काठमाडौँ, भदौ ७ । नेपाल कम्युनिस्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले मुलुकको वर्तमान राजनीतिक अवस्थाप्रति असन्तुष्टि बढ्दै गएको र त्यसले नयाँ राजनीतिक सम्भावनाको आधार तयार गर्न सक्ने धारणा व्यक्त गर्नुभएको छ ।
भदौ ६ गते शनिबार बुटवलमा सम्पन्न कम्युनिस्ट संग्राहलयको चौथो भेलालाई सम्बोधनका क्रममा महामन्त्री सिंहले सो धारणा राख्नुभएको हो ।
सिंहका अनुसार अहिलेको परिस्थितिलाई स्थिर र अन्तिम अवस्थाका रूपमा बुझ्नु गलत हुनेछ । जनताले विभिन्न राजनीतिक विकल्पबारे सोचिरहेका छन् र परिस्थितिमा परिवर्तन आउन सक्ने उनको संकेत छ ।
महामन्त्री सिंहले राजनीतिक शक्तिहरूले तत्काल देखिएको अवस्थामै सीमित भएर निष्कर्ष निकाल्न नहुने भन्दै दीर्घकालीन राजनीतिक दिशा, जनताको चाहना र बदलिँदो परिस्थितिलाई गम्भीर रूपमा अध्ययन गर्नुपर्ने बताउनु भयो ।
सिंहले देशमा देखिएका राजनीतिक, सामाजिक तथा आर्थिक समस्याको समाधानका लागि स्पष्ट राजनीतिक दृष्टिकोण आवश्यक रहेकोमा जोड दिनुभयो । उहाँका भनाइमा जनतामा निराशा बढ्दै जाँदा त्यसले विद्यमान राजनीतिक शक्तिहरूप्रति प्रश्न उठाउने अवस्था सिर्जना गरेको छ ।
उहाँले कुनै पनि राजनीतिक परिस्थिति स्थायी नहुने उल्लेख गर्दै “अहिले जे अवस्था छ, त्यही अवस्था सधैँ रहन्छ भन्ने छैन” भन्ने आशय व्यक्त गर्नुभयो । जनताको चेतना, राजनीतिक संघर्ष र परिस्थितिको विकाससँगै नयाँ सम्भावना जन्मिन सक्ने उहाँको धारणा छ ।
मसालका महामन्त्री सिंहले वर्तमान अवस्थालाई गम्भीरतापूर्वक विश्लेषण गर्दै राजनीतिक शक्तिहरूले आफ्ना नीति तथा कार्यक्रमलाई जनताको वास्तविक समस्यासँग जोड्नुपर्ने बताउनु भयो । उहाँका अनुसार राजनीतिक परिवर्तन केवल सत्ता परिवर्तनमा सीमित नभई जनताको जीवनमा वास्तविक सुधार ल्याउने दिशामा केन्द्रित हुनुपर्छ।
सिंहको पछिल्लो धारणा मुलुकमा वैकल्पिक राजनीतिक सम्भावनाबारे बहस चलिरहेका बेला आएको हो । उहाँको भनाइले वर्तमान राजनीतिक व्यवस्थाप्रति असन्तुष्टि राख्ने शक्तिहरूबीच नयाँ राजनीतिक समीकरण वा सम्भावित परिवर्तनबारे बहसलाई थप रोचक बनाउने देखिएको छ ।