बेलबारी (मोरङ) । मोरङ जिल्ला बेलबारी–२ का साहित्यकार राजु परिवारको मुक्तकसङ्ग्रह ‘रापका ज्वारभाटा’ सार्वजनिक भएको छ ।
बेलबारी साहित्य विकास समितिको आयोजनामा २०८३ भदौ १३ गते रमिते सामुदायिक वन उपभोक्ता समितिको सभाकक्षमा सो कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा मनतव्य राख्दै वरिष्ठ साहित्यकार हर्कमान तामाङले भन्नुभयो– ‘आदिम कालबाट मानव समुदायले सिर्जना र श्रम निरन्तर गर्दै आइरहेको हुनाले यति सुन्दर कार्य भइरहेका छन्, यो कृतिले राजु परियारलाई राम्रो मुक्तककारको मान्यता प्रदान गरेको छ ।’
बेलबारी नगरपालिकाका नगरप्रमुख दिलप्रसाद राईले कृतिकार राजुजीले आफ्नो कृतिमा देशको इतिहासदेखि वर्तमानसम्मका विविध विषयलाई समेटेर अलिकति पीडा, अलिकति आक्रोश, अलिकति ऊर्जाका रूपमा प्रस्तुत गर्नुभएको र अब युवामा विकराल बन्दै गएको लागुऔषध प्रयोग तथा ग्लोबल वार्मिङका बारेमा पनि साहित्यकारले बढी कलम चलाउनुपर्ने बताउनुभयो ।
विशिष्ट अतिथि ईरानराईले राजु परियार बहुपदीय मात्र होइन, बहुमुखी प्रतिभाका सर्जक भएको र उहाँको यो सङ्ग्रहमा राजनीति र सत्ताबारे एक सय दुई, सामाजिक विभेदबारे २०, मायाप्रेमबारे ६६ र विविध विषयबारे दुई सय ४४ गरी चार सय ३२ मुक्तक सङ्गृहीत भएको जानकारी गराउनुभयो ।
मुक्तकसङ्ग्रहबारे समीक्षात्मक टिप्पणी गर्दै विनोद विवश घिमिरेले कृतिमा केही कमीकमजोरीका बाबजुद धेरै राम्रा पक्ष र धेरै चोटिला मुक्तक रहेको बताउनुभयो ।
प्रगतिशील लेखक सङ्घ कोशीका अध्यक्ष बिन्दु दाहाल ‘मूकदर्शक’ले भावना, विषयवस्तु र सशक्त प्रस्तुतिका कारण राजुजीको यो कृति पहिलोजस्तो नलालेको बरु अनुभवी प्रगतिशील मुक्तककारका खारिएका मुक्तकजस्तो रहेको बताउनुभयो ।
कृतिकार परियारले समाज विकृत बन्दै गइरहेको हुनाले समाज सुधारका लागि ती अनुभूतिलाई समेटेर मुक्तक बनाएको हुँ भन्नुभयो ।
कार्यक्रममा भरत बर्बरिक, सरन परियार, शिव पराजुली ‘सहयात्री’, रूपनारायण श्रेष्ठ र छात्रा सीता थापाले कृतिभित्रका र आफ्ना रचना वाचन गर्नुभएको थियो ।
कार्यक्रममा साहित्यकारहरू मधु गुरुङ, पुरन याखा, बादल चाम्लिङ, धनजित पराजुली, केपी घिमिरे, गोपाल सङ्ग्रौला (झापा), हीरा खड्का अधिकारी, शारदा दाहाल भण्डारी, विष्ण्ॉ भण्डारी आचार्य, विकास बुढाथोकी, टेकराज मगर, चक्र लोहोरुङ, प्रकाश भट्टराई, सुन्दर भट्ट, काहिला बा, गीता श्रेष्ठ, बेलबारी–२ का वडाध्यक्ष कृष्णबहादुर गुरुङ, सुकुना बहुमुखी क्याम्पस, सुन्दरहरैँचाका सहायक क्याम्पसप्रमुख गणेशप्रसाद दहाल, सामाजिक अभियन्ताहरू घनश्याम गौतम, शङ्कर गुरुङ, लक्ष्मणजङ्ग थापा, दुर्गा गौतम, मञ्जु रिजाल, दीपक लिम्बू, कविन्द्रराज धिमाल, सुनिता तिवारीको आतिथ्य रहेको थियो ।
बेलबारी साहित्यका अध्यक्ष रमेश निरौलाको अध्यक्षता, साहित्यकार जेबी थुलुङको सञ्चालन तथा उपाध्यक्ष लक्ष्मी रेग्मी सुवेदीको स्वागत मन्तव्यसँगै उक्त कार्यक्रम सम्पन्न भएको थियो ।
