काठमाडौँ । नेकपा (मसाल) ले नेपाली कङ्ग्रेसको इतर पक्षको सम्मेलनले धर्मको सम्बन्धमा लिएको निर्णयलाई अभिप्रायगत प्रकारले हिन्दु राष्ट्रको पक्षमा रहेको बताएको छ ।
महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०८३ भदौ २ गते मङ्गलवार प्रेसवक्तव्य जारी गर्दै पार्टीले सो धारणा व्यक्त गरेको हो ।
पार्टीको भनाइ छ, इतर पक्षको अगाडि सारेको विचार स्पष्ट रूपमा राजतन्त्र र हिन्दु राष्ट्रको पक्षमा नभए पनि त्यसको मूल अभिप्राय नेपाललाई हिन्दु राष्ट्र बनाउनु रहेको देखिन्छ ।
नेपाली कङ्ग्रेसभित्र गणतन्त्र र धर्मनिरपेक्षताको पक्षमा ठुलो जनमत रहेको स्मरण गराउँदै मसालले यदि नेपाली कङ्ग्रेस गणतन्त्र र धर्मनिरपेक्षताको विपक्षमा जान्छ भने त्यसको विरोध गर्ने बताएको छ ।
यस्तो छ, प्रेसवक्तव्यको पूर्ण पाठ :
“नेकाको इतर पक्षको सम्मेलनमा सनातन धर्मलाई राष्ट्रको पहिचान बनाउने विचार आएको छ, त्यसलाई हाम्रो पार्टीले गम्भीर अर्थमा लिन्छ । राजावादीहरूले गणतन्त्र र धर्मनिरपेक्षतालाई समेत समाप्त गरेर देशलाई प्रतिगमनतिर लैजानको लागि अभियान चलाइरहेका छन् । नेकाले स्पष्ट रूपमा त्यो शब्दावलीमा राजतन्त्र र हिन्दु राज्यको नीतिलाई अगाडि सारेको त छैन तर उनीहरूले पारित गरेको नीतिको मूल अभिप्राय नेपाललाई हिन्दु राष्ट्र बनाउने नै हो भनेर अनुमान गर्न गाह्रो पर्दैन । त्यस प्रकारको सोचाइले संविधानमा स्वीकृत धर्मनिरपेक्षताको सोचाइमाथि प्रहार गर्दछ । हाम्रो पार्टीले धर्मनिरपेक्षताको विरोध गर्ने कुनै पनि सोचाइ वा प्रयत्नलाई गलत मान्दछ र त्यसको विरोध गर्दछ ।
नेपाली काङ्ग्रेसमा पहिलेदखि नै गणतन्त्र र धर्मनिरपेक्षताको विरोध गर्ने सोचाइ प्रबल रूपमा देखा पर्दै आएको छ । नेकाले त्यस प्रकारको सोचाइलाई अनुशरण गर्न थालेको त होइन ? त्यसबारे गणतन्त्र र धर्मनिरपेक्षता पक्षधर सबै राजनीतिक शक्ति वा जनमतको समेत हाम्रो पार्टीले गम्भीर ध्यान आकर्षित गर्न चाहन्छ । नेकाभित्र पनि गणतन्त्र र धर्मनिरपेक्षताको पक्षमा एउटा ठुलो जनमत भएको कुरा प्रष्ट छ । त्यसकारण नेकाको त्यो पक्षले पनि धर्मनिरपेक्षताबाट विचलनको प्रयत्नको विरोध गर्नेछ भन्ने पनि हामीले आशा गरेका छौँ ।”