दुर्गानाथ खरेल
मानव समाजमा परिवारको पहिलो चरण हाडनाता (रक्तसम्बन्ध) मा आधारित परिवार हो। एउटै बूढी महिलाबाट जन्मेका सन्तान-दरसन्तानहरू एउटै परिवारका रूपमा रहन्थे। यो स्वाभाविक र प्राकृतिक किसिमको परिवार थियो। त्यो परिवारकी सबैभन्दा बूढी महिला स्वाभाविक रूपमा परिवारकी नेता हुन्थिन्। उनको निर्देशन सबैले पालना गर्थे र कसैले अवज्ञा गर्दैनथे। उमेर पुगेका पुरुष र महिलाबिच स्वाभाविक रूपमा यौन सम्बन्ध कायम हुन्थ्यो। फलफूल र कन्दमूल खोजेर आहारको व्यवस्था गर्ने काम हुन्थ्यो। ती सामग्रीको वितरण पनि तिनै बूढी महिलाले सबैलाई बराबरी हुने गरी गर्थिन्। कसैलाई काखा र कसैलाई पाखा गर्ने गरी भेदभाव हुँदैनथ्यो। बिहानभरि जम्मा गरेका फलफूल र कन्दमूलले बिहानको खाना मुस्किलले पुग्थ्यो। दिनभरि लागेर जम्मा गरेका फलफूल र कन्दमूलले बेलुकीको खाना मुस्किलले पुग्थ्यो। बचत हुने र बचत गर्ने अभ्यास थिएन। उनीहरू जंगलमा रहन्थे, जंगलमै डुल्थे र आहारा जम्मा गरेर गुजारा चलाउनेबाहेक अरू उद्देश्य हुँदैनथ्यो।
मानव चेतना बढ्दै गएपछि यौन सम्बन्धमा पहिलो प्रतिबन्ध बाबुआमा र छोराछोरीबिचको पुस्तागत सम्बन्धका आधारमा लगाइयो। दोस्रो प्रतिबन्ध दाजुभाइ र दिदीबहिनीबिचको यौन सम्बन्धमा लगाइयो। रगतको नाता नपर्ने अर्को परिवारका महिलाहरू र पुरुषहरूबिच स्वाभाविक रूपमा सामूहिक विवाह गर्ने चलन चलाइयो। त्यसमा उमेर पुगेका सबै महिला र पुरुष एकअर्काका पति र पत्नी हुने गर्थे। त्यसो गर्दा शारीरिक र बौद्धिक हिसाबले बढी स्वस्थ र पुष्ट सन्तान जन्मने गर्थे। सामूहिक विवाहमा आधारित त्यो परिवारलाई पुनलुवा परिवार भनिन्थ्यो। यो परिवारको दोस्रो रूप र मानिसले नियम बनाएर निर्माण गरेको परिवारको पहिलो रूप थियो। महिलाहरू र पुरुषहरू छुट्टाछुट्टै समूहमा भए पनि सहकार्यको अभ्यास गर्ने गर्थे। एउटै पुस्ताका सबै महिलाहरू अर्को समूहका त्यही पुस्ताका सबै पुरुषका पत्नी र पति हुने गर्थे। रगतको मिश्रण गर्ने यो पहिलो तरिका थियो। यसबाट सम्बन्ध विस्तार हुँदै जान्थ्यो र परिवारहरू छुट्टाछुट्टै बन्दै जान्थे।
सामूहिक विवाहमा आमाको तर्फबाट मात्रै वंशक्रम निर्धारण गर्न सकिन्थ्यो। जंगली युगमा र बर्बर युगको निम्न चरणसम्म यही चलन चलेको थियो। पुनलुवा परिवारको समयदेखि गोत्र प्रथा पनि चलाइएको थियो। रगतको नाता नपर्ने गोत्रका सदस्यहरूबिच मात्र विवाह गर्ने चलन चलाइयो। समय बित्दै जाँदा सामूहिक विवाहको स्थान युगल विवाहले लिन थाल्यो। युगल विवाहमा धेरै लोग्नेमध्ये एउटा लोग्ने मुख्य हुने र धेरै स्वास्नीमध्ये एउटी स्वास्नी मुख्य हुने चलन सुरु भयो। यसरी युगल विवाह प्रथा सुरु भएको थियो।
