नेपालमा अनुभवहीन ‘जेन–जी आन्दोलन’ को योजनाबद्ध दुरुपयोगबारे विद्यार्थी संगठन अखिल छैठौँका अध्यक्ष तथा नेपालस्थित क्रान्तिकारी विश्व संगठनका सदस्य सुवाससँग अन्तर्वार्ता लिएको छ । नेपाल अहिले अमेरिकी साम्राज्यवादद्वारा प्रोत्साहित फासिस्ट गिरोहको शासनबाट शासित भइरहेको छ ।
गत सेप्टेम्बर महिनामा नेपालमा तथाकथित जेन–जी आन्दोलनको ठूलो युवा प्रदर्शन भएको थियो। यसको आयोजना कसले गरेको थियो ?
–युवाहरूलाई मुख्यतः सामाजिक सञ्जाल तथा रेडिट र डिस्कोर्डजस्ता अनलाइन प्लेटफर्ममार्फत परिचालन गरिएको थियो। उनीहरू भ्रष्टाचार र सामाजिक सञ्जालमाथि लगाउन खोजिएको प्रतिबन्धको विरोधमा सडकमा उत्रिएका थिए।
वर्तमान गृहमन्त्री सुदान गुरुङ यस सामाजिक सञ्जाल अभियानका एक प्रमुख समर्थक थिए । प्रदर्शनपछि उनी राष्ट्रिय स्वतन्त्र पार्टीमा सामेल भए ।
आज यो कुरा सार्वजनिक भइसकेको छ कि अमेरिकी दूतावासद्वारा परिचालित ‘युवा दस्ताहरू’ का व्यक्तिहरूले योजनाबद्ध रूपमा र नेतृत्वदायी भूमिकामा आन्दोलनमा सहभागिता जनाएका थिए र उनीहरूलाई नयाँ राजनीतिज्ञका रूपमा तयार पारिएको थियो ।
यसका अतिरिक्त, विभिन्न पार्टीका कैयौँ नेताहरूका निवासस्थानको विवरण डिस्कोर्डमा सार्वजनिक गरिएको थियो । साथै, आगजनीका घटनापछि ‘काम सम्पन्न भयो’ भन्ने सन्देशहरू पनि लेखिएका थिए ।
यी सबै कुराले यो कुनै स्वतःस्फूर्त आन्दोलन नभई योजनाबद्ध षड्यन्त्र थियो भन्ने निष्कर्ष निकाल्न पर्याप्त आधार प्रदान गर्छन् । यस षड्यन्त्रमा जेन–जी आन्दोलनको दुरुपयोग गर्दै युवाहरूको आक्रोशलाई हतियारका रूपमा प्रयोग गरी सरकारलाई सत्ताबाट हटाउने प्रयास गरिएको थियो ।
यी प्रदर्शनहरू निकै छिटो हिंसात्मक बने । यस्तो कसरी भयो ?
सुरुमा आयोजकहरूले आन्दोलन शान्तिपूर्ण रहने घोषणा गरेका थिए । आन्दोलनको पहिलो दिन अर्थात् सेप्टेम्बर ८ मा पनि अवस्था त्यस्तै देखिएको थियो । तर त्यसपछि प्रदर्शनकारीहरूको एउटा समूहले प्रहरीको घेराबन्दी तोड्दै संसद् भवनतर्फ अघि बढ्न थाल्यो ।
प्रहरीले उनीहरूमाथि गोली चलायो र कम्तीमा १९ जना युवाको ज्यान गयो । सयौँ मानिस घाइते भए ।
त्यसको भोलिपल्ट सरकारी भवनहरू तथा अन्य सार्वजनिक संरचनाविरुद्ध तोडफोड र हिंसात्मक गतिविधिहरू भए । पार्टी कार्यालय, आवासीय भवन, व्यावसायिक भवन तथा औद्योगिक प्रतिष्ठानहरूमा आगजनी गरियो ।
विद्यार्थी संगठनहरूविरुद्धको प्रतिबन्धको विरोधमा आयोजित प्रदर्शन सभामा।
अहिले नयाँ सरकार छ । के परिवर्तन भएको छ ?
जेन–जी आन्दोलनका धेरै कार्यकर्ताहरूले आफ्नो असन्तुष्टि व्यक्त गर्दै कुनै पनि देखिने परिवर्तन नभएको बताएका छन् ।
बरु नयाँ सरकारले विद्यार्थी संगठनहरूमाथि प्रतिबन्ध लगाएको छ, प्रेस स्वतन्त्रता सीमित गरेको छ र अन्य धेरै प्रतिबन्धात्मक कदमहरू चालेको छ ।
अब संगठनहरूले सडक र अदालत दुवै ठाउँबाट सरकारका यी निर्णयहरूविरुद्ध संघर्ष गरिरहेका छन् ।
यसैबीच, काठमाडौँस्थित अमेरिकी दूतावासमा पनि उच्च तहका व्यक्तिहरूले भ्रमण गरेका छन् । करिब ८० हजार युवाहरूलाई आफ्नो युवा संगठनमा आबद्ध गराएको र उनीहरूलाई राजनीतिक तालिम प्रदान गर्ने अवसर उपलब्ध गराएकोमा दूतावासको प्रशंसा गरिएको छ ।
यस्ता निर्लज्ज गतिविधिहरू साम्राज्यवादी शक्तिहरू र प्रतिक्रियावादी शक्तिहरूका समर्थकहरूबाट मात्र अपेक्षा गर्न सकिन्छ ।
हामी विश्वस्त छौँ कि जनचेतना र जनताको आन्दोलनमार्फत उनीहरूलाई पराजित गर्न सकिन्छ ।
(प्रस्तुत अन्तर्वार्तालाई मूल जर्मन भाषाको भाव, प्रश्न–उत्तरको क्रम, शीर्षक, अनुच्छेद र आशयमा कुनै परिवर्तन नगरी नेपाली भाषामा अनुवाद गरिएको छ ।)
