बागलुङ, २ मंसिर । उत्पादन र आत्मनिर्भरतालाई जोड दिँदै राष्ट्रिय जनमोर्चा जैमिनी नगर समितिले सामूहिक खेती अभियानलाई अगाडि बढाएको छ । पार्टीका नेता, कार्यकर्ता तथा समर्थकहरूको सहभागितामा सुरु गरिएको सामूहिक खेती कार्यक्रममार्फत कृषि उत्पादन बढाउने, श्रमको सामूहिकीकरण गर्ने र पार्टी परिचालनका लागि आर्थिक आधार तयार गर्ने उद्देश्य राखिएको छ ।
जैमिनी नगर समिति वडा नम्बर ५ स्थित विनामारेको चनौटे फाँटमा रहेको करिब ४० रोपनी जग्गामा यस वर्ष धान खेती गरिएको छ । अखिल नेपाल युवक संघका केन्द्रीय सदस्य विरेन्द्र थापाका अनुसार करिब ५० जना नेता तथा कार्यकर्ताको सहभागितामा सामूहिक रूपमा धान खेती सुरु गरिएको हो ।
सामूहिक श्रम र सहभागितामा गरिएको उक्त खेतीबाट यस वर्ष करिब ८० मुरी धान उत्पादन हुने अनुमान गरिएको थापाले जानकारी दिनुभयो । खेतीमा स्थानीय जेठोबुढो प्रजातिको धान लगाइएको छ । उत्पादित धान बिक्रीबाट प्राप्त रकम पार्टीको संगठनात्मक गतिविधि तथा परिचालनमा उपयोग गर्ने योजना रहेको उहाँले बताउनुभयो ।
पार्टीका नेता तथा कार्यकर्तालाई उत्पादनसँग जोड्दै सामूहिक श्रमको संस्कृतिलाई विकास गर्ने उद्देश्यले सामूहिक खेती कार्यक्रम सञ्चालन गरिएको जनाइएको छ । कृषि उत्पादनलाई आर्थिक गतिविधिको आधार बनाउँदै स्थानीय स्तरमा उपलब्ध जमिनको उपयोग गर्ने र श्रममा आधारित अभियानलाई विस्तार गर्ने कार्यक्रमको लक्ष्य रहेको छ ।
राष्ट्रिय जनमोर्चा जैमिनीले चनौटे फाँटमा सुरु गरेको सामूहिक खेतीलाई अन्य स्थानमा समेत विस्तार गर्ने योजना बनाएको छ । पैयुँ, जैदीको फाँट र अर्जेवाको फाँटमा पनि सामूहिक खेती कार्यक्रमलाई अभियानकै रूपमा अगाडि बढाउने तयारी भइरहेको थापाले बताउनुभयो ।
धान खेतीसँगै नगर समितिको भौगोलिक अवस्था, हावापानी र माटोको अनुकूलता पहिचान गरी अलैँची, किवी लगायत विभिन्न फलफूल तथा नगदेबालीको खेती गर्ने योजना पनि पार्टीले बनाएको छ । सम्भावित कृषि उत्पादनका क्षेत्र पहिचान गरी विविध खेती प्रणाली अपनाउने र उत्पादनमूलक गतिविधिलाई विस्तार गर्ने लक्ष्य राखिएको उहाँले जानकारी दिनुभयो ।
सामूहिक खेती अभियानलाई निरन्तरता दिँदै थप क्षेत्रफलमा खेती विस्तार गर्ने, कृषि उत्पादनलाई विविधीकरण गर्ने तथा उत्पादनबाट प्राप्त आम्दानीलाई संगठनात्मक गतिविधिमा जोड्ने राष्ट्रिय जनमोर्चा जैमिनीको योजना रहेको छ ।
हामीले राजमो जिल्ला अध्यक्ष तिलक थापालाई त्यसबारे जानकारी लिएका थियौँ । थापाका अनुसार जिल्ला समितिको निर्णय अनुसार जिल्ला अन्तर्गतका हरेक पालिका र वडाहरूमा सामुहिक उत्पादन कार्यक्रम गर्ने रहेको र त्यस कार्यक्रमलाई जैमिनी नगर समितिले कार्यान्वयनलाई अगाडि बढाएको बताउनु भयो ।
थापाले अन्य पालिकाहरूमा त्यस बारे पहल भइरहेको युगदर्शनलाई जानकारी दिनुभयो ।