जंगली अवस्थाका सबै चरणमा महिलाहरूको उच्च सम्मानसहित नेतृत्व कायम भएको थियो। बर्बर युगको निम्न, मध्यम र उच्च चरणको सुरुसम्म महिलाहरूको उच्च स्थान कायम रह्यो। सबै जाति, गोत्र र समूहका महिलाहरूले उच्च सम्मानसहित जीवन बिताएका थिए। परिवारमा महिलाहरूको स्थान स्वतन्त्र मात्र नभई उच्च सम्मान र आदरभावसहितको थियो।
पशुपालन र खेतीपाती सुरु भएको युगलाई बर्बर युग भनिन्छ। त्यही युगमा स्थायी बसोबास पनि सुरु भएको हो। स्थायी बसोबासको सुरुदेखि नै महिला र पुरुषबिच श्रम विभाजन पनि भएको हो। महिलाहरूले खाद्यबाली खोज्ने, खेती गर्ने र प्रशोधन गर्ने सबै काम गर्दै गए। बर्बर युगमा स्थायी बसोबास गर्ने अभ्यास सुरु भएको थियो। युगल विवाहको चलन हुँदासम्म सन्तानको गणना महिलाको तर्फबाट गरिन्थ्यो। विवाह गर्दा महिला पुरुषको गोत्रमा जाने र पुरुषको गोत्र स्थायी रहने चलन थियो। त्यसपछि जन्मिएका सन्तानलाई महिलाको गोत्रका आधारमा गणना गर्न नमिल्ने समस्या उत्पन्न भयो। यसको समाधान एकनिष्ठ विवाह र पुरुषको अधिपत्य कायम गरेर गरियो।
एकनिष्ठ विवाह आर्थिक कारणले सुरु गरिएको थियो। एकनिष्ठ विवाह प्रथामा परिवारलाई आर्थिक एकाइ बनाइयो र पुरुषलाई सर्वेसर्वा अधिकारसहितको प्रमुख बनाउने चलन सुरु भयो। सन्तान पुरुषकै हुने ग्यारेन्टीसहित एकनिष्ठ परिवार सुरु गरिएको हो। एकनिष्ठ परिवारसँगै वेश्यावृत्ति पनि सुरु भएको हो। तीन हजार वर्षसम्मको एकनिष्ठ विवाह प्रथाको अभ्यासले विवाह अवधिभर जन्मेका सन्तानको पिता लोग्ने नै हुने निष्कर्ष निकालिएको छ।
एकनिष्ठ परिवार, जुन अहिलेसम्म कायम छ, बर्बर युगको मध्यम तथा उन्नत चरणको दोसाँधमा सुरु गरिएको हो। त्यतिखेरको अवस्थासम्म युगल परिवार थियो। त्यही युगल परिवार भएको अवस्थाबाट विकसित भएर एकनिष्ठ परिवारको सुरुवात गरिएको हो। एकनिष्ठ परिवारमा पुरुषको अधिपत्य पूर्ण रूपमा कायम गरियो र महिलाको अधिपत्य पूर्ण रूपमा अन्त्य गरियो। एकनिष्ठ विवाह भए पनि वेश्यावृत्ति अन्त्य भएको होइन। वेश्यावृत्ति महिला र पुरुष दुवैबाट हुने र हुन सक्ने विकृति हो। तर, यो विकृतिले पुरुषलाई हाँसो, ठट्टा र मजाकको विषय बनाएर छोड्यो भने महिलाका लागि कडा सजायको व्यवस्था गरियो। यस्तो हुनुको कारण व्यक्तिगत स्वामित्वको सम्पत्ति प्रथा हो।
