घरको सुरक्षा गम्भीर विषय हो । त्यही सुरक्षाको विषयले मलाई होम सेक्युरिटी सिस्टम बनाउन प्रेरित गर्यो ।’
जीतेन्द्रले यस खालको मसिन थुप्रै ठाउँमा जडान गरिसकेको बताउँछन् ।
अहिलेसम्म यस मसिनको व्यावसायिक उत्पादन भइनसकेतापनि अनौपचारिक हिसाबले त्यसको जडान गर्दा एक लाखको हाराहारीमा खर्च आउने उनले बताए ।
सेन्सरयुक्त ढोका (गेट)
अनुसन्धानकर्मी जीतेन्द्रले सेन्सरयुक्त ढोका (गेट) पनि बनाएका छन् । उनले सहरबजारमा प्रयोग हुने फलामको ढोकामा स्वचालित प्रकारले काम गर्ने गरी सेन्सर प्रविधि जडान गरेका छन् ।
हामी घरमा पुग्दा उनले आफूसँग भएको सानो रिमोटले ढोका खोले । १० सेकेन्डपछि ढोका आफै बन्द भयो ।
जीतेन्द्रले उक्त सेन्सरयुक्त ढोका सात फरक–फरक तरिकाबाट खुल्ने जानकारी दिए : एक– ढोका सानो आकारको उनी आफैले बनाएको रिमोटबाट खुल्दछ र आफै बन्द हुन्छ । दुई– मोबाइलमा जडान गरिएको एप्सबाट पनि ढोका खुल्दछ । तीन– जति तल्लाको घर भए पनि प्रत्येक तल्लामा स्विच जडान गरेर त्यहीँ दुई वटा स्विच थिचेर ढोका खुल्छ र बन्द गर्न सकिन्छ । चार– उपर्युक्त ढोका मोसन सेन्सरबाट खुल्ने व्यवस्था गरिएको छ । पाँच– फिङ्गर प्रिन्ट अर्थात् हातका औँलाले छोएर ढोका खुल्छ र बन्द हुन्छ । छ– जीतेन्द्र आफैले बनाएको सेतो कार्डबाट पनि ढोका खुल्दछ; र, सात– उनले बनाएको केही शब्दको वाचन गर्नासाथ ढोका खुल्ने र बन्द हुने गर्दछ ।
सेन्सरयुक्त उक्त ढोकाको नाम उनले राखेका छन्– “अटोमेटिक स्लाइडिङ गेट” ।
गैरव्यावसायिक रूपमा यस्तो ढोका (गेट) दुई लाख रुपियाँमै बन्ने उनको दावी छ ।
दुई लाख रुपियाँको ढोका महङ्गो भयो कि भन्ने जिज्ञासामा उनी भन्छन्– ‘होइन, यो महङ्गो हुँदै होइन ।’ उनले बेलीविस्तार लगाए– ‘२४ घण्टामा तीन सिफ्टका सुरक्षाकर्मीको खर्चभन्दा यो धेरै कम हो । यसलाई मासिक रूपमा भुक्तानी गर्नुपरेन । अर्को कुरा, कसैले सुरक्षाकर्मीलाई प्रभावमा ल्याएर घरमा चोरी गर्ने वा व्यक्तिगत गोपनीयता भङ्ग हुने सम्भावना पनि भएन ।’
उनले “अटोमेटिक स्लाइडिङ गेट” मा सिसिटिभी प्रविधि जडान गरेका छन् । मोबाइलमा वाइफाई जोडेर उनी जताकतैबाट आफ्नो घरको गेट नियाँल्छन्; को मान्छे, कति जना आयो ? प्रत्यक्ष हेर्छन् र घरबाहिर बसी बसी ढोका खोलिदिन्छ र बन्द गर्छन् पनि ।
यस्तो ढोकाको प्रयोगकर्ता को हुन सक्छन् ?
