काठमाडौँ, भदौ ११ । नेपाल–चीन सीमा आसपासबाट आएको भीषण बाढीका कारण रसुवागढी, टिमुरे, स्याप्रुवेसी, त्रिशूली बजार, वेत्रावती र विदुरलगायत क्षेत्रमा भएको ठूलो जनधनको क्षतिप्रति अखिल (छैठौं) ले दुःख व्यक्त गरेको छ।
सङ्गठनले प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने गरी आर्थिक सहयोग सङ्कलन अभियानसमेत सञ्चालन गरिरहेको अध्यक्ष सुवाश जि.सि.द्वारा भाद्र ११ गते जारी विज्ञप्तिमा उल्लेख छ ।
सङ्गठनले मृतकहरूप्रति श्रद्धाञ्जली तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बेपत्ता तथा सम्पर्कविहीनहरूको तत्काल खोजी र उद्धार गर्न सरकार तथा सम्बन्धित निकायलाई आग्रह गरेको छ ।
अखिल (छैठौँ)ले विपद्को यस कठिन अवस्थामा सम्पूर्ण जनतालाई एकताबद्ध भई राहत तथा उद्धारमा सहभागी हुन अपिल गर्दै छैठौँ पनि मानवीय सहयोगका लागि सक्रिय रहेको जनाएको छ ।
प्रस्तुत छ वक्तव्यको पूर्णपाठ
मिति २०८३ भाद्र १० गते नेपाल–चीन सीमाना आसपासबाट आएको भयानक बाढीका कारण रसुवागढी, टिमुरे, स्याफ्रुबेँसी, त्रिशूली बजार, बेत्रावती, विदुरलगायतका स्थानमा भएको व्यापक जनधनको क्षतिप्रति अखिल (छैठौँ) स्तब्ध भएको छ। उक्त बीभत्स घटनामा ज्यान गुमाउनुहुने सम्पूर्णप्रति हामी हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौँ। साथै, सम्पूर्ण घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ ।
उक्त घटनामा कैयौँ व्यक्तिहरू हराइरहनुभएको तथा सम्पर्कविहीन रहनुभएको छ। कैयौँ व्यक्तिहरू उद्धारको पर्खाइमा समेत रहनुभएको अवस्था छ। हामी सरकार एवं उद्धारसँग सम्बन्धित सम्पूर्ण निकायहरूलाई शीघ्रतापूर्वक तथा अत्यन्त प्रभावकारी रूपमा उद्धार कार्यमा जुट्न हार्दिक अनुरोध गर्दछौँ। देशको यस कठिन परिस्थितिमा सम्पूर्ण जनता एकताबद्ध हुन तथा राहत र उद्धारका कार्यमा हरेक नागरिकलाई सक्रिय रूपमा सहभागी हुनसमेत हामी हार्दिक अपिल गर्दछौँ।
अखिल (छैठौँ) राहत, उद्धार तथा हरेक प्रकारका मानवीय सहयोगका लागि तत्पर रहेको कुरा उल्लेख गर्दै, प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने गरी आर्थिक सहयोग सङ्कलनमा जुटेको जानकारीसमेत गराउन चाहन्छौँ।”
मिति : २०८३ भाद्र ११ गते
सुवाश जि.सी.
(अध्यक्ष)
अखिल (छैठौँ)