काठमाडौँ । ऋषिमुनिको तपोभूमि नेपालमा वैदिक विश्वविद्यालय स्थापनाको सङ्कल्प सान्दर्भिक भएकाले कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिइएको छ ।
आइतबार नवलपरासीमा आयोजित कार्यक्रममा वक्ताले वैदिक मन्त्रद्रष्टा ऋषिमुनिको तपस्थली नेपालमा वैदिक विश्वविद्यालय स्थापना गर्नु आवश्यक रहेकामा जोड दिएका हुन् ।
कार्यक्रममा श्री गजेन्द्रमोक्ष वैदिक विश्वविद्यालय स्थापनाका लागि नवलपरासीस्थित गजेन्द्रमोक्षधाममा आगामी मङ्सिर १ गतेदेखि २९ गतेसम्म गजेन्द्रमोक्ष नारायण वैभव विराट महायज्ञ-२०८३ आयोजना गर्न लागिएको दिइएको थियो ।
महायज्ञ सम्पादन मूल समिति, आयोजना गरेको कार्यक्रममा सांसद सुशील खड्काले राष्ट्रको जग संस्कृति र त्यसको मूल सनातन परम्परा भएकाले यसको पुनर्जागरणका लागि वैदिक विश्वविद्यालयको आवश्यकता रहेकामा जोड दिए ।
वैदिक विश्वविद्यालयका सङ्कल्पकर्ता स्वामी कमलनयनाचार्य (मुक्तिनाथ बाबा) ले वैदिक ज्ञानका सवालमा नेपाल विश्वकै गुरुदेश बन्न सक्ने प्रशस्त आधार रहेकाले नेपालमा वैदिक विश्वविद्यालय आवश्यक भएकैले स्थापनाको सङ्कल्प गरिएको जानकारी दिए ।
विश्वविद्यालय स्थापनाका लागि नवलपरासीको गैँडाकोटमा आनन्दराज भण्डारीले रु एक करोडबराबरको जग्गा दान गर्नुभएको भन्दै स्वामी कमलनयानाचार्यले सम्मान गरेका थिए । महायज्ञ सम्पन्न गर्न १००८ सदस्यीय समिति गठन गरिएको जानकारी दिँदै उनले ५१ जनाको सचिवालयले निरन्तर काम गरिरहेको बताए ।
पूर्वमुख्यसचिव वैकुण्ठ अर्यालले वेदको शिक्षा दिन वैदिक विश्वविद्यालय आवश्यक रहेको बताए । वैदिक विश्वविद्यालयले सबैलाई सकारात्मक सोचतिर अभिप्रेरित गर्ने पनि उनको भनाइ थियो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका पूर्वसचिव गणेशप्रसाद पाण्डेयले अध्यात्मको प्रवद्र्धनमा वैदिक विश्वविद्यालय उपयुक्त माध्यम हुने विचार राखे । ऋषिमुनिको तपोभूमिको महत्वलाई स्थापित गर्न पनि वैदिक विश्वविद्यालय आवश्यक रहेको उनको भनाइ थियो ।
कार्यक्रममा बागमती सफाइ अभियानकर्मी डा माला खरेल, चलचित्र निर्माता एवम् वाग्मती सफाइ अभियानकर्मी चक्रबहादुर चन्द, गायत्री परिवारका अध्यक्ष सावित्री काफ्ले, इन्जिनियर ईश्वरलाल जोशीलगायतले नेपालको प्राचीन, ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्त्वलाई विश्वभर फैलाउन पनि वैदिक विश्वविद्यालय अत्यावश्यक रहेकामा जोड दिएका थिए । (रासस)





