• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, भदौ १३, २०८३
☰
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

रसुवा बाढीका प्रभावितलाई राहत सङ्कलन गर्न मूल प्रवाहको अपिल

रसुवा बाढीका प्रभावितको राहत तथा उद्धारबारे प्रधानमन्त्रीको आजको भनाइ यस्तो छ

राजुको मुक्तकसङ्ग्रह ‘रापका ज्वारभाटा’ सार्वजनिक

राजमोले रसुवा बाढीपीडितका लागि राहत सहयोग जुटाउँदै

रसुवा बाढीका प्रभावितलाई सहयोग गर्न मसालले पहल गर्ने

संविधानमा अधिकार, राजनीतिमा अझै कमजोर प्रतिनिधित्व

गजल

भोटेकोशी बाढी : ६१६ जनाको शव फेला

हिमाचलको कुमारसेनमा मूल प्रवाहको १५ सदस्यीय एरिया समिति गठन

लोकप्रिय समाचार

  • १. तीज गीत : देश पोलेर

  • २. जनताले विकल्प खोजिरहेका छन्, नयाँ राजनीतिक व्यवस्था सम्भव छ : मोहनविक्रम सिंह

  • ३. रोल्पामा विप्लव नेतृत्वको नेकपाबाट १३ नेता–कार्यकर्ताको विद्रोह

  • ४. बाढीपीडितको उद्धार र राहतमा जुट्न अखिल (छैठौँ)को अपिल

  • ५. काठमाडौँ मसालका प्रवक्ता रेग्मीलाई मातृशोक

  • ६. राजमोले रसुवा बाढीपीडितका लागि राहत सहयोग जुटाउँदै

  • ७. ओली–प्रचण्डको कमजोरीले कम्युनिस्ट आन्दोलन कमजोर भयो : रामप्रकाश पुरी

  • ८. मूल प्रवाह पश्चिम भारत क्षेत्रीय समितिको अध्यक्षमा प्रविण सिंह काउछा

  • ९. तीज गीत : आपराधिक मानसिकता पार्न सर्वनाश

  • १०. चिनियाँ राष्ट्रपति भन्छन् : राज्यका सम्पूर्ण संयन्त्रलाई उद्धारमा खटाउनू

रसुवा बाढीका प्रभावितको राहत तथा उद्धारबारे प्रधानमन्त्रीको आजको भनाइ यस्तो छ


  •   शनिबार, भदौ १३, २०८३ मा प्रकाशित
  • काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले सरकारका अभिव्यक्ति सामाजिक सञ्जालको निजी एकाउन्टबाट सार्वजनिक गर्दै आएका छन् । २०८३ भदौ १३ गते साँझ पनि उनले सामाजिक सञ्जालमार्फत राहत तथा उद्धारबारे जानकारी दिएका छन् ।

    Advertisement

    उनको सो सामग्री जस्ताको तस्तै :

    रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङलगायतका तटीय क्षेत्रमा निकै ठुलो जनधन र भौतिक क्षति पुर्‍याएकोप्रति नेपाल सरकार अत्यन्तै गम्भीर र संवेदनशील छ । बाढी आएलगत्तै सरकारले प्रभावित क्षेत्रमा उद्धार, खोजी र राहत कार्यलाई कुनै पनि कसर बाँकी नराखी अहोरात्र तीव्र पारिरहेको छ ।

    सङ्घ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीसँगको निरन्तर समन्वय, सहकार्य र सहजीकरणमा यो कार्यलाई पूर्ण क्षमताका साथ निरन्तरता दिइएको छ । राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता बनेको कुरा दोहोर्‍याउन चाहन्छौँ ।

    प्रभावित क्षेत्रमा हालसम्म भएका उद्धार, उपचार, व्यवस्थापन र सञ्चार पुन:स्थापनालगायतबारे सङ्क्षिप्त विवरण निम्नानुसार छ :

