— रवि पौडेल ###
नेपालको झण्डा बोकेर
आफ्नै झण्डा जलाउनेहरू,
सरकारी भवनमाथि फहराइरहेको
झण्डा जलाउनेहरू,
सरकारी सम्पत्ति र
व्यक्तिगत सम्पत्तिलाई
खरानी बनाउनेहरू,
दनदनी जलेको आगोको मुस्लो देखाउँदै
‘तेरो देश सकियो’ भन्ने अपराधीहरू !
अब केही छिनपछि
झापा टावर र
हिल्टन होटल जल्दै छन् भन्ने
घिनलाग्दो मानसिकता भएकाहरू,
तिमीहरूसँग
नेपाली नागरिकता छ कि छैन ?
आफ्नै नागरिकमाथि गोली हानी
हत्या गर्ने हत्याराहरू,
कलिला विद्यार्थी,
भाइबहिनीहरूमाथि
गोली चलाउने अपराधीहरू,
जनताको सुरक्षा कसले
गर्ने हो ?
आफ्नै देशमा हुर्किएर
अरूको पनि सीमा मिचेका छौ भन्नेहरू,
साम्राज्यवादको विरोध गर्ने
युग सकियो भन्दै
लम्पसारवादी ढोँगीहरू,
राष्ट्रको नाममा कलङ्क बनेकाहरू,
तिमीहरू नेपाली हौ कि विदेशी ?
नदी, नाला,
कलकारखाना,
सन्धि–सम्झौताहरू गर्नेहरू
मात्रै राष्ट्रघाती होइनन्,
साम्राज्यवादको विरोध गर्ने
युग सकियो भन्ने
मानसिक रोगीहरू,
ठग र लम्पसारवादीहरू,
जी–हजुरी गर्ने र मूकदर्शक बन्नेहरू,
तिमीहरू सबै
अपराधीहरू हौ !
तिमी भन्छौ,
सहकारी ठगहरू सही छन्,
जेल ब्रेक गर्ने अपराधी सही छन्,
प्रत्येक भाषणमा कुरा बदल्नेहरू
सही छन्,
छलकपट, घुसपैठ र झूट बोल्नेहरू
पनि अपराधी हुन् ।
आफ्नै देशमा
कस्ता–कस्ता अपराधीहरू ?
दक्षिण भारत, पाण्डिचेरी





