वासिङ्टन । मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले कङ्ग्रेसको नियन्त्रण गुमाएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अझ बलियो भएर फर्किने वाचा गरेका छन् ।
निर्वाचन परिणामसँगै डेमोक्रेटले राष्ट्रपति र उहाँका प्रशासनका उच्च अधिकारीमाथि अनुसन्धान अघि बढाउने चेतावनी दिएपछि अमेरिकी राजनीतिमा टकराव चुलिएको हो ।
कङ्ग्रेसका दुवै सदनका समितिमा नियन्त्रण पाएका डेमोक्रेटले ट्रम्प परिवारको व्यापार तथा क्रिप्टोकरेन्सी कारोबार, एलन मस्कसँग सम्बन्धित सरकारी सम्झौता, आप्रवासन नीति र इरान युद्ध सञ्चालनलगायत विषयमा अनुसन्धान गर्न सक्नेछन् । उनीहरूले अधिकारीलाई बयानका लागि बोलाउन र सार्वजनिक सुनुवाइ गर्न पनि पाउनेछन् ।
ट्रम्पले सामाजिक सञ्जालमार्फत निर्वाचन परिणामलाई अमेरिकाका लागि ठुलो धक्का भन्दै आफूहरू अझ बलियो भएर फर्किने बताए ।
उनले प्रशासनका सदस्यलाई महाभियोग लगाउने डेमोक्रेटको चेतावनीलाई दबाब सिर्जना गर्ने प्रयास भन्दै न्याय मन्त्रालयलाई अनुसन्धान गर्न निर्देशन दिएको पनि बताए ।
महान्यायाधिवक्ता टोड ब्लान्चेले प्रशासनका अधिकारीमाथि अनुसन्धान वा कारबाहीको प्रयास भए न्याय मन्त्रालयले उनीहरूको बचाउ गर्ने बताए तर प्रतिनिधिसभाको निगरानी समितिका वरिष्ठ डेमोक्रेटिक सदस्य रोबर्ट गार्सियाले कार्यकारी शाखालाई जबाफदेही बनाउनु कङ्ग्रेसको संवैधानिक जिम्मेवारी भएको बताउँदै भ्रष्टाचार र अमेरिकी जनता विरुद्धका अपराधको अनुसन्धानबाट पछि नहट्ने स्पष्ट पारे । (रासस/एएफपी)