    खोजी तथा उद्धार

    प्रतिकूल मौसम र विकट भौगोलिक परिस्थितिका बाबजुद पनि प्रभावित क्षेत्रबाट आज साढे पाँच बजेसम्म ७,५१४ जना मानिसलाई हवाई र स्थलमार्गमार्फत सफलतापूर्वक उद्धार गरी सुरक्षित स्थानमा पुर्‍याएको छ, जसमध्ये विभिन्न जलविद्युत् आयोजना क्षेत्रमा फस्नुभएका २७९ जना मानिसको उद्धार भइसकेको छ भने बाँकी क्षेत्रमा नेपाली सेनाले उद्धारको प्रयास जारी राखेको छ । उद्धारमा भारतीय र चिनियाँ विज्ञहरू नेपाली सेनासँगको समन्वयमा खटिनुभएको छ ।

    प्रभावित क्षेत्रमा उद्धार कार्यका लागि नेपाली सेना र निजी क्षेत्रका गरी १६ ओटा हेलिकप्टर प्रयोग गरेर हालसम्म २३६ ओटा उडान भरिसकेको अवस्था छ । प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका गरी १८,७०८ जना सुरक्षाकर्मी खटिनुभएको छ । हामीलाई प्राप्त सुझाव र गुनासोलाई समेत ध्यानमा राख्दै प्रभावित क्षेत्रमा परिचालन हुने सुरक्षाकर्मीको सङ्ख्या हरेक दिन बढाउँदै लगिएको छ भने थप हेलिकप्टर तयारी अवस्थामा राखिएका छन् तर भौगालिक अवस्था र प्रतिकूल मौसमका कारण एकैपटक धेरै उडान भर्न सकिएको छैन । ज्यान जोखिममा राखेर खटिने सुरक्षाकर्मीको मनोबल उच्च राख्न दैनिक खाजा खर्च र प्रोत्साहन भत्ता वृद्धि गर्ने निर्णयसमेत गरिएको छ । उद्धारका क्रममा आवश्यकतानुसार अन्तर्राष्ट्रिय समुदायबाट पनि सहयोग लिइरहेका छौँ ।

    उपचार तथा मनोपरामर्श

    प्रभावित क्षेत्रबाट उद्धार गरिएका जटिल घाइतेलाई काठमाडौँका विभिन्न अस्पतालमा ल्याएर उपचार गरिरहेका छौँ । अन्य घाइतेलाई रसुवाको धुन्चे र नुवाकोटको बट्टारस्थित नेपाली सेनाको ब्यारेकमा मोबाइल अस्पताल खडा गरी काठमाडौँबाट जानुभएका विभिन्न विशेषज्ञसहितको मेडिकल टोलीले निरन्तर उपचार गरिरहनुभएको छ । यस्तै, काठमाडौँबाट गएका विभिन्न चिकित्सकसहितको टोलीले धुन्चे, स्याफ्रुबेँसी, रसुवा अस्पताल र हेली क्षेत्रमा २ गरी ५ स्थानबाट स्वास्थ्य सेवा दिइरहनु भएको छ, साथै घाइते र उहाँहरूका परिवारका सदस्यलाई मनोपरामर्श सेवासमेत प्रदान गरिरहेका छौँ । अस्पतालमा रगतको सहज उपलब्धताका लागि सरकारले ‘रक्त सूचना पोर्टल’ सञ्चालन गरी कुन अस्पतालमा कति रगत उपलब्ध छ भन्ने विवरण सार्वजनिक रूपमा जानकारी दिने व्यवस्था मिलाएको छ । प्रभावित क्षेत्रमा स्वास्थ्य सेवाप्रवाहको थालनी गरिसकेका छौँ । विभिन्न अस्पतालमा उपचारार्थ घाइते नागरिक निको भएर घर जाने क्रम जारी छ ।

    नागरिक व्यवस्थापन

    प्रभावित क्षेत्रबाट उद्धार गरिएका घाइतेबाहेक अन्य प्रभावित नागरिकका लागि जिल्ला प्रशासन कार्यालय, स्थानीय तहलगायतको समन्वयमा रुसुवामा ३, नुवाकोटमा १५ ओटा शिविर स्थापना गरिएको छ । यी शिविरका लागि सङ्घीय सरकारले राहत सामग्री निरन्तर पठाइरहेको छ । नेपाल रेडक्रस, नेपाल स्काउट, लायन्स क्लब तथा अन्य स्वयम्सेवी संस्थाका संयन्त्रसमेत परिचालित छन् । बाढीबाट विस्थापित करिब ३,५०० जना नागरिकलाई तत्काल बसोबास गराउन विद्यालय तथा सार्वजनिक/सामुदायिक भवनमा अस्थायी आवासको व्यवस्था मिलाइएको छ । राष्ट्रिय बिपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कोषबाट प्रभावित ५ जिल्लाका १५ स्थानीय तहमा अत्यावश्यक सेवा सञ्चालनका लागि ६ करोड ७५ लाख रुपैयाँ निकासा भइसकेको छ ।