सम्पत्ति व्यक्तिगत स्वामित्वमा र पुरुषको एकाधिकारमा छ। वेश्यावृत्तिमा पुरुषको बढी कमजोरी देखिए पनि त्यसको परिणामस्वरूप अर्की श्रीमती सौताको रूपमा थप्नुपर्ने अवस्था मात्र आउँछ। तर, महिलाका लागि त्यो ठूलो अभिशाप ठहरिन्छ। उनले सम्पत्ति, छोराछोरी र लोग्ने सबै छाडेर जानुपर्ने हुन्छ। अरू सबैभन्दा सम्पत्तिको स्वामित्वले मुख्य भूमिका खेल्छ। खाने, लाउने, बस्ने, शिक्षा, स्वास्थ्य र रोजगारीजस्ता सबै विषयमा समस्या पर्छ। एकातिर समाजमा अपमानित हुनुपर्ने र अर्कोतिर यी सबै समस्याका कारण घृणाको पात्र बन्नुपर्ने अवस्था आउँछ।
एकनिष्ठ परिवार निर्माण गर्नुपर्ने कारण नै व्यक्तिगत स्वामित्वको सम्पत्ति प्रथा हो। सन्तान आफ्नो नै भएको सुनिश्चित गर्न पुरुषले महिलालाई आफू बाहेक अरूसँग यौन सम्बन्ध राख्न प्रतिबन्ध लगाउनुपर्ने भयो। त्यसैबाट एकनिष्ठ विवाहको औचित्य पुष्टि गर्नुपर्ने अवस्था आयो। महिलालाई एकनिष्ठ बनाउँदा पुरुषको स्वेच्छाचारिता कायम रह्यो। अर्कोतिर, सम्पत्तिको स्वामित्व महिलाको बनाएको भए पनि महिलाको स्वेच्छाचारिता कायम हुने थियो। त्यो पनि समस्याको समाधान हुने थिएन। काममा नियमन भई अनुशासन कायम हुने थिएन, किनभने प्रकृतिले सन्तान जन्माउने र हुर्काउने काममा महिलालाई बढी जिम्मेवार बनाएको छ। पुरुषको शरीर हल्का छ र उसले शारीरिक काम सधैँ एकनासले गर्न सक्ने अवस्था छ। उसले जवाफदेहिता बढी वहन गर्न सक्छ। तर, महिलाको शरीर त्यति हल्का र शारीरिक काममा निरन्तर खट्न सक्ने अवस्थामा छैन। त्यसकारण अराजकता झन् बढी हुने अवस्था आउने थियो।
मानव समाज बर्बर युगको उन्नत चरणमा पुगेपछि दास श्रमका साथसाथै कतैकतै ज्यालादारी श्रम पनि देखापर्न थालेको हो। दास श्रम सुरु हुनुभन्दा पहिले मानिसले अर्को समूहसँग लडाइँ गर्दा हार्नेहरूलाई मार्ने र उनीहरूका हातहतियार तथा अन्य सामानहरू सबै आफ्नो बनाउने चलन थियो। त्यतिखेरको समाजमा कृषि र पशुपालन पेसाका लागि धेरै जना काम गर्ने मानिसको आवश्यकता पर्दथ्यो। कामदारको आवश्यकता पूरा गर्न लडाइँमा हार्ने मानिसहरूलाई मार्नुको सट्टा दास बनाएर काम गराउने चलन सुरु भयो। दासहरूले काममा निर्देशन अवज्ञा गर्नासाथ उनीहरूलाई मार्ने अधिकार मालिकहरूको सुरक्षित थियो। त्यसो गर्दा उत्पादन धेरै भएर सबैका आवश्यकता पूरा हुन्थे। काम गर्ने मानिसको अझ बढी आवश्यकता भएकाले कालान्तरमा अर्को देशका मानिसलाई पक्रेर दास बनाउने, ऋण तिर्न नसक्नेहरूलाई पनि दासत्व स्वीकार गर्न बाध्य पार्ने र दासहरू किनबेच गर्ने चलन चलाइयो। दासदासीहरूबाट बढी सन्तान जन्माएर दासको संख्या बढाउने काम पनि गरिन्थ्यो।
