काठमाडौँ । रक्तिम सांस्कृतिक अभियानले दाङमा सम्पन्न प्रगतिशील देउसीभैलोलाई सहयोग गर्ने सबैप्रति धन्यवाद ज्ञापन गरेको छ ।
अध्यक्ष गिरीप्रसाद बुढाको हस्ताक्षरमा २०८३ कात्तिक २९ गते प्रेसवक्तव्य जारी गर्दै रक्तिमले धन्यवाद व्यक्त गरिएको हो ।
दाङको घोराहीमा कात्तिक २२ गतेदेखि सुरु भएर २८ गते समापन भएको उक्त कार्यक्रममा रक्तिमका कलाकारसँगै राष्ट्रिय जनमोर्चाको दाङ जिल्ला समििित र घोराही नगर समितिप्रति रक्तिमले आभार व्यक्त गरेको छ ।
वक्तव्यमा भैलोमा प्राप्त सहयोगलाई फजुल खर्च नगर्ने तथा प्रगतिशील सांस्कृतिक आन्दोलनलाई अगाडि बढाउन आफूहरू प्रतिबद्ध रहेको बताइएको छ ।
यस्तो छ, प्रेसवक्तव्यको पूर्ण पाठ :
“पुँजीवादी छाडा संस्कृतिको विरोध गरौँ, प्रगतिशील तथा जनवादी संस्कृतिको विकास गरौँ भन्ने मूल नाराका साथ २०८३ कात्तिक २२ गतेदेखि दाङ जिल्लाको घोराही उपमहानगरपालिकामा रक्तिम सांस्कृतिक अभियान केन्द्रीय समितिको आयोजनामा सञ्चालन भएको प्रगतिशील तथा जनवादी देउसीभैलो कार्यक्रम कात्तिक २८ गते समापन भएको छ ।
भव्य रूपमा सम्पन्न देउसीभैलो कार्यक्रममा समाजमा भएका विकृति, विसङ्गति र अन्धविश्वासका विरुद्ध जनचेतना जगाउँदै सामन्ती तथा साम्राज्यवादी पाश्चात्य संस्कृतिको विरोध गरिएको थियो । यसका साथै देउसीभैलोमा विविध प्रकारका प्रगतिशील तथा जनवादी सांस्कृतिक प्रस्तुति प्रदर्शन गरिएको थियो । ऐतिहासिक तथा पर्यटकीय जिल्ला दाङको घोराहीमा सञ्चालित देउसीभैलोमा व्यवस्थापकीय पक्षमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने राष्ट्रिय जनमोर्चा दाङ जिल्ला समिति र घोराही नगर समितिका सम्पूर्ण नेताकार्यकर्ता साथीप्रति केन्द्रीय समिति हार्दिक आभार एवम् धन्यवाद प्रकट गर्दछ ।
देउसीभैलोलाई सफल बनाउनमा रक्तिमका केन्द्रीय र घोराही नगर समितिका कलाकारको उल्लेखनीय भूमिका थियो । भैलोमा सहभागी बनेर योगदान दिने रक्तिमका केन्द्रीय तथा नगरस्तरीय कलाकारलाई केन्द्रीय समिति धन्यवाद प्रकट गर्दछ । रक्तिमको विविध सांस्कृतिक प्रस्तुति रहेको देउसीभैलोलाई दाङ जिल्लाका किसान, मजदुर, उद्योगी, व्यापारी–व्यवसायीलगायत विभिन्न तहतप्काका जनसमुदायबाट हामीलाई आर्थिक, भौतिक र नैतिक सहयोग प्राप्त भएको छ । यसरी हाम्रो सङ्गठनलाई सहयोग गर्ने सम्पूर्ण जनसमुदायप्रति हामी हार्दिक आभार एवम् धन्यवाद ज्ञापन गर्दछौँ ।
देशका अन्य जिल्लाका साथै विदेशबाट राष्ट्रिय जनमोर्चालगायत पार्टीसम्बद्ध सङ्गठनसँग देउसीभैलोमा सक्रिय रही उच्च अनुशासन र नैतिकतालाई पालन गर्दै रक्तिमका सयौँ जनवादी कलाकार तथा स्रष्टाले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ । यसका लागि केन्द्रीय समितिको तर्फबाट सम्पूर्ण सांस्कृतिक योद्धालाई धन्यवाद व्यक्त गर्न चाहन्छौँ ।
यहाँहरूबाट प्राप्त सहयोगले हामीलाई जनवादी सांस्कृतिक आन्दोलनमा अगाडि बढ्न थप प्रेरणा मिलेको छ । यो सहयोगलाई हामीले फजुल खर्च गरेर दुरुपयोग गर्ने छैनौँ । हाम्रो क्षमताले भ्याएसम्म प्रगतिशील तथा जनवादी संस्कृतिको पक्षमा असल काम गरेर यहाँहरूको सहयोगलाई पूर्ण रूपमा सदुपयोग गर्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छौँ, साथै रक्तिमको यो सांस्कृतिक यात्रालाई आगामी दिनमा पनि सम्पूर्ण न्यायप्रेमी जनसमुदायबाट यसरी नै साथसमर्थन र सहयोग रहँदै जाने अपेक्षा गर्दछौँ ।”
