तेहरान । इरानमा अनिवार्य हिजाबसम्बन्धी नियमको महिलाबाट खुला अवज्ञा बढ्दै गएपछि सरकारमाथि कट्टरपन्थी समूहको दबाब बढेको छ। युद्ध, आर्थिक संकट र राजनीतिक अस्थिरताका कारण सरकारले भने तत्काल कडा रूपमा नियम कार्यान्वयन गर्न सावधानी अपनाइरहेको देखिन्छ।
हिजाब नियम पालना नगरेको आरोपमा तेहरानसहित विभिन्न क्षेत्रमा क्याफे तथा रेस्टुरेन्ट बन्द गरिएका छन्। एचआरएनएका अनुसार जुलाई १९ मा मात्रै तेहरानमा कम्तीमा सात क्याफे तथा रेस्टुरेन्ट बन्द गरिएको थियो।
सन् २०२२ मा महसा अमिनीको प्रहरी हिरासतमा मृत्युपछि सुरु भएको ‘वुमन, लाइफ, फ्रिडम’ आन्दोलन दबाइए पनि त्यसको प्रभाव कायमै छ। विशेषगरी युवा महिलाले सार्वजनिक स्थानमा हिजाब नलगाउने क्रम बढिरहेको बताइएको छ।
कट्टरपन्थी धार्मिक नेताहरूले हिजाबलाई धार्मिक मात्र नभई राष्ट्रिय तथा सांस्कृतिक पहिचानसँग जोड्दै कडा कार्यान्वयनको माग गरिरहेका छन्। अर्कोतर्फ राष्ट्रपति मसुद पेजेस्कियनसहित केही अधिकारीले आर्थिक संकट र जनजीविकाका समस्याबीच हिजाबलाई प्राथमिकता दिन नहुने धारणा राखेका छन्।
सन् १९७९ को इस्लामिक क्रान्तिपछि इरानमा महिलाका लागि अनिवार्य हिजाब व्यवस्था लागू गरिएको थियो। पछिल्लो समय बढ्दो अवज्ञाका कारण नियमलाई पुरानै शैलीमा कडाइका साथ लागू गर्दा पुनः व्यापक सामाजिक असन्तोष उत्पन्न हुन सक्ने चुनौती सरकारसामु देखिएको छ।
सीएनएनबाट