काठमाडौँ, कात्तिक २९। गत भदौ १० गते भोटेकोशी–त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित रसुवाका ७४ परिवारलाई नगद राहत वितरण गरिएको छ।
राष्ट्रिय जनमोर्चा (राजमो) केन्द्रीय कार्यालय र मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय समितिको संयुक्त आयोजनामा २०८३ कात्तिक २९ गते आइतबार दोश्रोपटक बाढीपीडित परिवारलाई नगद राहत सहयोग हस्तान्तरण गरिएको हो।
काठमाडौँको नागार्जुन नगरपालिका–३ स्थित पहेँलो गुम्बानजिक रहेको होल्डिङ सेन्टरमा आश्रय लिइरहेका बाढीपीडित परिवारलाई उक्त राहत वितरण गरिएको हो ।
राहत वितरण कार्यक्रममा बोल्दै राजमोका केन्द्रीय सल्लाहकार आनन्द शर्माले बाढीबाट भएको क्षतिको तत्काल पूर्ति गर्न नसकिए पनि दुःखद् घडीमा पीडितहरूको साथमा पार्टी रहेको सन्देश दिन आफूहरू बस्तीमै आएको बताउनुभयो।
उहाँले भन्नुभयो, “त्यो क्षतिको पूर्ति तत्काल गर्न नसके पनि यस्तो दुःखद् क्षणमा तपाईंहरूको शोकमा हाम्रो पार्टी साथमा छ भन्ने सन्देश दिन हामी बस्तीमै आएका हौँ।”
सल्लाहकार शर्माले राहतस्वरूप प्रदान गरिएको रकम कुनै सरकारी निकाय, विदेशी गैरसरकारी संस्था (एनजिओ) वा दातृ निकायबाट प्राप्त नभई नेपाल र भारतमा क्रियाशील श्रमजीवी जनसमुदायले स्वेच्छिक रूपमा संकलन गरेको स्पष्ट पार्नुभयो।
बाढीबाट प्रभावित गोसाइँकुण्ड गाउँपालिका–५ अन्तर्गत सेप्रु बजार, पुरानो बजार र खम्बाटारका बासिन्दाहरूलाई उक्त राहत वितरण गरिएको हो।
राहत वितरण कार्यक्रममा राजमोका केन्द्रीय सल्लाहकार आनन्द शर्मा, अखिल नेपाल महिला संघकी केन्द्रीय अध्यक्ष मिना पुन, युगदर्शन अनलाइनका कार्यकारी सम्पादक धनवीर पुनमगर, नेपाल पत्रकार महासंघ काठमाडौँका गोविन्द शर्मा, अखिल नेपाल युवक संघका केन्द्रीय सदस्य सागर सुवेदीलगायतको उपस्थिति रहेको थियो।