काठमाडौँ । नेकपा (मसाल) ले स्थानीय तह र प्रदेशको चुनाव निर्धारित समयमै हुनुपर्ने स्पष्ट पार्दै चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीसित तालमेल नहुने बताएको छ ।
महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०८३ मङ्सिर ५ गते शनिबार प्रेसवक्तव्य जारी गर्दै पार्टीले सो धारणा सार्वजनिक गरेको हो ।
प्रेसवक्तव्यमा आगामी चुनावमा गणतन्त्र, धर्मनिरपेक्षता र संविधानको रक्षाका लागि स्थानीय स्तरमा तालमेल कायम हुन सक्ने बताइएको छ । पार्टीको नवौँ महाधिवेशनको निर्णयको सन्दर्भ जोड्दै पार्टी यो धारणा व्यक्त गरेको हो ।
साम्राज्यवाद, युद्ध र फासिवादको विरुद्ध विश्वका शान्तिप्रेमी जनताको एकतामा जोड दिइएको वक्तव्यमा आगामी चुनावमा साम्राज्यवादको विरोध गरिने स्पष्ट पारिएको छ ।
वक्तव्यमा गत कालका चुनावी तालमेलमा इमानदारिताको अनुभवबारे पनि इङ्गित गरिएको छ ।
यस्तो छ, प्रेसवक्तव्यको पूर्ण पाठ :
“आगामी स्थानीय र प्रदेशसम्बन्धी चुनावबारे हाम्रो पार्टीको दृष्टिकोण स्पष्ट गर्नका लागि यो वक्तव्य जारी गरिएको छ ।
१. अहिले देशमा छिट्टै स्थानीय र प्रदेशको चुनाव हुने कुराको चर्चा भइरहेको छ । संविधानअनुसार पनि यी दुवै चुनाव छिटै हुनुपर्ने आवश्यकता भएको कुरा प्रस्ट छ । ती दुवै चुनाव सँगै गर्ने वा बेग्लाबेग्लै गर्ने भन्नेबारे निर्वाचन आयोग र राजनीतिक वृत्तमा छलफल चलिरहेको छ । ती दुवै चुनाव सँगै वा बेग्लाबेग्लै जुन रूपमा भए पनि त्यसबारे हाम्रो कुनै खास मत छैन । जसरी भए पनि ती दुवै चुनाव निश्चित समयमा छिट्टै हुनुपर्दछ भन्ने नै हाम्रो मत रहेको छ ।
२. सामान्यत: देशको अहिलेको राजनीतिक परिस्थिति वा निर्वाचन समेतबारे गणतन्त्र, धर्मनिरपेक्षता र संविधान समेतबारे समान दृष्टिकोण भएका वामपन्थी वा प्रजातान्त्रिक शक्तिका बिचका कार्यगत एकता वा चुनावी तालमेल हुनुपर्दछ भन्ने हाम्रो पार्टीको दृष्टिकोण रहँदै आएको छ । त्यसअनुसार नै २०४६ साल, २०६२–६३ साल वा ओली सरकारद्वारा दुई–दुईपल्ट संसद्को विघटन हुँदा पनि हामीले वामपन्थी वा प्रजातान्त्रिक शक्तिसित कार्यगत एकता वा चुनावी तालमेल गर्ने नीति अपनाएका थियौँ । अहिले देशमा जुन प्रकारको स्थिति कायम भएको छ त्यो अवस्थामा पनि हामीले पहिले झैँ त्यो नीतिमा जोड दिन्छौँ ।
३. अहिलेको विश्वमा साम्राज्यवाद, युद्ध वा फासिवादको खतरा जसरी गम्भीर बनेर गएको छ र विश्वशान्ति अत्यन्त गम्भीर अवस्थामा पुगेको छ । त्यो अवस्थामा विश्वस्तरमा पनि सबै साम्राज्यवाद, युद्ध र फासिवाद विरोधी र शान्तिप्रेमी जनताका बिचमा अन्तर्राष्ट्रिय स्तरमा नै ऐक्यबद्धता हुनुपर्दछ भन्ने हाम्रो दृढ मत रहेको छ । त्यसअनुसार अन्तर्राष्ट्रिय स्तरमा हामीले बढीभन्दा बढी योगदान दिने प्रयत्न गर्दै आएका छौँ भने नेपालमा पनि अन्य पक्षसित मिलेर ती विषयमा आन्दोलन गर्दै वा आवाज उठाउँदै आएका छौँ । त्यही प्रकारले अहिलेको देशको स्थितिमा पनि गणतन्त्र, राष्ट्रियता, धर्मनिरपेक्षता, जनताका मौलिक अधिकारको पक्षमा सबै वामपन्थी र प्रजातान्त्रिक शक्तिका बिचमा बलियो र व्यापक एकता हुनुपर्दछ भन्ने हाम्रो मत रहेको छ र त्यसका लागि लगातार प्रयत्न गर्ने हाम्रो नीति हुनेछ ।
४. निर्वाचनको सन्दर्भमा आपसमा सहमत हुने पक्षसित चुनावी तालमेल गर्ने नीति अहिले पनि कायम छ । गत संसद् वा स्थानीय निर्वाचनको सन्दर्भमा अन्य पक्षहरूसित भएका चुनावी तालमेलमा हामीले सही इमानदारिता देखाउने प्रयत्न गर्यौँ तर अन्य पक्ष—वामपन्थी वा प्रजातान्त्रिक पक्ष—द्वारा परस्परमा सहमति भए पनि अन्तरघात गर्ने गरेका कैयौँ उदाहरण हाम्राअगाडि छन् । त्यसैले हाम्रो पार्टीको नवौँ महाधिवेशनले राष्ट्रिय स्तरमा कुनै पक्षसित चुनावी तालमेल नगर्ने निर्णय गरेको छ र आगामी चुनावमा कुनै पक्षसित राष्ट्रिय स्तरमा चुनावी तालमेल नगर्ने नै हाम्रो नीति हुनेछ तैपनि अपवादका रूपमा कुनै प्रदेश, जिल्ला वा पालिकामा परस्परमा विश्वासको वातावरण तयार हुन सकेमा त्यहाँ निर्वाचनमा परस्परमा तालमेल गर्ने नीति अपनाउनका लागि हामीले पूरै ढोका बन्द गरेका छैनौँ । खास गरेर कुनै प्रदेश, जिल्ला वा पालिका स्तरमा हाम्रा स्थानीय साथी र अरू पक्षका बिचमा सहमति हुन सक्ने सम्भावना पैदा भएमा केन्द्रको स्वीकृतिपछि त्यहाँ तालमेल गर्न सकिनेछ । गत कालमा हामीले त्यस प्रकारको कुनै पनि सहमति भएमा त्यसलाई पूरै नै इमानदारितापूर्वक पालन गर्ने नीति अपनाउँदै आएका छौँ र अन्य पक्षद्वारा पनि हामीले त्यही प्रकारको इमानदारिताको आशा गर्दछौँ ।
अन्तमा हामीले आगामी प्रदेश वा स्थानीय चुनावका सन्दर्भमा अपवादका रूपमा तालमेलको नीतिलाई खुला राखे पनि राप्रपा र रास्वपा दुवैसित कुनै पनि तालमेल नगर्ने हाम्रो नीति रहनेछ ।”