    राहत सङ्कलन

    नेपाल सरकारले प्रधानमन्त्री दैवी प्रकोप कोष र प्रधानमन्त्री कोषमार्फत पीडितका लागि आर्थिक सहयोग जुटाइरहेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ‘उद्धार अनुरोध पोर्टल’ सञ्चालन गरी यी कोषमा हालसम्म स्वदेश तथा विदेशबाट प्राप्त रकमको पूर्ण विवरण पूर्ण पारदर्शी रूपमा सार्वजनिक गरेको छ । प्रधानमन्त्री राहत कोषमा आज मध्याह्नसम्म नौओटा वाणिज्य बैङ्कका खातामा ५ अर्ब ४ करोड ४६ लाख ८१ हजार ३६९ रुपैयाँ जम्मा भएको छ । त्यस्तै, हिमालयन र लक्ष्मी बैङ्कमा थप १८ लाख ८ हजार १८९ अमेरिकी डलर जम्मा भएको छ । बिपद्को यस विषम परिस्थितिमा प्राप्त हुने सहयोगको पारदर्शी उपयोग, सही व्यवस्थापन र सम्भावित वित्तीय ठगीबाट बच्नका लागि सरकारले सार्वजनिक गरेको आधिकारिक ‘क्युआरकोड’ र खाताको नाम (प्रधानमन्त्री दैवी प्रकोप कोष र प्रधानमन्त्री कोष) मा मात्र आर्थिक सहयोग गरिदिनुहुन अनुरोध गरिन्छ । खाताको विस्तृत विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आधिकारिक वेबसाइटमा उपलब्ध छ ।

    पीडितका तत्काल आवश्यक पर्ने खाद्य तथा अन्य दैनिक उपभोगका सामग्रीको सहज व्यवस्थापनका लागि पनि सरकार जुटिरहेको छ । यसै क्रममा त्रिभुवन विमानस्थलको वेयर हाउस, काठमाडौँ जिल्ला प्रशासन कार्यालय, सामाखुसीस्थित नेपाल प्रहरीको बिपद् तालिम केन्द्र र बबरमहलस्थित सहरी विकास तथा भवन निर्माण विभाग परिसरमा राहत सामग्री सङ्कलन भइरहेको छ । सङ्कलित राहत सामग्री हवाई तथा स्थलमार्गबाट हालसम्म नुवाकोटको बट्टारमा रहेको नेपाली सेनाको मैथिल ब्यारेक र रसुवाको उत्तरगयामा पुर्‍याउने काम भइरहेको छ, साथै मैथिल ब्यारेकबाट धादिङको बैरेनी प्रहरी कार्यालय र रुसुवाको धुन्चेस्थित नेपाली सेनाको ब्राबेल ब्यारेक पुर्‍याउने गरिएको छ । त्यहाँ सङ्कलित राहत सामग्री जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वको सुरक्षाकर्मी तथा अन्य सरोकारवाला सम्मिलित समितिले प्रभावित क्षेत्रमा पुर्‍याएर वितरण गरिरहेको छ । आज मात्रै एमआई–१७ हेलिकप्टरमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट खाद्य सामग्री रसुवाको धुन्चेमा पुर्‍याइएको छ, साथै आजै स्थलमार्गबाट अत्यावश्यक खाद्य र गैरखाद्य राहत तथा उद्धार सामग्री धुन्चे र उत्तरगया गाउँपालिका पठाइएको छ । विभिन्न सङ्घसंस्था र सहयोगी निकायले समेत सिधै सम्बन्धित जिल्ला प्रशासन कार्यालयका सम्बन्धित सम्पर्क विन्दुमा राहत सामग्री पठाउने क्रम जारी छ ।

