नयाँदिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले रसुवा बाढीपीडितका लागि राहत सङ्कलन गर्न अपिल गरेको छ ।
अध्यक्ष प्रेम पौडेलको हस्ताक्षरमा अगस्त २९, २०२६ का दिन अपिल सार्वजनिक गर्दै मूल प्रवाहले सो जानकारी दिएको हो ।
देशमा ठुल्ठुला आपत् पर्दा मूल प्रवाह र भारतस्थित नेपालीले सहयोग गर्ने गरेको इतिहास स्मरण गराउँदै उक्त अपिलमा यसपटक पनि सहयोगको अपिल गरिएको छ ।
सङ्कलित रकम सिधै पीडितलाई वा प्रधानमन्त्री राहत कोषमार्फत पीडितलाई उपलब्ध गराइने पनि सो अपिलमा स्पष्ट पारिएको छ ।
जलवायु परिवर्तनका कारण रसुवा बाढी आएको हुन सक्ने बताउँदै अपिलमा यसका सम्भावित कारण खोजी गर्ने तथा चीनसँग प्राकृतिक विपत्तिको सन्दर्भमा पूर्वसूचना प्रणाली आदानप्रदानमा ध्यान दिन सरकारसित आग्रह गरेको छ ।
यस्तो छ, अपिलको पूर्ण पाठ :
“रसुवाको भोटेकोशीमा २०८३ भदौ १० गते आएको बाढीबाट भएको धनजनको क्षतिबारे मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले सोही दिन नै शोकविज्ञप्ति जारी गरेर मृतकप्रति श्रद्धाञ्जली तथा परिवार एवम् आफन्तजनमा समवेदना व्यक्त गरिसकेको छ ।
उक्त बाढीबाट ठुलो धनजनको क्षति भएको छ । हजारौँ परिवार घरबारविहीन बन्न पुगेका छन् । उनीहरूको राहतका लागि सहयोग गर्नु हामी सबैको कत्र्तव्य बन्न गएको छ । देशमा भएका ठुल्ठुला आपत्को समयमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज र भारतस्थित नेपालीले उल्लेख्य सहयोग गर्दै आएको इतिहास छ । अत: अहिले भोटेकोशीमा आएको बाढीका कारण पीडित बन्न पुगेका जनसमुदायलाई राहत उपलब्ध गराउनका लागि सहयोग गर्न सबै समिति, सङ्घसंस्था र भारतस्थित सम्पूर्ण नेपालीमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज हार्दिक अपिल गर्दछ । उक्त रकम सम्बन्धित पीडितलाई सिधै वा प्रधानमन्त्री राहत कोषमार्फत् उपलब्ध गराइनेछ ।
यस सन्दर्भमा पर्यावरणसँग जोडिएका विषयमा समेत हाम्रो ध्यान जान आवश्यक छ । भोटेकोशी बाढीको बारेमा अध्ययन भइरहेको छ । खास तथ्यगत कारण अझै पनि स्पष्ट हुन सकिरहेको छैन । सम्पन्न राष्ट्रका पुँजीपतिले आफ्नो मुनाफाका लागि प्रकृतिको असन्तुलित दोहन गरेका कारण पृथ्वीको जलवायुमा परिवर्तन भइरहेको छ । त्यसको मूल्य हाम्रोजस्तो गरिब राष्ट्र र जनताले चुकाउनु परिरहेको छ । चीन सरकारसँग वर्षौँ अगाडि प्रारम्भिक सहमति भएर पनि पूर्वसूचना प्रणाली सिस्टमको व्यवस्था हुन नसकेका कारण पनि यति ठुलो परिमाणमा जनधनको क्षति हुन पुगेको छ । यस विषयमा पनि हामी नेपाल सरकारको ध्यानआकर्षण गराउन चाहन्छौँ ।”