काठमाडौँ । प्रगतिशील पत्रकार सङ्घले पत्रकारको गिरफ्तारीसँगै सिङ्गो सञ्चारजगत्लाई तर्साउने गरी नेपाल प्रहरीले उठाएको कदमको विरोध गरेको छ ।
अध्यक्ष श्यामलाल पोखरेलको हस्ताक्षरमा २०८३ कात्तिक १३ गते शुक्रबार प्रेसवक्तव्य जारी गर्दै प्रगतिशीलले सो धारणा व्यक्त गरेको हो ।
आजै प्रहरीले नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदी र मोटिभेट न्युजका प्रधानसम्पादक शोभराज बराललाई पक्राउ गरेको तथा नयाँपत्रिका पत्रकार नवराज मैनाली र दियो पोस्टका पत्रकार सुदीप विश्वकर्मालाई पक्राउ गर्न खोजको सन्दर्भमा प्रगतिशीलले प्रेसवक्तव्य जारी गरेको छ ।
समाचारसम्बन्धी चित्त नबुझे प्रेस काउन्सिलमा उजुरी गर्ने विधि स्मरण गराउँदै प्रगतिशीलले समाचारभन्दा फरक विषयमा गिरफ्तारी गर्दा पक्राउ पुर्जी दिनुपर्ने कानुनी प्रावधानप्रति प्रहरीको ध्यानाकर्षण गराएको छ ।
कानुन कार्यान्वयन गर्ने आधिकारिक निकायले नै प्रेस काउन्सिल र पक्राउ पुर्जीलाई बाइपास गरेर विधिको शासन विरोधी क्रियाकलाप गरेको वक्तव्यमा उल्लेख छ ।
पक्राउ गरिएका पत्रकारको तत्काल रिहाइ तथा सञ्चारजगतमा त्रासको वातावरण बन्द गर्न माग गरिएको उक्त प्रेसवक्तव्यको पूर्ण पाठ यस्तो छ :
“नेपाल प्रहरीले समाचार लेखेकै आधारमा विभिन्न सञ्चारमाध्यममा त्रासको वातावरण कायम गरेको तथा पत्रकारलाई गिरफ्तार गरेको घटनाप्रति प्रगतिशील पत्रकार सङ्घको गम्भीर ध्यानाकर्षण भएको छ ।
आजको मात्रै घटनालाई लिने हो भने प्रहरीले साइबर ब्युरोमा उजुरी परेको भन्दै नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदी र मोटिभेट न्युजका प्रधानसम्पादक शोभराज बराललाई गिरफ्तार गरेको छ । त्यस्तै प्रहरी नयाँपत्रिका दैनिकका पत्रकार नवराज मैनाली र दियो पोस्टका पत्रकार सुदीप विश्वकर्मालाई गिरफ्तार गर्ने नियतले समाचारकक्षमा नै पुगेको छ । नयाँपत्रिकाका अध्यक्ष विन्दुराज लम्साललाई प्रहरीले साइबर ब्युरो आउन भनेको छ ।
भनिरहनुपर्ने विषय होइन, समाचारप्रति चित्त नबुझे त्यसबारे उजुरी गर्ने निकाय प्रेस काउन्सिलको व्यवस्था राज्यले नै गरेको हो । त्यसैले समाचारसम्बन्धी विषयमा आउने गुनासोको सन्दर्भमा प्रेस काउन्सिललाई बाइपास गर्न मिल्दैन । अर्कोतिर, गैरसमाचारीय विषयमा पत्रकारलाई गिरफ्तारी गरिन्छ भने पनि पक्राउ पुर्जी आवश्यक हुन्छ । आज गिरफ्तार गरिएका विश्वमणि सुवेदी र शोभराज बराललाई पक्राउ पुर्जी पनि दिइएको छैन ।
नेपाल प्रहरी कानुन कार्यान्वयन गर्ने आधिकारिक निकाय हो । यस्तो निकायले नै उजुरी परेको भन्दै एकातिर, प्रेस काउन्सिलको क्षेत्राधिकार अतिक्रमण गर्ने, अर्कोतर्फ विनापुर्जी पक्राउ गर्नेजस्तो गैरकानुनी कार्य गर्नु सही होइन । प्रहरीको यस्तो क्रियाकलाप विधिको शासन विरुद्ध हुन जान्छ । हाम्रो सङ्गठन समाचारसित सम्बन्धित विषयमा प्रेस काउन्सिलमै उजुरी दिने कानुनी व्यवस्थालाई लागु गर्न सरकार, प्रशासन वा प्रहरीसमेतको ध्यानाकर्षण गराउँछ ।
हामीले पक्राउ पर्नुभएका पत्रकारहरू विश्वमणि सुवेदी र शोभराज बराललाई तत्काल रिहा गर्न तथा प्रेसजगत्का विरुद्ध कायम गर्न खोजिएको त्रासपूर्ण वातावरण अन्त गरी संविधानमा लिपिबद्ध पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूत गर्न नेपाल प्रहरी र सरकारसित माग गर्दछौँ ।”
त्यस्तै प्रहरीले डिएनए खबरका प्रधानसम्पादक धीरज बस्नेतलाई पनि पक्राउ गरेको छ । उनलाई इसेवा स्क्याम आएको भनेर उपत्यका अपराधन अनुसन्धान कार्यालय टेकु बोलाइएकोमा साँझ ‘आज तपाईं यहीँ बस्नुपर्ने भयो’ भनेर राखेको जानकारी प्राप्त भएको छ ।
पत्रकार बस्नेत प्रहरीको सूचनाको आधारमा शुक्रबार दिउसो टेकु पुगेका थिए ।