    अन्तर्राष्ट्रिय सहयोग

    प्रभावितको व्यवस्थापन र पुन:स्थापनाका लागि एसियाली विकास बैङ्क (एडिबी) बाट बजेटरी सहयोग (अनुदान) का लागि ५ मिलियन अमेरिकी डलर, विश्व बैङ्कबाट १६७ मिलियन अमेरिकी डलरको सहुलियतपूर्ण कर्जा, अमेरिकी सरकारबाट ५ लाख अमेरिकी डलर र अस्ट्रेलियाको सरकारबाट १ मिलियन अमेरिकी डलर (नगद सहयोग), एसियाली विकास बैङ्कबाट प्राविधिक सहायताका लागि १ लाख ५० हजार अमेरिकी डलर उपलब्ध गराउने प्रतिबद्धता आएको छ, साथै भारत सरकारबाट हालसम्म ३ चरणमा कुल ५७.५ टन मानवीय सहायता तथा अत्यावश्यक औषधी प्राप्त भएको छ । चीन र अमेरिकाबाट पनि सोही किमिसको सहायता आउँदैछ । चीनबाट ३० ओटा बेलीबिज्र सहयोग अनुरोध गरिएको छ । भारतबाट २ हजार र चीनबाट २ हजार शव व्यवस्थापनका लागि ‘एयर टाइट ब्याग’ प्राप्त भएको छ । स्विट्जरल्यान्डबाट १ मिलियन स्विस् फ्र्याङ्क (संयुक्त राष्ट्र सङ्घ) बाट खर्च हुने गरी प्राप्त भएको छ । त्यस्तै, विभिन्न अन्तर्राष्ट्रिय सङ्घसंस्थाबाट सहयोग प्राप्त हुने क्रम जारी छ ।

    सञ्चार सम्पर्क

    प्रभावित क्षेत्रमा नेपाल टेलिकमका १२० र एनसेलका ७८ ओटा बिटिएस टावर सञ्चालनमा रहेकोमा बाढीका कारण नेपाल टेलिकमका ३८ र एनसेलका २७ ओटा टावरको सेवा अवरुद्ध भएको थियो । कतिपय ठाउँमा टावरमै ठुलो क्षति पुगेको थियो भने कतिपय ठाउँमा ऊर्जाको अभाव भएको थियो । सरकारले तत्कालै हेलिकप्टर र सडकमार्गमार्फत इन्धन, सोलार प्यानल र जेनेरेटर ढुवानी गरेर टावर पुन: सञ्चालनमा ल्याएको छ, जसमध्ये अहिलेसम्म नेपाल टेलिकमका ९० र एनसेलका ७१ ओटा टावर सञ्चालनमा आइसकेका छन् भने बाँकी टावर पनि चाँडै सञ्चालनमा ल्याउने गरी मर्मतकार्य भइरहेको छ ।

    वैकल्पिक सडक सञ्चालन

    बाढीले मुख्य सडकमा क्षति पुर्‍याएर प्रभावित क्षेत्रसम्म पुग्न समस्या भइरहेका बेला हाल काठमाडौँ–टोखा–छहरे–गड्खार पुल–आप्र–नर्जा–लच्याङ–सरमथली–पाटीखर्क हुँदै बोगटीटार–कालिकास्थान–धुन्चे सडकखण्ड चारपाङ्ग्रे साना सवारीसाधन सञ्चालन हुने गरी मर्मत गरिएको छ । यो सडकखण्ड खुलेसँगै रसुवा पुन: राष्ट्रिय सडक सञ्जालसँग जोडिएको छ । त्यस्तै, पृथ्वी राजमार्गअन्तर्गत गल्छी–मलेखुको १३ किलोमिटर खण्डमा थुप्रिएको लेदो पन्छाएर पृथ्वी राजमार्ग पनि पूर्ण रूपमा सञ्चालनमा ल्याइसकिएको छ । धादिङबेसी जाने वैकल्पिक सडक सञ्चालनमा आएको छ । परेवाटार–नेपालटार–गजुरीटार–पिपलटार–आदमटार–बेलिनटार–केउरिनीटार हुँदै मास्टार जोडिने सडक सञ्चालनमा आएसँगै धादिङबेसी पुन: सडक सञ्जालमा जोडिएको छ ।

