ढाका । बङ्गलादेशले पदच्यूत भएकी पूर्वप्रधानमन्त्री शेख हसिना घर फर्कन चाहने हो भने उनले भारतबाट प्रत्यर्पण माग्नुपर्ने बताएको छ । गृहमन्त्री सलाउद्दीन अहमदले सोमबार सो तथ्य स्पष्ट पारेकी हुन् ।
बङ्लादेशले सोमबार निर्वासित नेता शेख हसिनालाई चुनौती दिँदै प्रशासनले उहाँको पासपोर्ट नवीकरणको आवेदन समीक्षा गरिरहेको बताएको छ ।
पूर्व प्रधानमन्त्री हसिनाले डिसेम्बरमा बङ्गलादेश फर्किने प्रतिज्ञा गरेकी छिन् । उनी विरुद्ध सन् २०२४ मा प्रदर्शनकारीमाथि दमन गरेको आरोपमा मानवता विरुद्धको अपराधमा मृत्युदण्ड सुनाइएको छ ।
‘बङ्गलादेशका अधिकारी हसिनाको नयाँ पासपोर्टको अनुरोधलाई हेरिरहेका छन्’ गृहमन्त्री अहमदले पत्रकारसँग भने– ‘उनी विदेशमा शरण लिएकी दोषी ठहरिएकी अपराधी हुन् । आवेदनको कानुनी आधार, प्रक्रिया पूरा भएको छ कि छैन र पासपोर्ट माग्ने अधिकार छ कि छैन ? सबै विषय समीक्षा भइरहेका छन् ।’
उनले अगाडि भने– ‘हामीले त्यो देश (भारत) लाई उचित प्रक्रियानुसार उहाँको प्रत्यर्पण माग्दै पत्र पठाइसकेका छौँ ।’
हसिनाले पटकपटक फर्किने इच्छा व्यक्त गर्दै आएकी छिन् । उनले एएफपीलाई इमेलमार्फत दिएको जानकारीमा फाँसीको सजाय सामना गर्नुपर्ने कुराबारे आफूलाई अवगत रहेको बताएकी छिन् ।
हसिनाका बेलायती वकिलले उनको पासपोर्ट खारेज भएको रिपोर्टपछि कागजात नवीकरणको अनुरोध गरेका छन् । म्याट्रिक्स चेम्बर्स नामक कानुनी फर्मको पत्र बङ्गलादेशको नयाँदिल्लीस्थित उच्च आयोगलाई सम्बोधन गरिएको छ । एएफपीले देखेको उक्त पत्रमा पासपोर्ट नवीकरण मागिएको छ तर कहिले वा कहाँ यात्रा गर्ने भन्ने उल्लेख छैन । (रासस/एएफपी)





