काठमाडौँ । इजरायलका राष्ट्रपति इसाक हर्जोगले विपक्षी नेता गादी आइजेनकोटलाई नयाँ गठबन्धन सरकार गठन गर्न निम्तो दिएका छन् ।
राष्ट्रपतिको निर्णयसँगै आइजेनकोटले नयाँ सरकार गठनका लागि २८ दिनको समय पाएका छन् । आवश्यक परे उनलाई थप १४ दिन समय दिन सकिने बताइएको छ ।
आइजेनकोटले एक्समा लेखेका छन्– ‘अब राष्ट्रिय आपत्त्कालीन सरकार गठन गर्ने समय आएको छ । यसका लागि योग्य बन्न म सक्दो प्रयास गर्नेछु ।’
गत साता सम्पन्न निर्वाचनबाट आइजेनकोट वा बेन्जामिन नेतन्याहूको कुनै पनि गठबन्धनले सरकार गठनका लागि आवश्यक बहुमत प्राप्त गर्न सकेका छैनन् ।
नेतन्याहुको दक्षिणपन्थी लिकुड पार्टीको गठबन्धनले एक सय २० सदस्यीय संसद्मा ५३ सिट जितेका छन् । त्यस्तै, आइजेनकोटको विपक्षी गठबन्धनले ४८ सिट जितेका छन् ।
यता नेतन्याहुले विपक्षी दल र अरब पार्टीबिच सम्भावित गठबन्धनप्रति आपत्ति जनाएका छन् । उनले अरब पार्टीको समर्थनमा बन्ने सरकारले देशलाई पतनतर्फ लैजाने चेतावनी दिए ।
अरब मतदाताको उल्लेख्य सहभागितापछि अरब नेतृत्वका दुई गठबन्धन युनाइटेड अरब लिस्ट (राम) र जोइन्ट लिस्टले संयुक्त रूपमा १९ सिट जितेका छन् । उनीहरू अहिले सरकार गठनका लागि निर्णायक शक्तिका रूपमा देखिएका छन् ।
निर्वाचन परिणामपछि इसराइलमा सरकार गठनका लागि तीनोटा सम्भावित विकल्प देखिएका थिए । पहिलो– नेतन्याहु र आइजेनकोट दुवैलाई समेटेर राष्ट्रिय एकता सरकार गठन गर्ने । दोस्रो– नेतन्याहु र आइजेनकोटको गठबन्धनबाट अलग भएका सदस्यलाई समेटेर दक्षिणपन्थी गठबन्धन बनाउने । तेस्रो– अरब पार्टीको समर्थनमा आइजेनकोटको नेतृत्वमा सरकार गठन गर्ने । (एजेन्सी)





