तेजेन्द्र क्षेत्री ##
नेपाली प्रगतिशील सङ्गीतको इतिहासमा जनगायक जीवन शर्मा केवल गीत गाउने कलाकार मात्र होइनन्, उनी सङ्घर्ष, पीडा, विद्रोह र जनताको सपनालाई स्वर दिने सांस्कृतिक अभियन्ता हुन् । उनका गीतहरू समयको राजनीतिक आन्दोलनसँग गाँसिएका भए पनि तिनको मूल केन्द्र सदैव श्रमजीवी जनता, सर्वहारा वर्ग र उपेक्षित समुदाय नै रहँदै आएका छन् ।
उनको चर्चित गीत “सिमली छायाँमा बसी” नेपाली जनजीवनको गहिरो यथार्थ बोल्ने गीत हो । भरियाको थकान, गरिबी र श्रमको पीडा प्रत्येक नेपालीले आफ्नो अनुभवजस्तै महसुस गर्न सक्छ । त्यसैले यो गीत आम जनताको गीत बन्यो तर गीतभित्रको अर्को पङ्क्ति “मै बुढो नि जान्छु अब सामन्तलाई मास्न” सबैले समान रूपमा स्वीकार गर्न सकेनन् । यहाँ जीवन शर्माले केवल दु:खको चित्रण मात्र गर्दैनन्, अन्यायपूर्ण सामाजिक संरचना विरुद्ध प्रतिरोधको चेतना पनि व्यक्त गर्छन् । यही बिन्दुबाट उनका गीतहरू सामान्य लोकानुभूतिबाट राजनीतिक चेतनातर्फ उक्लिन्छन् ।
जीवन शर्माको अर्को महत्त्वपूर्ण पक्ष भनेको श्रमिक र सर्वहारा वर्गलाई प्रत्यक्ष सम्बोधन गर्ने क्षमता हो । जब उनी “तिम्रो मुहारको हाँसो मेरो मनको सपना” भन्छन्, त्यो केवल प्रेमको भाव होइन, श्रमजीवी जनताको मुक्ति र सम्मानको आकाङ्क्षा हो ।
नेपालमा जनयुद्ध चलिरहेको समयमा उनका क्रान्तिकारी गीत व्यापक रूपमा गाइए । “क्रान्तिको उर्लेको भेल रोकिँदैन बन्दुकले छेकेर” जस्ता गीत आन्दोलनका नाराझैँ बने तर त्यही समय जीवन शर्माले “लिस्ने लेकमा लालीगुराँस कस्तो फुल्ने होला” भन्ने संवेदनशील गीत गाए । यस गीतमा युद्धभन्दा बढी गाउँघर, प्रकृति, विस्थापन र साधारण मानिसको जीवनको सम्झना थियो । यसले देखाउँछ, युद्धको समयमा मानवीय संवेदना पनि कहिलेकाहीँ राजनीतिक शङ्काको घेराभित्र पर्न सक्छ ।
आज नेपालको तराईदेखि हिमालसम्म धार्मिक, जातीय र क्षेत्रीय तनावका स्वर सुनिन्छन् । यस्तो अवस्थामा जीवन शर्माको गीत “मधेसी, पहाडी, हिमालका हिमाली, सयौँ जाति जनजाति हामी सबै नेपाली” विशेष अर्थपूर्ण बन्छ । यस गीतले विविधताभित्रको राष्ट्रिय एकता र सद्भावको सन्देश दिन्छ । उनका गीतहरू केवल वर्गसङ्घर्षमा सीमित छैनन्, राष्ट्रिय सहअस्तित्व र सामाजिक सद्भावका पक्षमा पनि उभिएका छन् ।