परिवारका सबै परिचित रूपहरूमध्ये एकनिष्ठ विवाहमा आधुनिक यौन प्रेम विकसित हुन सक्ने अवस्था थियो। विवाहलाई औपचारिक रूप दिन दुवै पक्षबिच स्वेच्छापूर्ण विवाह सम्झौता हुनुपर्छ। विवाह मानव समाजका महिला र पुरुष दुवैको नैसर्गिक अधिकार हो। वैवाहिक जीवनको सम्पूर्ण अवधिमा पति र पत्नी दुवैको एकअर्काप्रति समान अधिकार र कर्तव्य हुनुपर्छ। त्यसका लागि दुवै पक्षको विश्वदृष्टिकोण उच्च र स्पष्ट हुनुका साथै एकअर्काप्रति समर्पण भाव आवश्यक हुन्छ। त्यस्तो नहुँदा एक पक्षले अर्को पक्षमाथि अधिनायकत्व लागू गर्ने र अर्को पक्षले दासत्व स्वीकार गर्नुपर्ने अवस्था आउँछ।
यस दृष्टिकोणमा वर्तमान समाजको पुरुष बुर्जुवा र महिला सर्वहाराको स्थानमा हुन्छिन्। यदि सम्पत्तिको स्वामित्व व्यक्तिगत हुँदैनथ्यो भने पति र पत्नी दुवैका लागि अधिकार र कर्तव्य समान हुने थिए। महिला पनि पुरुषसरह समानताको स्थितिमा पुग्ने थिइन्। तर, त्यस्तो हुन नसक्दा महिलाहरूको अधिकार कुण्ठित भएको छ। धेरै पुस्तासम्मको दासताका कारण महिलाहरूले समान स्तरको व्यवहार पाउन अझै केही पुस्तासम्म पर्खनुपर्ने अवस्था कायम छ।
महिला र पुरुष दुवैको समानताका लागि परिवारलाई आर्थिक एकाइ मात्र बनाउनु हुँदैन। यसलाई राजनीतिक एकाइ पनि बनाउनुपर्छ। समाजका एकथरी मानिसले अर्कोथरी मानिसलाई शोषण गर्ने र नाफा कमाउने चलन बन्द गर्नुपर्छ। सबै नागरिकले निश्चित समयसम्म आफ्नो योग्यताअनुसार काम गरेर तोकिएको ज्याला पाउनुपर्छ। सामूहिक समस्याको समाधान सामूहिक प्रयत्नबाट नै गर्नुपर्छ। महिलाहरूलाई नयाँ मान्छे जन्माउन, सुत्केरी हुने समयमा र दूध चुसाउने समयमा राज्यका तर्फबाट राजकीय सम्मानसहितको सुविधा दिइनुपर्छ। कानुनी हिसाबले पुरुष र महिलाबिच कुनै भेदभाव गरिनु हुँदैन।
उत्पादनका साधन तथा उद्योगधन्दा सरकारी स्वामित्वमा र खेती किसान सहकारी स्वामित्वमा दर्ता गरिनुपर्छ। ती सबै कामका लागि राज्यसत्ता सर्वहारा वर्गको नेतृत्वमा मजदुर, किसान र बुद्धिजीवीहरूको सहभागितामा गठन गरिनुपर्छ। कम्युनिस्ट पार्टीले उठाएको आन्दोलनमा सम्पूर्ण श्रमजीवी जनता सहभागी भई वर्तमान राज्यसत्तामा आमूल परिवर्तन गर्नुपर्छ। राजनीतिक आन्दोलनमा सहभागी बनेर आमूल परिवर्तन गर्न जनताको आवश्यकता भए पनि राज्यसत्ता सञ्चालन गर्ने हुनाले वर्गसंघर्षमा खारिएर इस्पात बनेको नेतृत्व आवश्यक पर्छ। वर्तमान पुँजीवादी समाजमा महिलाहरू सबैभन्दा बढी संख्यामा उत्पीडित छन्। उनीहरूको ठूलो संख्या कम्युनिस्ट पार्टीमा सहभागी नभई समाजवादी सत्ता स्थापना हुन सक्दैन। समाजवादी सत्ता नआएसम्म महिला मुक्तिको समस्या समाधान हुन पनि सक्दैन। त्यसकारण धेरैभन्दा धेरै महिलालाई कम्युनिस्ट पार्टीमा सहभागी बनाउन महिला र