काठमाडौँ । प्रगतिशील पत्रकार सङ्घले महिला नेतृ सकुन्तला रानाप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ ।
अध्यक्ष श्यामलाल पोखरेलको हस्ताक्षरमा २०८३ साउन ३० गते शनिबार शोकवक्तव्य सार्वजनिक गर्दै प्रगतिशीले श्रद्धाञ्जली तथा शोकाकुल परिवारप्रति समवेदना व्यक्त गरेको हो ।
वक्तव्यमा भनिएको छ– “अखिल नेपाल महिला सङ्घकी महासचिव सकुन्तला रानाको क्यान्सर रोगको उपचारको क्रममा २०८३ साउन २९ गते भारतको नयाँदिल्लीमा असामयिक निधन भएको छ । हाम्रो सङ्गठन उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवार तथा आफन्तजनप्रति समवेदना व्यक्त गर्दछ ।
महिला नेतृ रानाको निधनबाट नेपालको महिला मुक्ति आन्दोलनसँगै कम्युनिस्ट आन्दोलनलाई पनि क्षति पुगेको छ । प्राप्त जानकारीअनुसार उहाँ महिला सङ्घको पेसेवर कार्यकर्तासमेत हुनुहुन्थ्यो । यसरी सम्पूर्ण जीवन शोषितउत्पीडित तथा विपन्न जनताको पक्षमा समर्पण गर्नुभएका रानाको निधन सम्पूर्ण मानव मुक्ति आन्दोलनका लागि नै अपूरणीय क्षति हो ।
अन्तमा रानाले अपनाउनुभएको विचार वा उहाँले लिनुभएको आजीवन तथा पेसेवर यात्राको पक्षमा बढीभन्दा बढी शोषितउत्पीडित र विपन्न महिलासहित सम्पूर्ण तप्कालाई गोलबन्द गरेर नै उहाँलाई सच्चा श्रद्धाञ्जली दिन सकिन्छ भन्नेमा हाम्रो सङ्गठन विश्वास गर्दछ ।”