जीवन शर्मा लामो समयसम्म एउटा राजनीतिक धारसँग निकट रहे । त्यसैले उनले जनताका लागि गाएका गीतलाई पनि कतिपयले “पार्टीका गीत” भनेर सीमित गर्ने प्रयास गरे तर समयले एउटा रोचक विरोधाभास जन्मायो । आज उनी कुनै पार्टीसँग औपचारिक रूपमा आबद्ध छैनन्, जनताकै आवाजका रूपमा गीत गाउँछन् तर उनका गीतको भाव र आत्मालाई स्वीकार गर्न धेरै दल र नेताहरू अझै पनि सहज छैनन् । यसले प्रमाणित गर्छ कि समस्या कलाकारको पार्टीगत सम्बन्धभन्दा बढी गीतले उठाएका प्रश्नसँग सम्बन्धित छ ।
यसर्थ भन्न सकिन्छ— जीवन शर्मा पार्टीका हुँदा पनि गीत जनताका थिए र आज औपचारिक रूपमा पार्टीको नहुँदा पनि उनका गीतलाई कतिपयले कुनै विशेष पार्टीको चस्माबाट हेर्ने गर्छन् । यही कारण उनी स्वयम्लाई पूर्णत: “स्वतन्त्र” घोषणा गरेर मुक्त हुन सक्दैनन्, न त कुनै पार्टी वा सत्ताले उनका गीतभित्र रहेको यथार्थलाई सहज रूपमा आत्मसात् गर्न सकेको छ ।
जीवन शर्माको साङ्गीतिक यात्राले एउटा गहिरो सत्य उजागर गर्छ । सच्चा जनगीत कुनै पार्टीको सीमामा बाँधिँदैन, त्यो श्रमिकको पसिनामा, किसानको खेतमा, भरियाको भारीमा, विस्थापितको आँसुमा र समानताका लागि सङ्घर्षरत मानिसको आशामा बाँच्छ । जीवन शर्माका गीतको वास्तविक शक्ति यही हो कि ती समयसँग विवादित हुन सक्छन् तर जनताको स्मृतिबाट कहिल्यै मेटिँदैनन् ।
यसै ऐतिहासिक र वैचारिक पृष्ठभूमिमा अगस्त ३, २०२६ मा ओसाकामा सम्पन्न “जनगायक जीवन शर्मा एकल साँझ” केवल साङ्गीतिक कार्यक्रम मात्र थिएन, त्यो एउटा सांस्कृतिक घोषणा थियो । यसको मूल तात्पर्य नेपाली समाजलाई यो सन्देश दिनु थियो कि राजनीतिक परिवेश क्रमश: खुला र स्वतन्त्र बन्दै जाँदा जीवन शर्माजस्ता प्रगतिशील कलाकारलाई सुन्न कुनै बार, क्लब वा दोहोरीको सीमित मनोरञ्जनात्मक वातावरणमा पुग्नुपर्ने अवस्था छैन, उनी सार्वजनिक सांस्कृतिक मञ्चमै जनतामाझ उपलब्ध छन् ।
कलाकारको वैचारिक गरिमा, सांस्कृतिक मर्यादा र जनतासँगको प्रत्यक्ष सम्बन्धलाई जोगाइराख्ने जिम्मेवारी अन्तत: कलाकार स्वयम्ले पनि वहन गर्नुपर्छ भन्ने चेतना यस कार्यक्रमले उजागर गरेको छ, साथै प्रगतिशील सांस्कृतिक आन्दोलन कहाँसम्म जनपक्षीय रहन्छ र कुन बिन्दुबाट विकृत, बजारमुखी वा उद्देश्यविहीन बन्न थाल्छ भन्ने सीमारेखा आन्दोलनमा सहभागी कार्यकर्ता, कलाकार र समर्थकले आफ्नै आत्मालोचनाबाट कोर्न सकुन् भन्ने अपेक्षा पनि यस कार्यक्रमको गहिरो अभिप्राय थियो ।
(लेखक जापान नेपाली एकता समाजको उपाध्यक्ष हुनुहुन्छ ।)