कम्युनिस्ट पार्टी दुवैको प्रयत्न आवश्यक हुन्छ। अहिले संगठन गर्न छुट भएको अवस्थालाई अवसरका रूपमा उपयोग गरेर बढीभन्दा बढी विस्तार गर्दै संगठन निर्माण गर्नुपर्छ। अध्ययन, प्रशिक्षण, संगठन र संघर्षलाई निरन्तरता दिई विश्वदृष्टिकोण र भौतिक रूपमा पनि सर्वहारीकरणको गतिलाई तीव्र बनाउनुपर्छ। यो युग बदल्ने काम हो। राज्यसत्ता कब्जा गर्ने र प्रतिगमनबाट जोगाउने दुवै काम गर्नुपर्छ। यो परिवारसँगै र अर्थतन्त्रसँगै अघि बढ्ने काम हो।
अहिलेको समाजमा पतिव्रता र वेश्यावृत्तिजस्ता कुराहरू पनि एकनिष्ठ विवाहसित जोडिएका छन्। वेश्यावृत्ति रोक्न बसेका राज्यसत्ताहरू स्वयंले महिलामाथि यौन शोषण गर्छन्। महिलालाई न्याय दिलाउने संस्थाहरूमै महिलाहरूले न्याय र पैसाका लागि आफ्नो शरीर बेच्नुपर्ने बाध्यता छ। वर्तमान व्यवस्थाअन्तर्गत किसान र मजदुर महिलाहरू सडेगलेका थोत्रा नियम-कानुनबाट जोगिन सक्दैनन्। उनीहरू उत्पीडनबाट उम्किन पाउँदैनन्।
उत्पादनका साधन सामूहिक सम्पत्ति बन्नुका साथै ज्यालादारी श्रम र सर्वहारा वर्ग पनि लोप हुनेछन्। वर्तमान व्यवस्थाको गर्भभित्र रहेर समाजवादी व्यवस्थाको तयारी गर्ने हो। वर्तमान व्यवस्थाभित्र प्राप्त गर्न सकिने सुधारात्मक काम गर्न पनि पछि पर्नु हुँदैन। वर्तमान व्यवस्थाभित्र महिलाहरूले प्राप्त गर्न सक्ने अधिकारमध्ये एउटा छोरा र छोरीले समान हिसाबले सम्पत्तिको अंश पाउन सक्ने अधिकार हो। त्यो कानुनमा व्यवस्था भए पनि व्यवहारमा लागू हुन सकेको छैन। त्यसलाई व्यवहारमा लागू गराउन छोरीहरू आफैँ सजग र सतर्क हुनुपर्छ। सामन्त र पुँजीपतिहरूले सकेसम्म सम्पत्तिको खण्डीकरण हुन दिँदैनन्। सजिलैसँग छोरीलाई पन्छाउँछन् र छोराका अधिकार सुनिश्चित गराउँछन्। जसले अंश पाउने हो, उही सजग, सतर्क र आन्दोलित नभएसम्म त्यो अधिकार व्यवहारमा प्रयोग गर्न सकिने अवस्थामा पुग्ने छैन।
दोस्रो कुरा, गर्भधारण गर्ने, गर्भपतन गर्ने र सन्तान जन्माउने विषयमा महिलाले आफैँ निर्णय गर्न पाउनुपर्छ। त्यसमा कानुनले र कुनै व्यक्तिले अवरोध गर्न नपाउने अधिकार पनि महिलाहरूले यही व्यवस्थाभित्र प्राप्त गर्न सक्ने अधिकारको विषय हो। त्यसबाट परिवारमा महिला र पुरुष दुवैको समानताका लागि आधार तयार हुनेछ। महिला पतिव्रता धर्मअन्तर्गत रहने र पुरुष पनि महिलाप्रति जवाफदेही बन्ने काममा सहयोग पुग्नेछ। त्यसबाट दुवैको सहमतिमा विवाह गर्ने र माया–प्रेम टुटेपछि सम्बन्धविच्छेद गरेर फेरि विवाह गर्न महिलाहरूलाई सजिलो हुनेछ। त्यति हुँदैमा महिला र पुरुष समान भइसकेका भने हुने छैनन्। किनभने सम्पत्तिको स्वामित्व आफ्नो भए पनि त्यसबाट स्वतः उत्पादन हुने छैन। यसका लागि थप उचाइ आवश्यक हुनेछ।
