त्रिशूली (नुवाकोट) । नुवाकोटको विदुर नगरपालिका–९ मा कात्तिक २३ गते सोमवार मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
भैरमकोटबाट त्रिशूलीतर्फ आउँदै गरेको मोटरसाइकल अनियन्त्रित भई सडकबाट खस्दा सो दुर्घटना भएको हो ।
घाइते तीन जनालाई उपचारका लागि त्रिशूली अस्पताल पुर्याए पनि चिकित्सकले मृत्यु भएको पुष्टि गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटको प्रहरी नायब उपरीक्षक इकबाल हवारीले जानकारी दिए ।
उनको अनुसार मृत्यु हुनेमा मोटरसाइकल चालक धादिङ खनियाबाँसका ४७ वर्षका बुद्धिमान तामाङ, विदुर नगरपालिका–१३ माथिल्लो खुर्सानेका २७ वर्षीया सुनिता थापामगर र ३१ वर्षीया बिन्दा थापामगर रहेका छन् ।
बा ९९ प ८२०२ नं को मोटरसाइकल भैरमकोटबाट त्रिशूलीतर्फ आउने क्रममा खड्कथोक भन्ने स्थानमा आइपुग्दा अनियन्त्रित भई सडकबाट सय मिटर तल खस्न पुगेको प्रहरीले जनाएको छ । सो मोटरसाइकलले भाडामा यात्रु बोक्ने गरेको छ । (रासस)





