विशाल दर्लामी ##
ऊ सत्ताको शिखरमा छ
उसको अगाडि
झुक्नेहरूको कमी छैन
उसको एउटा इसारामा
ढोका खुल्छन
उसको एउटा शब्दमा
निर्णयहरू फेरिन्छन्
ऊ ठुलो दलको प्रमुख हो
उसको पछाडि
हजारौँ कार्यकर्ता छन्
लाखौँ मत छन्
ठुलो सङ्गठन छ
एआईसिर्जित नारा छन्
तर अचम्म छ
यति धेरै मान्छेका बिचमा पनि
ऊ एक्लै छ
सायद
उसलाई एक्लो बनाउने
विपक्षी होइनन
समय होइन
परिस्थिति पनि होइन
उसकै निर्णय हुन
उसकै अहङ्कार हुन्
उसकै वरिपरि बनाइएको
सानो घेरा हो
उसले
सल्लाह सुन्न छोड्यो
प्रश्न गर्नेलाई पर धकेल्यो
सत्य बोल्नेलाई शत्रु ठान्यो
र प्रशंसा गर्नेहरूलाई
आफ्नो वरिपरि जम्मा गर्यो
आज
उसको वरिपरि ताली धेरै छन्
तर विश्वास कम छ
जयजयकार धेरै छ
तर मनबाट साथ दिनेहरू
बिस्तारै टाढिँदैछन्
ऊ अझै शक्तिशाली छ
तर शक्तिको अर्थ
साथीहरूको सङ्ख्या होइन रहेछ
सङ्कटका बेला
कसले हात समाउँछ भन्ने रहेछ
ऊ अझै सत्तामा छ
दलको नेतृत्वमा छ
तर आफ्नै बोलीको भारले
आफ्नै पाइला भारी बनाउँदैछ
हिजो उसको छेउमा उभिन
प्रतिस्पर्धा गर्नेहरू
आज उसको छायाबाट समेत
टाढा हुन खोज्दैछन्
किनकि सत्ता टिकाउन सकिन्छ
पद जोगाउन सकिन्छ
बहुमत जुटाउन सकिन्छ
तर विश्वास आदेशले किन्न सकिँदैन
ऊ सत्ताको प्रमुख हो
ऊ ठुलो दलको प्रमुख हो
तर इतिहासले एउटा प्रश्न
उसको अगाडि राखिसकेको छ–
तिमीलाई एक्लो कसले बनायो ?