    शव व्यवस्थापन

    हालसम्म रसुवा, धादिङ, नुवाकोट, चितवन, तनहुँ, गोरखा, नवलपरासी पूर्व र नवलपरासी पश्चिमका विभिन्न स्थानमा ६७५ ओटा शव फेला परेका छन् । फेला परेका शवलाई ‘एयर टाइट ब्याग’ मा राखेर व्यवस्थापन गर्ने काम भइरहेको छ । यी शवलाई ‘पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन (पहिलो संशोधन) निर्देशिका, २०८३’ बमोजिम व्यवस्थापन गरिँदैछ । पहिचान गर्न नसक्ने अवस्थामा भेटिएका शवलाई मात्रै डिएनएलगायत अन्य पहिचानलाई सहयोग गर्ने आधार सुरक्षित राखी सरकारले आफै व्यवस्थापन गर्न लागेको हो । परिवारले पहिचान गरेका शव भने उहाँहरूलाई जिम्मा लगाउने काम भइरहेको छ । त्यसैले यस विषयमा कुनै पनि भ्रममा नरहन सबैमा अनुरोध गर्दछौँ ।

    बिपद्को यस कठिन घडीमा सम्पूर्ण नागरिक, सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी, स्वयम्सेवी संस्थाले देखाउनुभएको धैर्यता, तत्परता र सहयोगप्रति नेपाल सरकार हार्दिक आभार व्यक्त गर्दछ । बिपद्को समयमा समाजले भरोसा, सही दिशा र सत्यतथ्य खोजिरहेको हुन्छ । त्यसैले पीडितको जीवनरक्षा र उहाँहरूको मनोबल बढाउने गरी सूचना प्रवाह गरिदिन हुन आमसञ्चार माध्यम तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई समेत अनुरोध समेत गर्दछौँ ।

    नेपाल सरकार प्रभावित नागरिकको साथमा छ र उद्धार तथा पुनस्र्थापनाका कार्य नतिजा नआएसम्म निरन्तर जारी राख्नेछ ।

    शनिबार, भदौ १३, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रसुवा बाढीका प्रभावितलाई राहत सङ्कलन गर्न मूल प्रवाहको अपिल
    राजुको मुक्तकसङ्ग्रह ‘रापका ज्वारभाटा’ सार्वजनिक
    राजमोले रसुवा बाढीपीडितका लागि राहत सहयोग जुटाउँदै
    रसुवा बाढीका प्रभावितलाई सहयोग गर्न मसालले पहल गर्ने
    संविधानमा अधिकार, राजनीतिमा अझै कमजोर प्रतिनिधित्व
    भोटेकोशी बाढी : ६१६ जनाको शव फेला

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      तीज गीत : देश पोलेर

    • २.
      जनताले विकल्प खोजिरहेका छन्, नयाँ राजनीतिक व्यवस्था सम्भव छ : मोहनविक्रम सिंह

    • ३.
      रोल्पामा विप्लव नेतृत्वको नेकपाबाट १३ नेता–कार्यकर्ताको विद्रोह

    • ४.
      बाढीपीडितको उद्धार र राहतमा जुट्न अखिल (छैठौँ)को अपिल

    • ५.
      काठमाडौँ मसालका प्रवक्ता रेग्मीलाई मातृशोक

    • ६.
      राजमोले रसुवा बाढीपीडितका लागि राहत सहयोग जुटाउँदै

    भर्खरै

    • १.
      रसुवा बाढीका प्रभावितलाई राहत सङ्कलन गर्न मूल प्रवाहको अपिल

    • २.
      रसुवा बाढीका प्रभावितको राहत तथा उद्धारबारे प्रधानमन्त्रीको आजको भनाइ यस्तो छ

    • ३.
      राजुको मुक्तकसङ्ग्रह ‘रापका ज्वारभाटा’ सार्वजनिक

    • ४.
      राजमोले रसुवा बाढीपीडितका लागि राहत सहयोग जुटाउँदै

    • ५.
      रसुवा बाढीका प्रभावितलाई सहयोग गर्न मसालले पहल गर्ने

    • ६.
      संविधानमा अधिकार, राजनीतिमा अझै कमजोर प्रतिनिधित्व

    • ७.
      गजल

    • ८.
      भोटेकोशी बाढी : ६१६ जनाको शव फेला

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.