समाजवाद वर्गसंघर्षबाट विजयी भएर स्थापना हुने व्यवस्था हो। वर्गसंघर्षका लागि वर्ग हुनु पहिलो आवश्यक सर्त हो। सबैभन्दा उत्पीडित वर्ग सर्वहारा वर्ग हो। ऊ लम्पट सर्वहारा हुनबाट जोगिएर वर्गसचेत सर्वहारा वर्गका रूपमा सम्पूर्ण श्रमजीवी वर्गको नेताका रूपमा संगठित र अनुशासित भई समाजको प्रतिनिधि बन्ने प्रयास गर्नुपर्छ। सर्वहारा वर्गको व्यक्ति समाजको नेतृत्व गर्ने उद्देश्यसहित सुरुदेखि नै प्रयत्नशील हुन जरुरी छ। वर्गको विकल्पविहीन नेतृत्वका रूपमा समाजको पनि प्रतिनिधिको स्थानमा रहन जरुरी हुन्छ।
नेपाली समाजमा महिलाहरूको स्थिति केही पुस्तापछाडि परेको छ र समाजले अहिलेको अवस्थामा उनीहरूलाई सर्वस्वीकार्य नेतृत्वका रूपमा लिन नसक्ने अवस्था छ। पुरुषलाई भन्दा महिलालाई कम्युनिस्ट पार्टीको नेतृत्व सम्हाल्न धेरै कठिन अवस्था छ। नारी र पुरुषको पूर्ण समानता कायम नभएसम्म विवाहको वर्तमान स्वरूपमा परिवर्तन हुँदै जानेछ। समाजवादी समाज सुरु भएपछि अथवा राज्यसत्तामा आमूल परिवर्तन भएपछि र मजदुर-किसानको हातमा राज्यसत्ता आएपछि महिलामुक्तिको गति तीव्र रूपमा अघि बढ्नेछ। केही समयसम्म भए पनि कम्युनिस्टहरूको सत्ता स्थापना भएका देशहरूमा अहिले पनि महिला अधिकारको विषय संसारका अरू देशहरूमा भन्दा अगाडि छ। महिलाहरूले प्राप्त गरेका अधिकार गुमिसकेका छैनन्।
शोषित तथा उत्पीडित वर्गमध्ये महिलाहरूको संख्या धेरै भएका कारणले धेरैभन्दा धेरै महिलालाई कम्युनिस्ट पार्टीमा संगठित नगरिकन महिलाहरूको समस्या समाधान र समाजवादी राज्यसत्ता स्थापना दुवै सम्भव हुने छैन। अहिले पनि कम्युनिस्टहरूले गर्ने प्रयास भनेको आफ्नो परिवारलाई आर्थिक एकाइ मात्र होइन, राजनीतिक एकाइ पनि बनाउन सफल हुने प्रयास हो। त्यस्तो नभएसम्म न आफू एक्लै सर्वहारा हुन सकिन्छ, न त क्रान्तिकारी नै बन्न सकिन्छ। सम्बन्ध स्थापना र सम्बन्धविच्छेद मात्रै समस्याको समाधान होइन। परिवार र अर्थतन्त्र सँगसँगै अघि बढ्नुपर्छ। कम्युनिस्ट आन्दोलन धेरै पुस्तासम्म सञ्चालन हुने आन्दोलन हो। यो अहिलेको पुस्ता सुरु भएपछि सुरु भएको आन्दोलन होइन र यही पुस्तामा समाप्त हुने आन्दोलन पनि होइन।
सन्दर्भ ग्रन्थ
पुस्तक: परिवार, निजी स्वामित्व र राज्यको उत्पत्ति
लेखक: फ्रेडरिख एंगेल्स
(लुइस मोर्गनको अनुसन्धानको परिप्रेक्ष्यमा)
प्रकाशक: प्रगति प्रकाशन, मास्को
अनुवादक: राजेन्द्र मास्के
अनुवाद: रुसी भाषाबाट अनूदित, सन् १९८६
मुद्रण: सोभियत संघमा मुद्रित।