यसबारे जीतेन्द्र भन्छन्– ‘दुई खालका मानिसहरू यस्तो ढोकाको प्रयोगकर्ता हुन सक्छन् : एकथरि सम्भ्रान्त मानिस, जोसित धनसम्पत्ति छ, साथै सुरक्षाको समस्या पनि गम्भीर छ । अर्काथरि, ती मानिस, जसले विदेशमा यस्तो प्रविधि प्रयोग गरे । नेपालमै आएर विदेशमा जस्तै सुविधा प्रयोग गर्न चाहन्छन् । उनीहरूसित यसलाई खरिद गर्न सक्नेजति पैसा हुन्छ । फलस्वरूप उनीहरूले यस्तो ढोका प्रयोग गर्दछन् ।
उपर्युक्त तीन मसिन वा प्रविधिबाहेक पनि जीतेन्द्रले थुप्रै वस्तु निर्माण गरे पनि यी तीन मसिन नै मुख्य सृजना भएको उनी स्वीकार्छन् ।
उनले कसरी वैज्ञानिक अनुसन्धान कर्म गर्छन् ? त्यसबारे हामीले दुई वटा उदाहरण जानकारी आयो ।
कान्तिपुर मिडियाको होली
एक पटक कान्तिपुर मिडियाले बेग्लै प्रकारले होली खेल्ने योजना बनायो । त्यस क्रममा जीतेन्द्रसित सम्पर्क गरियो । उनले बेग्लै प्रकारको होली योजना प्रस्तुत गरे ।
त्यस क्रममा एउटा मिनीट्रकमा तीन वटा पानीको ड्रम राखियो । त्यसमा अलग–अलग रङका पानी भरिए । मिनीट्रकलाई कान्तिपुर मिडियाको प्रचारले रङ्गाइयो । मिनीट्रक तीनकुनेबाट रत्नपार्कमा आएर उभियो । ट्रकमा निश्चित नम्बर डायल गरेर होली खेल्न सकिने सूचना दिइएको थियो । सर्वसाधारणले त्यहाँ दिइएको नम्बर डायल गर्दथे, ड्रमबाट रङ्गीविरङ्गी पानीको फोहरा छुट्दथ्यो ।
एनसेलको उपहार योजना
त्यस्तै, अर्को स्मरणीय योजना एनसेलको थियो । एनसेलले एक पटक उपहार योजना सार्वजनिक गर्यो । योजनानुसार पाठकले मोबाइलबाट एनसेलको प्रचारका लागि हिडिरहेको वाहनमा उल्लेख गरिएको नम्बरमा डायल गर्नुपर्दथ्यो । नम्बर डायल गर्नासाथ घोषित उपहारहरू; जस्तै– रिचार्जकार्ड खस्दथ्यो । जब एनसेलको वाहन कुनै सहरमाझ गएर उभिन्थ्यो, प्रयोगकर्ताहरू वरिपरि झुम्मिएर नम्बर डायल गर्दथे र विभिन्न प्रकारका उपहार प्राप्त गर्दथे ।
जीतेन्द्रले यस्तै प्रकारले साथीहरूको अनौपचारिक आग्रहमा धेरै प्रकारका प्रविधि संयोजन गरेको बताए । ‘तर मैले ती सबै कामको तथ्याङ्क राख्न सकेको छैन’ उनी भन्छन् ।
उनले प्रयोगशालामा विश्वभरिका प्रशिद्ध वैज्ञानिकको फोटा टाँगेका छन् । घरको एउटा कोठा प्रयोगशाला बनाइएको छ । त्यहाँ उनी रातदिन काममा जुट्छन् । वरिपरि, भित्तामा जताततै उनको अनुसन्धानका लागि आवश्यक सामग्री झुण्डिएका छन् ।
उनी भन्छन्– ‘म यसै कोठामा प्रायःजसो रातको १ बजेसम्म काम गर्ने गर्दछु ।’

अनौपचारिक र गैरव्यावसायिकता
जीतेन्द्र ढकाल गोर्की र एकलव्यजस्ता स्वाध्यायनयुक्त अनुसन्धानकर्मी हुन् । उनले जेजति काम गरेका छन्; मसिन र प्रविधिको सृजना गरेका छन्; ती सबै व्यक्तिगत लगानीबाट गरेका छन्; अनौपचारिक रूपमा गरिएका छन् । यही कारण उनका उत्पादनले व्यावसायिक स्वरूप पाएको छैन ।
यद्यपि उनले पारिश्रमिक र लागतखर्च लिएरै भए पनि थुप्रै ठाउँमा होम सेक्युरिटी सिस्टम र अटोमेटिक स्लाइडिङ गेट बनाएका छन् । तर त्यसको स्वरूप व्यावसायिक छैन । उनले कपिराइट सुरक्षित गरेका छैनन् । कुनै कम्पनीसित अनुबन्धित छैनन् । फलस्वरूप कसैबाट उनले आर्थिक समर्थन पाएका छैनन् । हुन त उनले कम्पनी दर्ता गर्न नखोजेका भने होइनन्; तर उनी त्यसमा कटिबद्ध भएर लागेनन् । त्यसैगरी, उत्पादनसित सम्बन्धित कानुनी पाटोलाई पनि उनले व्यवस्थित गर्न सकिरहेका छैनन् ।
उनले अन्तिम चरणतर्फ रहेको दावी गरेको भेन्टिलेटरबारे यही स्थिति देखियो । सर्वप्रथम नेपाल मेडिकल काउन्सिलबाट स्वीकृति लिनुपर्ने, त्यसपछि मात्र कानुनी र कम्पनीसम्बन्धी प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ । तर उनले त्यस दिशातर्फ ठोस कदम चालेका छैनन् ।
सरकारसितको अपेक्षा
वैज्ञानिक अनुसन्धानकर्मी जीतेन्द्र ढकाललाई हामीले सोध्यौँ– तपाईंका वैज्ञानिक अनुसन्धानप्रति राज्यको तर्फबाट सघाइने अपेक्षा राख्नुहुन्छ ?
उनको जवाफ थियो– ‘महावीर पुनको उदाहरण काफी छ । उनले आफ्नो वैज्ञानिक अनुसन्धान केन्द्रका लागि बजेट पाउन सकेका छैनन् भने मैले सरकारसित के आशा गरूँ ?’
उनीसित विदा भएर फर्कंदै गर्दा हाम्रो मनमस्तिष्कले भनिरहेको थियो– जनता कोभिडले हताहत भइरहेका बेला सबै काम छोडेर जनताको ज्यान बनाउनतिर लाग्नुपर्नेमा स्वास्थ्य सामग्रीमा समेत भ्रष्टाचारको गन्ध आउने र त्यसप्रति मूकदर्शक बन्ने सरकारसित गोर्की र एकलव्यजस्ता स्वाध्यायनयुक्त अनुसन्धानकर्मी जीतेन्द्रले के अपेक्षा गर्नु ?