ओडिशा, १६ नोभेम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका पूर्वी भारत क्षेत्रीय सल्लाहकार तथा पुरी नगर समितिको प्रथम सम्मेलनबाट निर्वाचित अध्यक्ष सुबान सिंह माझीको १५ नोभेम्बर २०२६ का दिन दुःखद निधन भएको छ।
नेपालको रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नं. ३, भटौली गाउँस्थित मिजार टोल स्थायी घर भएका माझी हाल भारतको ओडिशा राज्यस्थित Executive Engineering, Rural Work Division, पुरीमा कार्यरत हुनुहुन्थ्यो।
दसैँ–तिहारजस्ता चाडपर्व मनाउन नेपाल जानुभएका माझी आफन्तसहित भारत फर्किने क्रममा जयनगर–पुरी एक्सप्रेस रेलमा यात्रा गरिरहनुभएको थियो। सोही यात्राका क्रममा आसनसोल रेलवे स्टेसन पुग्नुअघि नै उहाँको दुःखद निधन भएको हो।
घटनाको खबर प्राप्त हुनासाथ मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य तथा पूर्वी भारत क्षेत्रीय सचिव गिरीराज परियार र क्षेत्रीय सदस्य सम्बर माझी पुरी पुग्नुभएको थियो। आफन्तहरूको सहयोगमा उहाँको पार्थिव शरीर पुरी ल्याई मोर्चरीमा राखिएको छ। उहाँका छोराहरू कतारबाट फर्किएपछि अन्त्येष्टि गरिने जानकारी प्राप्त भएको छ।
स्वर्गीय माझीका एक छोरा प्रेमबहादुर माझी मूल प्रवाहका सक्रिय कार्यकर्ता हुनुहुन्छ भने अन्य दुई छोरा वैदेशिक रोजगारीका सिलसिलामा कतारमा रहनुभएको छ।
यसैबीच, मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका पूर्वी भारत क्षेत्रीय सचिव गिरीराज परियारले शोक वक्तव्य जारी गर्दै सुबान सिंह माझीको निधनले संगठनलाई अपूरणीय क्षति पुगेको बताउनुभएको छ। उहाँले दिवंगत माझीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजन तथा आफन्तहरूमा गहिरो समवेदना प्रकट गर्नुभएको छ।
संगठनप्रति उहाँले पुर्याउनुभएको योगदानको स्मरण गर्दै मूल प्रवाहले एक इमानदार र सक्रिय व्यक्तित्व गुमाएको छ।